१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

नदीजन्य सामग्री संकलन तथा निकासीमा प्रतिबन्ध

खोटाङको साकेला गाउँपालिकाले स्थानीय खोलाबाट मनोमानी ढंगले ढुंगा, गिटी र बालुवाजस्ता नदीजन्य सामग्री संकलन तथा निकासीमा प्रतिबन्ध लगाएको छ। साप्सु खोला, तावा खोला लगायतका स्थानीय खोलाबाट मनोमानी ढंगले उत्खनन भइरहेका ढुंगा, गिटी र बालुवालाई ठेक्का प्रणालीमार्फत् संकलन तथा बिक्री गर्दै आम्दानीको श्रोतका रुपमा विकास गर्नका लागि गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका नदीजन्य खानीको संकलन तथा निकासीमा पूर्ण प्रतिबन्ध लगाएको हो।

प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले आइतबार सूचना जारी गर्दै ढुंगा, गिटी, बालुवा उत्खनन, विक्री तथा व्यवस्थापन सम्वन्धी मापदण्ड २०७७ को अधिनमा रहेर ठेक्कामार्फत् नदीजन्य खानी उत्खनन एवं निकासीको बन्दोवस्त गर्ने तयारी गरिएको जानकारी दिए। अज्ञात समूहले मनोमानी ढंगले ढुंगा, गिटी र बालुवाजस्ता नदीजन्य सामग्री संकलन तथा निकासी गरिरहेको पाइएकाले कडाइ गरिएको गाउँपालिकाले जनाएको छ।

सूचनालाई बेवास्ता गरी कोही–कसैले नदीजन्य सामग्री उत्खनन् तथा संकलन गरेको पाइएमा निकासीका लागि प्रयोग गरिएका मालबाहक सवारी साधनसहित नियन्त्रणमा लिएर कानूनी कारबाहीको प्रकृया अगाडि बढाइने चेतावनी दिइएको छ। गाउँपालिकाले कहिँकतै नदीजन्य सामग्री संकलन तथा निकासी गरिरहेको पाइएमा कारबाहीका लागि सिफारिस गर्न सम्पूर्ण वडाका कार्यालयलाई आग्रह गरेको छ।  

साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा, साकेला गाउँपालिका–रतन्छा र साकेला गाउँपालिका–५ मात्तिमलाई छोएको साप्सु खोला किनारमा नदीजन्य सामग्रीको खानी रहेको छ। यस्तै, तावा खोलाले छोएको साकेला गाउँपालिका–३ खिदिमा, साकेला गाउँपालिका–४ मात्तिम र साकेला गाउँपालिका–५ मात्तिममा नदीजन्य खानी रहेको छ।  

जताततै नदीजन्य खानी उत्खनन  

हाल खोटाङको दूधकोसी, सुनकोसी, रावा खोला, साप्सु खोलाका विभिन्न ठाउँबाट आईई नगरी गिटी बालुवा निकासी भइरहेको छ। कतिपय ठाउँमा ढुंगा, गिटी र बालुवा निकासीकै लागि जथाभावी सडक निर्माण गरिएका छन्। नदी तथा खोलाबाट ढुंगा, गिटी, बालुवा लगायतका पदार्थ चोरी निकासी भइरहेको र मनपरी ढंगले उत्खनन् गर्दा वातावरणीय असर पुगेको पाइएकाले आइईई गरेर मात्र निर्माण सामग्री निकाल्ने व्यवस्था मिलाउनका लागि जिल्ला समन्वय समितिले २०७५ साल पुस २३ गते सबै स्थानीय तहलाई पत्राचार गर्ने निर्णय गरेको थियो।

आइईई नगरी मनपरी ढंगले निर्माण सामग्री झिक्दा पर्यावरणमा असर पुगेको जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए।  

जिल्लाका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी गाउँपालिका लगायतका स्थानीय तहले मात्र नदी तथा खोलाजन्य श्रोत निकासीका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) गरेको छ।  

प्रकाशित: १७ श्रावण २०७८ १०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App