१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गण्डकीमा मार्सल लगाएर बजेट पारित

गण्डकी प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गरेपछि मार्सल लगाएर बजेट पारित गरिएको छ। गण्डकी प्रदेश सभाको बुधबार बसेको तेस्रो बैठकमा पनि प्रतिपक्षी दल एमालेले अवरोध गर्ने प्रयास गरेपछि मार्सल लगाएर बजेट पारित गरिएको हो। बजेटमाथिको छलफल सुरु भएलगत्तै प्रतिपक्षी दल एमालेले बजेट परिमार्जन गर्नुपर्ने, असारमा गरिएको रकमान्तरको फेहरिस्त दिनुपर्ने लगायत १० बुँदे माग राख्दै प्रदेशसभामा लगातार अवरोध गर्दै आएको थियो।  

विशेष गरेर बजेटमा आफ्नो सरकारले ल्याएका राम्रा योजनाहरू कायम राख्नुपर्ने एमालेको माग थियो। तर सत्ता पक्षले उक्त माग सम्बोधन नगर्ने स्पष्ट पार्दै बरु पेलेर जाने संकेत गरेको थियो। सोही अनुसार बुधबार बजेट पास गर्ने कार्यसूची थियो। बुधबार बसेको पहिलो र दोस्रो बैठकमा पनि एमालेले अवरोध जारी राखेको थियो। त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले अपराह्न ४ः०० बजे पुनः प्रदेशसभाको बैठक बोलाएका थिए। यसबीचमा सत्ता पक्ष र प्रतिपक्षबीच छलफल भए पनि सहमति जुट्न सकेन।

पटक–पटकको छलफलपछि पनि सहमति नजुटेपछि बुधबारको तेस्रो बैठकमा सभामुख अधिकारीले अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई विनियोजन विधेयक प्रस्तुत गर्न समय दिए। विरोधका बाबजुद मुख्यमन्त्री पोखरेलले विनियोजन विधेयक प्रस्तुत गर्न रोस्ट्रममा जान लागेपछि एमाले सांसदहरूले आक्रोशित हुँदै मुख्यमन्त्री पोखरेललाई रोक्न खोजेका थिए। तर मार्सल लगाएका कारण उनीहरूले रोक्न सकेनन्। त्यस बेलासम्म रोस्ट्रममा पुगिसकेका मुख्यमन्त्री पोखरेलले बजेट पारितका लागि निर्णयार्थ पेस गरे।

यता विपक्षी सांसदहरू भने थप आक्रोशित हुँदै नाराबाजी गरिरहेका थिए। त्यही बेला अचानक आक्रोशित रूपमा प्रस्तुत भएका पूर्वभौतिक पूर्वाधार मन्त्रीसमेत रहेका एमाले सांसद रामशरण बस्नेतले टेबल तथा कुर्सी तोडफोड गरे। उनलाई एमालेका अन्य सांसदहरूले सहयोग गरे। टेबल तोडफोड गरेपछि भने उनीहरू संसद हलबाट बाहिरिएका थिए। बजेट पारित गर्ने बेलासम्ममा एमाले सांसदहरू बैठक हलबाट बाहिरिसकेका कारण बजेट सत्तापक्ष मात्रै भएका बेला पारित गरिएको थियो।

यसैबीच, टेबल तोडफोड गर्ने सांसद बस्नेतले आफूले टेबल तोडफोड गरेको नभई साँघुरो भएर सारेको दाबी गरेका छन्। एमाले संसदीय दल गण्डकी प्रदेशले बुधबार साँझ आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘मैले टेबल तोडफोड गरेको होइन, साँघुरो भएर सारेको मात्र हो।’ सत्तापक्षले पेल्न खोजेको भन्दै त्यसरी पेलेर नजान उनले चेतावनी दिए। ‘सत्तापक्ष र विपक्षीबीच जम्मा चार सिटको फरक हो, त्यसैले जे गर्दा पनि हुन्छ भन्ने नसोच्नुहोला, तानाशाही रूपमा सरकार अगाडि बढेको छ। तर यसको एमालेले प्रतिवाद गर्छ,’ उनले भने। सांसद बस्नेतले सभामुखले पनि समन्वयकारी भूमिका नखेलेको आरोप लगाए। ‘सभामुखले समन्वयकारी भूमिका खेल्नुपथ्र्यो तर खेल्नुभएन,’ उनले भने।

प्रकाशित: ३१ असार २०७८ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App