६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

बाढीले जलविद्युतमा क्षतिः अपरमादीको उत्पादन बन्द, सुपरमादीमा झन्डै एकअर्बको क्षति

मादीमा आएको बाढीले सुपरमादी हाईड्रोपावरका बगाएको सामान । तस्बिर पुष्पज्योति ढुंगानाको फेसबुकवालबाट

मादी नदीमा आएको बाढीले विद्युतगृहमा क्षति पुर्याउँदा २५ मेगावाट क्षमताको अपरमादीको विद्युत उत्पादन बन्द भएको छ । लगातार परेको झरीले नदीमा पानीको वहाव बढेपछि विद्युतगृहमा क्षति भएको हो । विद्युतगृहको ड्याम पूर्ण रुपमा भत्किएको अपरमादी हाईड्रोपावर मादी पावर प्रालिका बजार व्यवस्थापक गंगा सापकोटाले सुनाए ।  ‘अपरमादीको ड्याम पूर्ण क्षति भएको छ । पानी जाने आउटलेट पुरिएको छ,’ उनले भने, ‘पावरहाउस भित्रै पानी छिरेपछि विद्युत उत्पादन दुईदेखि बन्द भएको छ ।’  

पावरहाउसमा २७ नेपाली र १२ चिनियाँ प्राविधिक छन् । उनका अनुसार पावरहाउससम्म पुग्ने बाटो बाढीले कटान गरेको छ । ‘चारकिलोमिटर बाटो विभिन्न ठाँउमा नदीको कटानले भासिएको छ,’ उनले भने, ‘बाटो भासिएकै कारण मजदुर पावरहाउसम्म पुग्न सक्ने अवस्था छैन् ।’ चारवर्षदेखि विद्युत उत्पादन गर्दै आएको अपरमादीको बाढीकै कारण उत्पादन बन्द हुन पुगेको हो । बाढीकै कारण पावरहाउसदेखि ड्यामसम्मको विद्युत पोल समेत बगेका छन् उनका अनुसार १२ वटा भन्दा बढी पोल बगाएको छ ।

मादीमा आएको बाढीकै कारण आगामी चैतमा विद्युत उत्पादन गर्ने लक्ष्यमा रहेको सुपरमादी हाइड्रोपावरका आवश्यक सामान बगाएको छ । कंक्रिटले बनेको हेडबक्स बाहेक अधिकांश बाढीले बगाएको सुपरमादी हाईड्रोपावर लिमिटेडका निर्देशक धनराज आचार्यले बताए । ‘पावर हाउस भत्किएको छ । टनेल बाहेकका संरचनामा क्षति पुगेको छ,’ उनले भने, ‘आवश्यक उपकरण पनि बाढीले बगाएको छ ।’ बाढीले लोडर,डोजर, चारवटा क्रसर प्लान्ट, आरएमसी प्लान्ट, पेनस्टक पाईप सबै बगाएको उनले बताए । उनका अनुसार झण्डै एक अर्ब रुपैयाँ बराबरीको क्षति पुगेको छ । ठ्याक्कै क्षतिको विवरण आउन अझै एकहप्ता लाग्छ ।  

स्थानीयको अनुसार ६० वर्षयताकै ठूलो बाढी हो । ‘दुईचारवर्ष अघि आएको बाढीले खासै समस्या बनाएको थिएन् । तर अहिले आएको बाढीले ठुलो क्षति पुर्यायो,’ उनको भनाई थियो । चैतमा बत्ती बाल्ने योजनासहित काम अन्तिम चरणमा पुग्दै थियो । सबै सामान थिए । ‘इलेक्ट्रोमेकानिकल काम बाँकी थियो,’ उनले भने, ‘टवाईन बाहेक अरु सामान बाढीले बगायो ।’ ६ मिटरका लामो पेनस्टक पाईप बढीले बगाएको छ । ४४ मेगावाट क्षमताको विद्युत आयोजनाको क्षतिले विद्युत उत्पादनलाई एकवर्ष पछि धकेलिने सम्भावना छ । 

प्रकाशित: २ असार २०७८ ०९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App