४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लिम्चुङबुङका किसानलाई अनुदानमा हाते ट्याक्टर

गाउँपालिकाबाट छुट अनुदानमा प्राप्त गरेको ट्याक्टर लिँदै किसानहरु। तस्विरः महेश्वर

उदयपुरको बिकट पहाडी लिम्चुङबुङ गाउँपालिकाले व्यवसायिक कृषिलाई प्रबर्द्धन गर्न किसानलाई छुट अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ। गाउँपालिकाले ५ वटै वडामा क्रियासिल व्यवसायिक कृषक तथा व्यवसायोन्मुख कृषकहरुलाई ६० प्रतिशत छुट अनुदानमा २४ वटा ट्याक्टर वितरण गरेको हो।  

गतवर्षदेखि लागू गरिएको ‘अध्यक्ष कृषि परियोजना’ कार्यक्रमअन्तर्गत व्यवसायीक कृषकहरुलाई प्रोत्साहत गर्दै ६० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराइएको हो। गाउँपालिकामा आयोजित एक कार्यक्रममा अध्यक्ष मेजरकुमार राई, उपाध्यक्ष रमिला राई र प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुले किसान र कृषक समूहलाई ट्याक्टर वितरण गरेक।

गाउँपालिकाका सूचना अधिकारी ताराकिरण राईका अनुसार वडा नं १ बाँसबोटेलाई ५ वटा ट्याक्टर दिइएको छ भने २ नं. वडा ताम्लिछाले ५ वटा पाएको छ। त्यस्तै, ३ वडा बाराहाले ७ वटा, ४ नं. बलम्ताले ३ र ५ नं. वडा जाँतेका किसानलाई ४ वटा ट्याक्टर दिइएको सूचना अधिकारी राईले बताए। लेखा अधिकृतसमेत रहेका सूचना अधिकारी राईका अनुसार गाउँपालिकाले चालु वर्षको वार्षिक नीति तथा कार्यक्रम अुनसार विनियोजित ६ लाख बजेटबाट खरिद गरेर ट्याक्टर वितरण गएिको हो।  

गाउँपालिकाले गतवर्ष पनि कृषकहरुलाई १० वटा हाते ट्याक्टर वितरण गरेको थियो। गतवर्ष वितरण गरिएका किसानले उपलब्धी हासिल गरेको पाइएपछि चालु वर्ष पनि अनुदानमा ट्याक्टर वितरण कार्यक्रम राखेको गाउँपालिकाले जनाएको छ। कृषि उद्यमबाट गाउँका किसानले घरै बसेर आफ्नो खेतबारीमा मेहेनत गर्दै आयआर्जन गरेर जीविकोपार्जन गर्न सहज बनाउन कृषि परियोजना सञ्चालनमा ल्याएको जनाएको छ।  

कृषिबाटै विकासमा सकारात्मक परिवर्तन गर्न सकिने अपेक्षा गरेर लागू गरिएको अध्यक्ष कृषि परियोजनालाई सफल बनाउन गाउँपालिकाले कृषिलाई यान्त्रिकरण गर्दै औजार उपकरण वितरण गर्ने नीति लिएको अध्यक्ष मेजरकुमार राईले बताए। जस अनुसार गतवर्षदेखि लागू भएको परियोजनाले एकवर्षमै सकारात्मक नतिजा देखाउन थालेको उनको भनाई छ। गाउँले जीवनलाई समृद्ध बनाउने सहज उपाय भनेकै कृषि भएको ठहर गर्दै गतवर्षदेखि अध्यक्ष कृषि परियोजना लागू गरिएको भन्दै उनले यसबाट गाउँपालिकाले आर्थिक उन्नति र समृद्धि हासिल गर्ने लक्ष्य लिइएको बताएका छन्।  

उनले परियोजनाको सुरुवातमै सकारात्मक लक्षण देखिइसकेको भन्दै कृषिबाटै जनतालाई समृद्ध र सम्पन्न बनाउने उदेश्यले हरेक वडामा व्यवसायिक कृषि कार्यमा प्रोत्साहन गर्न थालिएको बताए। गाउँगाउँमा कृषक समूह गठन गरेर संगठित गर्ने, आवश्यक तालिम दिने, प्रविधि र यन्त्र उपकरण उपलब्ध गराउने काम गाउँपालिकाले थालेको छ। समूहभन्दा बाहिर बस्ने व्यक्तिगत किसानलाई पनि छुट अनुदानमै ट्याक्टर उपलब्ध गराइएको छ।  

ट्याक्टर वितरण गर्ने क्रममा अध्यक्ष राईले लिमचुङबुङमा कृषिलाई यान्त्रिकरण र वैत्रानिकरण गर्न प्रविधिमैत्री कार्यक्रम अघि सारिएको बताए। व्यवसायिक किसानलाई सबल बनाउन र अन्य पेशा व्यवयास गर्नेहरुलाई कृषितर्फ आकर्षण दिन अध्यक्ष कृषि परियोजनालाई केन्द्रित गरिएको उनको भनाई छ। गोरुले जोत्ने हलो परम्परागत प्रविधिको भएको र आधुनिक समयमा खर्चालु र झन्झटिलो भएकाले सानो लगानी र छोटो अवधिको मेहनेतमा धेरै उत्पादन गर्न प्रविधिमैत्री कृषिमा गाउँपालिकाले जोड दिएको उनले बताए।  

अहिलेको युगमा आधुनिक र उन्नत कृषि व्यवसाय अपनाउन कृषिलाई यान्त्रिकरण र आधुनिकीकरण गर्नुपर्ने र त्यसका लागि प्राविधिमैत्री भएर अघि बढ्न कृषकलाइ गाउँपालिकाले अनुदानमा आौजार उपकरणको व्यवस्था गरेको गाउँपालिकाका कृषि प्राविधिक गगन राईले बताए। उनका अनुसार आधुनिक प्रविधिबाट कृषि व्यवसाय गर्दा कृषकहरुले सानो मेहनेतले पनि परम्परागत कृषिबाटभन्दा बढी आमदानी लिन सक्ने अपेक्षा गाउँपालिकाले लिएको छ। यसबाट जतालाई छिट्टै आत्मनिर्भर बनाउन सकिने र गाउँमै रोजगारी सिर्जना हुने अपेक्षा पनि गरिएको उनले बताए।  

पछिल्लो समय गाउँपालिकाका ५ वटै वडाका बस्तीबस्तीमा समूहगत र व्यक्तिगत रुपमा व्यवसायिक कृषिमा लाग्नेहरु बढ्दै गएका छन्। यसले कृषिक्रान्ति ल्याउने संभावना देखिएको भन्दै आधुनिकीकरण र यान्त्रिकरण गर्दै लान कृषकलाई औजार उपकरण छुट अनुदानमा वितरण गरिएको प्राविधिक राईले बताएका छन्।

प्रकाशित: १७ असार २०७८ १४:५९ बिहीबार

किसानलाई अनुदान हाते ट्याक्टर