६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

प्रशोधित तेल निकासी साढे तीन सय प्रतिशत बढ्यो

मुलुकको प्रमुख व्यापारिक नाका वीरगन्जबाट प्रशोधित खानेतेलको निकासी अघिल्लो वर्षका तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा झण्डै साढे ३ सय प्रतिशत बढेको छ। वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार २०७७/०७८ यो नाकाबाट भटमास र सूर्यमुखीको गरी ३८ अर्ब रूपैयाँ बराबरको प्रशोधित तेल निर्यात भएको छ।  

तथ्यांक अनुसार बितेको आर्थिक वर्ष २०७७/०७८ मा वीरगन्ज नाकाबाट एक लाख ९७ हजार ३ सय २६ टन भटमासको तेल र १० हजार ८ सय ६७ टन सूर्यमुखी तेल निर्यात भएको छ। दुईथरी गरी दुइ लाख ८ हजार २ सय ४ टन प्रशोधित तेल निकासी भएको हो। यो अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा निर्यात भएको ६१ हजार ९ सय ७० टनको तुलनामा झण्डै साढे तीन सय प्रतिशत बढी हो। आर्थिक वर्ष २०७६/०७७ मा वीरगन्ज नाकाबाट ६१ हजार ५ सय ५० टन भटमासको प्रशोधित तेल र ४२० टन सूर्यमुखी तेल निर्यात भएको थियो। वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए अनुसार नेपालको निर्यात व्यापारमा प्रशोधित तेलको योगदान उल्लेखनीय छ।  

लामो अन्तरालपछि भारतले निर्यात अनुमति दिएपछि २०७५ असोज २२ मा नेपालबाट भारततर्फ पाम आयल निर्यात पुनः सुरु भएको थियो। केही समयपछि पाम आयल आयातमा भारतले पुनः रोक लगायो। उद्योगीले विकल्पमा भटमास र सूर्यमुखीको तेल रोजे। उद्योगीका यो वकल्पले परिणाम पनि दिएको देखिन्छ। तेस्रो मुलुकबाट अर्धतयारी तेल ल्याएर स्वदेशी उद्योगले प्रशोधन गरी भारत निर्यात गर्दै आएका छन्।  

भारत सरकारले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रबाहेकका मुलुकबाट आयात हुने तेलमा उच्च भन्सार महसुल तोकेको छ। नेपाली उद्योगले तेस्रो मुलुकबाट ल्याएको अर्धतयारी तेल प्रशोधन गरी भारत निकासी गर्छन्। नेपाली आयातकर्तालाई तेस्रो मुलुकबाट कच्चा तेल ल्याउँदा १० प्रतिशत भन्सार तिरे पुग्छ। तिनै नेपाली उद्योगले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र अन्तर्गतको सुविधामा शून्य भन्सार दरमा तेल भारत निकासी गर्न पाउँछन्। भन्सार महसुलको अन्तरले नेपालबाट भारततर्फ प्रशोधित तेल निकासी फापेको छ। वीरगन्ज औद्योगिक क्षेत्रमा रहेका १३ वटा उद्योगले भारततर्फ प्रशोधित तेल निर्यात गर्दै आएका छन्। विराटनगरबाट पनि ६ वटा उद्योगबाट तेल निकासी हुने गरेको छ। नेपालबाट १९ वटा उद्योगले तेल निकासी गरिरहेका छन्।  

तेल उद्योग र निर्यातको कथा

नेपाली उद्योगले भारतीय बजारतिर वनस्पति घिउ र तेल निकासी गर्न पाएपछि करिब अढाइ दशकअगाडि त्यस्ता उद्योग धमाधम वीरगन्ज करिडोरमा थपिए। विराटनगरतिर पनि नयाँ वनस्पति घिउ र तेल उद्योगको उदय भयो। 

प्रकाशित: २२ श्रावण २०७८ ०३:५२ शुक्रबार

प्रशोधित खानेतेल निकासी तेल उद्योग निर्यातको कथा