कोरोना भाइरसको दोस्रो लहरसँगै सुनसान बनेको देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको व्यस्तता विस्तारै बढ्न थालेको छ। महामारीका कारण लामो समय सुनसान बनेको विमानस्थलको आन्तरिक टर्मिनल केही दिनयता खचाखच देखिन थालेको हो।
करिब दुई महिना बन्द भएर असार १७ देखि सञ्चालनमा आएको आन्तरिकतर्फको नियमित उडानमा सामान्य अवस्थामा जस्तै यात्रु छन्। आन्तरिक हवाई उडान पुनः सुरु भएको एक महिनामै दैनिक एक सय १० उडान हुन थालेका छन्। दैनिक ६४ बाट सुरु भएको घरेलुतर्फको उडान संख्या अहिले एक सय १० पुगेको छ। दैनिक १० हजारभन्दा बढी यात्रुले हवाई सेवा लिइरहेका छन्।
एक महिनाअघि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानका लागि यती एअरलाइन्सलाई १५, बुद्ध एअरलाई ३१, श्री एअरलाई सात, सौर्य एअरलाई तीन, नेपाल एअरलाइन्सलाई दुई, तारा एअरलाई दुई तथा समिट र सीता एअरलाई २–२ गरी दैनिक ६४ उडानको अनुमति दिएको थियो। तर बुधबार एकै दिन बुद्धले ६०, यतीले २०, श्रीले १६, ताराले चार, सौर्यले पाँच तथा समिट र सीताले एक–एक उडान भरेका छन्। उडान संख्या एक महिनामा दोब्बर भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार गत आइतबार १० हजार नौ सय ९९, सोमबार ११ हजार तीन सय ९६ र मंगलबार नौ हजार आठ सय ६९ यात्रुले आन्तरिक उडानबाट यात्रा गरेका छन्।
कोरोना प्रभाव सुरु हुनुअघि आन्तरिकतर्फ आगमन र प्रस्थान दुवै गरी दैनिक तीन सय हाराहारी उडान हुन्थ्यो । हवाई सेवा प्रदायक कम्पनीहरूले आन्तरिक उडान पुनः सञ्चालनमा आएको एक महिना नबित्दै व्यवसाय पुरानै लयमा फर्किन थालेको बताएका छन् । पछिल्लो तथ्यांकबाट आन्तरिक वायुसेवा कम्पनीहरूले राहतको सास फेर्ने अवस्था आएको वायुसेवा सञ्चालक संघको धारणा छ।
अचेल आन्तरिक हवाई सेवामा देखिएको यात्रु चापले टिकट बुकिङको अकुपेन्सी ह्वात्तै बढ्दै गएको पुष्टि हुने संघले जनाएको छ। सुरुमा उडान अनुमति कम हुँदा विभिन्न गन्तव्यका हवाई भाडा महँगो भएको जनगुनासो आए पनि उडान संख्या बढ्दै गएको र त्यसको प्रत्यक्ष असर भाडामा देखिन थालेको संघले जनाएको छ।
एक महिनाअघिको तुुलनामा अहिले भाडा सस्तिँदै गएको संघको भनाइ छ। सुरुसुरुमा उडान संख्या नै कम भएकाले लागत धान्न वायुसेवा कम्पनीहरूले भाडा महँगो राखे पनि यात्रु संख्या बढेर जहाज भरिभराउ हुन थालेपछि भाडामा प्रतिस्पर्धा देखिन थालेको छ।
वायुसेवा कम्पनीहरूले अवलम्बन गरेको स्वास्थ्य सुरक्षा मापदण्डले संक्रमणमुक्त उडान सम्भव भएको सम्बद्ध व्यवसायीको भनाइ छ । बाढी–पहिरोको जोखिमबीच स्थलभन्दा हवाई यात्रा सुरक्षित पनि छ।
तोकिएको स्वास्थ्य मापदण्ड पालनाले यात्रुमाझ हवाई सेवा बढी विश्वासिलो हुँदै गएको वायुसेवा कम्पनीहरूको भनाइ छ। विमानस्थलमा सामाजिक दुरी, सरसफाइ तथा विश्व स्वास्थ्य संगठन र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले तयार पारेको मापदण्ड अनुसार सेवा दिइरहेकाले यात्रु ढुक्क भएर जहाज चढिरहेको वायुसेवा प्रदायकको दाबी छ।
अन्तर्राष्ट्रितर्फको उडानमा समेत सुधारको संकेत देखिन थालेको छ । निषेधाज्ञापछि साताको २१ बाट सुरु भएको अन्तर्राष्ट्रिय उडान अहिले दैनिक १५ हाराहारी पुगेको छ। विमानस्थल कार्यालयका अनुसार हाल दैनिक ११ सय हाराहारी यात्रुले विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल प्रयोग गरिरहेका छन्। पछिल्लो समय भारततर्फको उडानमा यात्रुसंख्या बढ्दै गए पनि सिंगापुर, मलेसिया दुबई लगागत गन्तव्यको उडान नहुँदा विमानस्थलमा यात्रुको उल्लेख्य चहलपहल भने छैन।
विदेशी र घरेलु पर्यटकको प्रमुख गन्तव्य राजधानीको ठमेल क्षेत्र चलायमान हुने संकेत अझै देखिएको छैन । बाह्य र आन्तरिक पर्यटकको बाक्लो आउजाउ हुने ठमेलको पर्यटन तथा व्यापार, व्यवसाय कोभिड १९ ले लथालिंग अवस्थामा पुगेको छ । ठमेल आउने पर्यटकमा ८० प्रतिशत बाह्य र बाँकी घरेलु हुने भए पनि अहिले आन्तरिक पर्यटकसमेत ठमेलमा देखिँदैनन्।
आन्तरिक उडान तथा लामो दुरीका यातायात सञ्चालन भए पनि चहलपहल नबढ्दा व्यवसायी निराश छन् । कोरोनाको पहिलो लहरबाटै नराम्ररी प्रभावित ठमेलमा अचेल नेपाली व्यवसायीबाहेक विदेशी अनुहार देख्न मुस्किल छ । कोरोना संक्रमणमा आएको कमी र खोप अभियानका कारण व्यवसायले पुनः गति लिने समय भइसके पनि विदेशी पाहुनामा निर्भर ठमेल अझै तंग्रिन सकेको छैन।
भाडा तिर्न नसक्ने अवस्था आएको भन्दै ठमेलका कतिपय व्यवसायी पलायन भइसकेका छन्। सो क्षेत्रका ३० प्रतिशत पर्यटन व्यवसायी पलायन भइसकेको अनुमान छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसनका अध्यक्ष अरनिको राजभण्डारी अहिलेकै अवस्था रहिरहे केही समयभित्रै यो क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुने बताउँछन्।
कयौं व्यवसायी घरधनीले मासिक भाडा तिर्न दबाब दिएपछि सटर नै खालि गरेर हिँडेका छन्। पूर्ण रूपमा पर्यटकमै निर्भर ठमेल, पकनाजोल, कालधारा, धोबीचौर, नर्सिङचोक लगायत क्षेत्रका होटल, रेस्टुरेन्ट, पसल, ट्रेकिङ एजेन्सी र विभिन्न व्यवसायमा आवद्ध व्यवसायी काममा फर्कने वातावरण नबन्दा पर्यटन क्षेत्र २०१९ को अवस्थामा पुग्न अझै धेरै समय लाग्ने राजभण्डारीको अनुमान छ।
बाक्लो आउजाउ र राति अबेरसम्म ननिदाउने ठमेलको रात्रि जीवनमा सुधार आउन होटल र रेस्टुरेन्ट भरिभराउ हुनुपर्ने उनको धारणा छ। भारतीय पर्यटकको आगमन समेत पछिल्लो समय घटेकाले पर्यटन क्षेत्रमा निराशा थपिएको राजभण्डारीले बताए।
‘राज्यले दिएको सुविधा ठूला होटलले मात्रै पाएका छन्,’ उनले भने, ‘सरकारले ठूलो हात्ती मात्रै ढलेको देख्दा साना तथा मझौला होटल व्यवसायी मारमा परेका छौं । हामीले पस्किने खानाको स्वाद नै हराएको छ।’
सरकारले व्यवसायीलाई आयकर छुट दिए पनि हुँदै नभएको व्यवसायमा फाइदाको कर छुटले साना तथा मझौला व्यवसायीलाई कागलाई बेल पाक्यो हर्ष न विस्मात झैं भएको उनको गुनासो छ। पुनर्कर्जा र राष्ट्र बैंकको मौद्रिक नीति ठूला र पहुँच भएका व्यवसायीको आहारा भएको जनाउँदै साना र मझौलालाई राज्यको मेरुदण्डको रूपमा लिन नसक्दा यो पेसाप्रति नै राज्यको अपमान भएको राजभण्डारीले बताए।
ठमेल पर्यटन परिषद्का उपाध्यक्ष भवि शर्मा ठमेलमा अझै लकडाउन कायमै रहेको बताउँछन्। अहिले ठमेलको पसल व्यवसाय ५० प्रतिशत खुले पनि व्यापार शून्य रहेको उनले बताए। ठमेल क्षेत्रका होटलको अकुपेन्सी १० प्रतिशत मात्रै रहेको र ग्राउन्ड फ्लोरमाथिका घरका पसलहरू धेरै खालि रहेको उनले बताए। व्यवयाय नै ठप्प भएपछि मुख्य सिजनमा ५० देखि ६० करोडसम्म आम्दानी हुने उक्त क्षेत्रका व्यवसायी भाडा तिर्न नसक्ने अवस्थामा पुगेको शर्माले बताए। पशुपतिनाथ लगायत मन्दिर नखुल्दा धार्मिक पर्यटक समेत घटेको उनको भनाइ छ।
प्रकाशित: १४ श्रावण २०७८ ०३:२६ बिहीबार