१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

मन्दिरका नाममा बजेटको दुरुपयोग

टीकापुर नगरपालिका–१ स्थित मन्दिरहरु । तस्बिरः योगेश रावल

टीकापुर नगरपालिका–१ सिँचाइ कार्यालय नजिकै दर्जन बढी मन्दिर लहरै देख्न सकिन्छ। ती मन्दिर विभिन्न जातजाति र भेगका मानिसले निर्माण गरेका हुन्। कतिपय मन्दिरसँग जग्गाको स्वामित्व छ भने धेरैजसो मन्दिर जग्गा कब्जा गरेर निर्माण गरिएका छन्।  

मन्दिर निर्माणमा राज्यको ठूलो लगानी खर्च भएको छ। स्थानीय पालिकाका वडा कार्यालयदेखि प्रदेश सरकारले समेत मन्दिर निर्माणमा लगानी गरेका छन्। अझ कतिपय मन्दिरमा त पहुँच हुनेले संघीय सरकारबाट समेत बजेट मिलाएका छन्। केही मन्दिर भने सम्बन्धित सरोकारवालाले चन्दा संकलनबाट निर्माण गरेको पाइएको छ।  

राज्यको लगानीमा निर्माण भएका यी मन्दिर विभिन्न जातजाति र भेगका मान्छेहरुको पूजाको दिन बाहेक वर्षभरी बन्द रहन्छन्। ‘मन्दिरमा दैनिक पूजाआजा हुनुपर्ने हो तर यहाँ त वर्षभरी ताला लगाइएको हुन्छ’, स्थानीय ललित थापाले भने, ‘राज्यको लगानी दुरुपयोग भएको छ।’

यी मात्रै हैन नगरपालिकाभित्र रहेका अन्य मन्दिरमा समेत वडा कार्यालयदेखि प्रदेश सरकारले बजेट विनियोजन गर्ने गरेको छ। टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्षमा मन्दिरका नाममा ठूलो रकम विनियोजन गरेको छ। उसले कैलाशेश्वर शिव मन्दिरका लागि मात्रै ३० लाख रुपैयाँ छुट्याएको छ।  

नगरपालिकाले मन्दिरका नाममा धेरै रकम विनियोजन गरेको भन्दै नगरसभामा समेत चर्को आलोचना भएको थियो। नगरसभा सदस्य बिना थारुले मान्छे अक्सिजन नपाएर मरिरहेको बेला मन्दिरका नाममा ठूलो रकम विनियोजन गरिनुलाई दुरुपयोग भनेकी थिइन्।  

प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले नगरपालिकाभित्र रहेका सबै मन्दिरका नाममा करिव ३५ लाख रुपैयाँसम्म बजेट विनियोजन भएको बताए। उनले ती सबै योजना वडा तहबाटै छनौट भएर आएको बताए। ‘स्वास्थ्य क्षेत्रमा समेत ठूलो बजेट छुट्याइएको छ। त्यता कसैको ध्यान जाँदैन’, उनले भने, ‘मन्दिरको बजेटबारे धेरैले टिकाटिप्पणी गरेको सुन्छु।’

बर्सेनी मन्दिरका नाममा रकम खर्च हुने गरेको केवल टीकापुर नगरपालिकामा मात्रै हैन। सुदूरपश्चिम प्रदेशका सबै पालिकाहरुमा मन्दिरका नाममा ठूलो रकम खर्च हुने गरेको छ। आर्थिक मामिला मन्त्रालयका अनुसार प्रदेश र सबै पालिकाले मन्दिरका नाममा बर्सेनी झण्डै डेढ अर्ब रुपैयाँ खर्च गर्ने गरेका छन्।  

प्रदेश सरकारले मात्रै मन्दिरका नाममा बर्सेनी ५० करोड रुपैयाँ भन्दा बढी खर्च गर्ने गरेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा सोही बराबरको रकम मन्दिरका नाममा छुट्याएको छ। यसअघिका वर्षहरुमा समेत प्रदेश सरकारले मन्दिरका नाममा यही हाराहारीको रकम खर्च गरेको पाइएको छ।  

वडा कार्यालयदेखि प्रदेश सरकारले मन्दिरका नाममा खर्च गरेको अधिकांश रकम दुरुपयोग भएको छ। कतिपय मन्दिर नै नभएको ठाउँमा बजेट खर्च भएको पाइएको छ। स्रोतका अनुसार पहुँचवालाले आफ्नो कुल पूजामा समेत बजेट विनियोजन गरेर दुरुपयोग गरेका छन्।  

आर्थिक मामिला मन्त्रालयका उपसचिव निर्मल ढकालले बजेट दुरुपयोग रोक्न आगामी आर्थिक वर्षमा तेस्रो पक्ष अनुगमनको व्यवस्था गरिएको जानकारी दिए। उनले तेस्रो पक्ष अनुगमनमा जनप्रतिनिधि, सरकारी निकायका साथै नागरिक समाजको समेत संलग्नता रहने बताए। ‘कार्यविधि बनाएर अघि बढ्ने सोचमा छौं’, उनले भने, ‘केही हदसम्म बजेटको दुरुपयोग रोक्न सकिन्छ।’

सुरुसुरुमा मन्दिरका नाममा सोझै बजेट विनियोजन भएपछि चर्को बिरोध भएको थियो। मन्दिरका नाममा सोझै बजेट विनियोजनमा समस्या भएपछि अहिले रंगरोगन, घेरापर्खाल, मर्मत सम्भार लगायतका नाममा बजेट विनियोजन गर्ने गरिएको छ।

प्रकाशित: १३ असार २०७८ ०८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App