२६ पुस २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नगरमा ‘अवण्डा’ रकम राख्न खोजिएको भन्दै वडाध्यक्ष उत्रिए विरोधमा

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आर्थिक वर्ष २०७८/०८९ का लागि शिर्षक नतोकी एकमुष्ट रकम पारित गर्न प्रस्ताव राखिएको भन्दै असन्तुष्ट वडाध्यक्ष र कार्यपालिका सदस्य विरोधमा उत्रिएका छन् । नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणको क्रममा मंगलबार बसेको नगरपालिकाको बैठकमा नगरप्रमुख दिपनारायण रिजालले योजनाको नाम, प्रस्तावित वजेट र सञ्चालन हुने स्थान नतोकी एकमुष्ट ४ करोड ३१ लाख बजेट पारित गर्न प्रस्ताव गरेपछि नगरपालिकाका नौ वडाध्यक्ष र दुई कार्यपालिका सदस्य विरोधमा उत्रिएका हुन् । 

बैठकका अध्यक्ष एवं नगरप्रमुखबाट प्रस्ताव गरिएको प्रस्ताव नम्बर २ मा आर्थिक वर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रम सम्वन्धमा ४ करोड ३१ लाख योजनाको नाम, प्रस्तावित वजेट र सञ्चालन हुने स्थान तोक्नका लागि पटक–पटक आग्रह तथा छलफल गर्दा असहमती भएपछि विरोधमा उत्रनु परेको संयुक्त विज्ञाप्तिमा  उल्लेख छ । 

मंगलबार जारी संयुक्त विज्ञाप्तिमा ठूलो रकम अवण्डा राखेर पारित गर्नका लागि राखिएको प्रस्तावमा असहमति जनाइएको जानकारी दिइएको छ । आगामी आर्थिक वर्षको ३ करोडभन्दा बढी बजेटलाई अवण्डा नराखी ब्रेकडाउन गरेर राख्नका लागि आग्रह गर्दा बेवास्ता गरिएकाले बिरोध गर्नु परेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष विकास राईले बताए । ‘वजेटलाई अवण्डामा नराखौं, ब्रेकडाउन गरौं । कुन कुन विषयगत समितिमा कति रकम जान्छ, कति बाँकी रहन्छ, त्यो स्पष्ट गरौं भन्ने हाम्रो प्रस्ताव रह्यो,’ वडाध्यक्ष राईले भने, ‘राजनैतिक व्यक्तिले आश्वसन दिइन्छ । बजेट दिनु पर्छ, त्यो स्वभाविक हो तर त्यसका लागि कति रकम राख्ने हो भन्ने जानकारी हामीले पाउनु पर्छ । गत वर्षपनि त्यस्तै गरियो । यो वर्ष त्यसो नगरौं भन्ने हाम्रो धारणा हो ।’  

कार्यपालिकाबाट निर्णय गरेर खर्च गर्नुपर्ने व्यवस्था भए पनि मेयरले आफुखुसी बाँड्ने मनसायले रकम अबण्डा राख्न खोजेको असन्तुष्ट जनप्रतिनिधिको भनाई छ । नगरको अबण्डा रकम राख्ने प्रस्ताव अस्वीकार गर्नेमा कांग्रेस, माओबादी केन्द्र, जसपा र राप्रपाबाट निर्वाचित वडाध्यक्ष एबं कार्यपालिका सदस्य छन् । एमालेबाट निर्वाचित मेयर र उपमेयरलाई सोही पार्टीबाट निर्वाचित वडाध्यक्षको साथ छ । एकमुष्ट रकमलाई ब्रेकडाउन गरेर राख्नका लागि आग्रह गर्दा विमती भएपछि आफुहरु बैठक नै बहिस्कार गरेर बाहिरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ लफ्याङका वडाध्यक्ष निर्मल राईले बताए । ‘एकमुष्ट अवण्डा रकम राखेको देखियो ।

 यसलाई ब्रेकडाउन गरेर जाऔं भन्दा नगरप्रमुखले अस्वीकार गर्नुभयो,’ लफ्याङका वडाध्यक्ष राईले भने, ‘लामो छलफल भयो तर सहमती नभएपछि बैठक बहिस्कार गरेका हौँ ।’ बजेट एकमुष्ट राख्ने विषयमा लफ्याङका वडाध्यक्ष राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका वडाध्यक्ष लिला चौहानबीच कुर्सी नै तोडफोडको अवस्था सिर्जना भएको थियो । रकमलाई अवण्डा राख्नुको सट्टा शिर्षक तोकेर बजेट यकिन गर्नमा आफुहरु अडिग रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्यले बताए । वडाध्यक्ष आचार्यले सिँचाई शिर्षकमा पनि एकमुष्ट दुई करोड बिनियोजन गर्न प्रस्ताव गरिएको पाइएको उल्लेख गरे । गत वर्ष भने एमाले र माओबादी केन्द्र मिलेर नेकपा रहेको अवस्थामा अवण्डा बजेट राख्ने प्रस्ताव पारित भएको जनाइएको छ । गत वर्ष कांग्रेस, जसपा र राप्रपाका वडाध्यक्षले दर्ज गरेको असहमतीलाई बेवास्ता गरिएको उनीहरु बताउँछन् । बजेटका विषयमा चुलिएको विवादका विषयमा असन्तुष्ट पक्षलाई मेयर रिजालले पुःन छलफलका लागि बोलाएको श्रोतले जनाएको छ ।  

संयुक्त विज्ञाप्तीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका वडाध्यक्ष ललित राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ लफ्याङका वडाध्यक्ष राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वडाध्यक्ष माधव राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका वडाध्यक्ष महन्तकुमार राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडाध्यक्ष मुगाधन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष रामचन्द्र राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका वडाध्यक्ष भिम राई, कार्यपालिका सदस्य गंगाबहादुर बिश्वकर्मा र कृष्णमायाँ परियारले हस्ताक्षर गरेका छन् ।

प्रकाशित: ९ असार २०७८ ११:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App