६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

रोल्पालीका लागि बजेट 'कागलाई बेल'

रोल्पा सदरमुकाम लिवाङ ।

शनिबार अर्थमन्त्रीले संसदमा पेस गरेको बजेट रोल्पालीका लागि ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भएको छ। यसपाली पनि बिगतमा जस्तै रोल्पालीले अनुभूति गर्न पाउने खालको बजेट नआएको गुनासो सुनिन थालेको हो। 

बिगत १० वर्ष शसस्त्र द्वन्द्वताका रोल्पामा खासै बजेट आएन र आएको पनि काम हुन नसकेर फिर्ता भएको थियो। शान्ति प्रकृयापछि कहिले कसो रोल्पाली मन्त्री वा नेताको निगाहमा आर्थिक वर्षको अन्त्यमा केही थप बजेट रोल्पा भित्रिने गरेको भए पनि गतिलो गौरबको योजना र आयोजनाहरुको नाम नै सुनिँदैन।  

‘यसपटक रोल्पाका लागि अलग केही छैन। हामीले गौरब गर्नु पर्ने कुनै ठाउँ छैन। डिपिआर भएको माडि जलासययुक्त आयोजना र सहिदमार्गलाई समेत हेरिएको छैन। मदन भण्डारी राजमार्गमा रोल्पा प्युठान खण्डमा समेत बजेट राखेको देखिएन।’ पूर्व अर्थमन्त्री तथा रोल्पाली नेता बर्षमान पुनले नागरिकसंग कुरा गर्दै भने, ‘दाङको भालुवाङ हुँदै रोल्पा लिवाङ सडक चौडाई गर्नका लागि पनि सरकारले चासो दिएन। बजेट पूर्वाग्रही भएको देखियो।’ पूर्व अर्थमन्त्री समेत रहेका पुनले समग्रता मै बजेट नेपालीको पक्षमा नरहेको जिकिर गरे।  

शनिबारको बजेट ध्यान पूर्वक सुनेका नेकपा माओवादी केन्द्र रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्ती यसपालिको बजेट प्रति पूर्ण सन्तुष्ट छैनन्। ‘रोल्पालीका नर्मल बजेट आयो। उल्लेख्य केही आएन अर्थात् रोल्पा र रोल्पालीले गौरब गर्न लायकको कार्यक्रम देखिएन।’ उनी भन्छन्, ‘गौरबका योजना पनि सुनिएन। समग्रमा रोल्पालाई छुनेखालको बजेट आएन। रोल्पामा रहेका लागि माडि डाईभर्सन र सहिदमार्गमा समेत हेरेको देखिएन।’ उनका अनुसार यो चुनाव केन्द्रित बजेट हो। रोल्पाली हर्ष न बिस्मातको स्थिति छ। परिवर्तनमा ठूलो क्षति ब्यहोरेको रोल्पालाई नहेरिनु दुःखद् हो।

उनी जस्तै नेपाली कांग्रेस रोल्पा सभापति अमरसिंह पुन पनि बजेट प्रति सन्तुष्ट छैनन्। ‘रोल्पाका लागि बजेटमा केही बोलिएन एक प्रकारले जिरो भो। नयाँ त नयाँ हो पुराना कार्यक्रममा समेत रकम छैन। गौरबको कतै योजना देखिएन।’ उनी भन्छन्, ‘बजेटमा रोल्पालीका लागि नौलो कुरा केही छैन। कागलाई बेल पाके जस्तै भयो। आफ्नाहरु भएको ठाउँमा मात्र बजेट अनि कार्यक्रम थुपारिएको छ तर आफ्नो राजनीतिक पहुँच नभएको जिल्ला र क्षेत्रमा चासो नै दिइएको छैन।’

सरकारमा संचालन गरिरहेको नेकपा एमालेका केन्द्रदेखि जिल्लास्तरसम्मका नेताहरुले आफू बजेटका बारेमा पूर्ण जानकार नभएको बताएका छन्। प्रधानमन्त्रीका विश्वास पात्र मानिने एमाले केन्द्रीय सदस्य गोकुल घर्तीले आफू अस्वस्थ्य भएका कारण बजेटमा अपडेट नभएको बताए। एमालेका प्रदेश स्तरीय नेता कुमार दशौदीले क्रमागत योजनालाई हाईलाईट नगरिएको बताउँछन्। उनले भने, ‘सहिदमार्ग र सुलिचौर थवाङ सडक खण्डका लागि योजना परेको छ। यत्ति बुझौ रोल्पाले बिगत भन्दा राम्रो पाएको छ।’  

लामो समय द्वन्द्वले थलिएको रोल्पामा बिभिन्न समयमा राजनीतिक पहुँचबाट थप धेर थोर बजेट भित्रिए पनि ठूला योजना वा गर्व गर्न लायकका काम भने हुने गरेको पाइदैन। त्यसो त जिल्लामा सडक सञ्जाल विस्तार भएको छ। भौतिक निर्माणमा पनि केही वर्ष यता बजेट भित्रिने गरेको थियो तर शिक्षा, स्वास्थ्य, रोजगार, कृषि जस्ता विषयमा न बार्षिक बजेट बोल्छ नत अन्य समयमा भित्रिने बजेटले सम्बोधन गर्छ। द्वन्द्वका समयमा मारिएका, बेपत्ता पारिएका, घाइते, टुहुरा, अंगभंग भएका अनि त्योबेला घरबारविहीन बनेकाहरुको पक्षमा बजेट कतै बोलेको देखिएन। 

बिगतमा द्वन्द्वका नाममा ठगिएको जिल्ला शान्ति प्रकृयापछि पनि निरन्तर ठगिईरहँदा रोल्पालीहरुले चित्त दुखाएका छन्।

प्रकाशित: १६ जेष्ठ २०७८ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App