१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः एक वर्ष म्याद थपियो

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल । तस्बिरः उमेश पुन/नागरिक

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि एकवर्ष म्याद थपिएको छ । कोरोना भाइरस संक्रमणका कारण काममा अवरोध आउँदा तोकिएको समयमा विमानस्थल निर्माण गर्न नसकिएको आयोजनाले बताएको छ । गत जुलाई १० मा विमानस्थल तयार हुनुपर्ने हो । तर, एकवर्ष म्याद थपिएपछि सन् २०२२ को जुलाई १० सम्म विमानस्थल तयार हुनेछ ।  

यो आयोजनाले पहिलो पटक म्याद थप गरेको हो । आयोजनाका इन्जिनियर कृष्णप्रसाद पौडेलका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एकवर्ष म्याद थप गरेको हो । विमानस्थल चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले बनाईरहेको छ । ‘एकवर्ष म्याद थप भएको छ । तर, काम सक्न एकवर्ष लाग्दैन,’ पौडेलले भने, ‘ठुलो आकारको भौतिक पूर्वाधार बनाउनुपर्ने छैन । अब आन्तरिक सजावट र केही उपकरण जडानको काम मात्र बाँकी हो ।’

गत जुलाई १० मा विमानस्थल तयार हुनुपर्ने हो । तर, एकवर्ष म्याद थपिएपछि सन् २०२२ को जुलाई १० सम्म विमानस्थल तयार हुनेछ ।

कोरोना भाइरस संक्रमण र केही आन्तरिक अप्ठेरोले तोकिएको समयमा विमानस्थल निर्माण पुरा हुन नसकेको उनले बताए । काममा अवरोध नआएको भए यो विमानस्थल ६ महिना अघि नै निर्माण सक्ने लक्ष्य थियो । पौडेलका अनुसार विमानस्थलको आवश्यक भौतिक पुर्वाधार करिब सकिएका छन् । एटिसी टावरमा सञ्चार उपकरण जडान हुन बाँकी छन । त्यस्तै एक्सरे मेसिन सहित ब्यागेजका उपकरण पनि ल्याउनै बाँकी छ । ती सबै सामाग्री बेलैमा ल्याउन पाएको भए विमानस्थल तोकिएको समयमै सकिने अवस्था रहेपनि कोरोनाले अवरोध गरेको उनले बताए । विमानस्थलका लागि चाहिने उपकरणहरु अमेरिका, अष्ट्रेलिया, चीन लगायतका मुलुकबाट आउनुपर्छ । केही दक्ष प्राविधिक पनि विदेशी नै हुने र उनीहरु आउन ढिलाई भएकोले पनि तोकिएको समयमा काम सक्न कठिन भएको पौडेलले बताए ।

‘केही विदेशी प्राविधिक पनि आउन बाँकी छ । त्यसबाहेक उपकरण पनि ल्याउन अप्ठेरो पर्दा केही ढिलाई भएकै हो,’ उनले भने । पौडेलका अनुसार निर्माण कम्पनिलाई एकवर्ष म्याद थप गरिदिएको भएपनि काम भने ८–९ महिनामै सकिनेछ । अहिलेसम्म ८० प्रतिशत भन्दा बढी काम सकिएको छ । अबको ६ महिनाका काम पुरा हुने र बाँकी तीनमहिनामा अरु परीक्षण सकिने हुँदा नौमहिना पर्याप्त हुने आयोजनाका पदाधिकारीको भनाई छ । थोरै समय थप्दा केही गरि काम नसकिए पुनः म्याद थप्नुपर्ने अवस्था आउने भन्दै अहिले नै एकवर्षका लागि थप गरिएको उनीहरुको भनाई छ ।  

अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले २०७३ बैशाख १ गते यो आयोजनाको शिलान्यास गरेका थिए । शिलान्यासको डेढ वर्षपछि बल्ल विमानस्थलको पुर्वाधार बनाउन थालिएको थियो । विमानस्थल बनाउन चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो । विमानस्थलबाट २०२२ भित्रै व्यवसायिक उडानमा संचालनमा ल्याउने लक्ष्य पनि र आयोजनाको छ ।  

विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लागत अनुमान छ । यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति छ । विमानस्थलको अहिलेसम्म २५ सय मिटर लम्बाई, ४५ मिटर चौडाई र ३४ सेन्टिमिटर बाक्लो धावनमार्ग तयार भएको छ । त्यस्तै प्रतिघण्टा ६ सय यात्रु आउजाउ गर्न सक्ने क्षमताको टर्मिनल भवन बनिसकेको छ । जहाजको पार्किङस्थल (एप्रोन) पनि तयार भइसकेको छ । पार्किङस्थलमा ३ ठुला र ८ आन्तरिक उडानका गरि ११ जहाज पार्किङ गर्न सकिने ठाउँ छ ।  

वान–वे एप्रोचको यो विमानस्थलमा पुर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन् । पूर्वतिरै फर्केर टेकअफ गर्नेगरि विमानस्थल बन्दैछ । प्राधिकरण र सिएएमसीइ बीचको सम्झौतामा इपिसि (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन) को मापदण्ड अनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ ।  

चारदशकअघि पोखरा–१४, १५ र १८ वडा को ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुगेपछि थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसले पनि नपुगेपछि विमानस्थल वरिपरि १० किलोमिटर सडक बनाउन थप ६० रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थल बनाउन थालिएको थियो ।

प्रकाशित: १७ श्रावण २०७८ ०९:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App