शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेवाः पत्रकार राष्ट्रिय दबूको कोरोना द्रुत प्रतिकार्य कोषमा एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्। मन्त्री श्रेष्ठले पुल्चोक, हरिहरभवनस्थित मन्त्री निवासमा कोषका संयोजक सुरेन्द्रभक्त श्रेष्ठलाई रकम हस्तान्तरण गरे।
कोरोना महामारीको समयमा पत्रकारहरुलाई सहयोग गर्न पत्रकार राष्ट्रिय दबूले कोरोना द्रुत प्रतिकार्य समूह गठन गरेको थियो। समूह मार्फत अहिले रकम जुटाउने कार्य भइरहेको छ। सो अवसरमा मन्त्री श्रेष्ठले पीडित पत्रकारको सहयोगमा टेवा पुगोस भनेर आफूले व्यक्तिगत रुपमा यथोचित सहयोग गरेको बताए।
सो अवसरमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले पत्रकार राष्ट्रिय दबूले नेपाली सञ्चार क्षेत्रलाई समावेशी बनाउने अभियानमा अघि सारेका योजना र कार्यक्रमबारे जानकारी दिए। पत्रकार राष्ट्रिय दबूका कोषाध्यक्ष एवं समूहका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले कोरोना संक्रमणको जोखिम कारण लागू निषेधाज्ञाले थुप्रै सञ्चारकर्मीहरु बेरोजगार बनेको, साना तथा स्वरोजगार मिडिया संकटमा परेको, पत्रकार र तिनका परिवार संक्रमित भएको लगायत अनेक समस्यामा फसेको बताए। अहिलेसम्म कोषमा करिब ३ लाख रुपैयाँ जम्मा भइसकेको पनि संयोजक श्रेष्ठले जनाए।
प्रकाशित: ३ असार २०७८ १०:४६ बिहीबार