१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

रोकिएन अवैध उत्खनन्

तस्बिर : नागरिक

ऐन विपरीत वन क्षेत्रमा पर्ने खोलामा ठेक्का लगाएको विषयमा धरान उपमहानगरपालिका र डिभिजन वन कार्यालय सुनसरीबीच विवाद सुरु भएको छ ।  

उपमहागनरपालिकाले धरानको सेउती, सेहरा र सर्दु खोला ४ करोड ९१ लाखमा ठेक्का लगाएको छ । जेठ मसान्तभित्र नदीजन्य पदार्थहरु उत्खनन गर्ने गरी खोला ठेक्का लगाएपछि ठेकेदारले एक्साभेटर प्रयोग गरेर अहिले धमाधम नदी उत्खनन् गरिरहेको छ । वन क्षेत्रमा मेसिन प्रयोग गरेर जथाभावी नदी उत्खनन् गरेपछि दुई दिनअघि वन कार्यालयले उत्खनन्मा रोक लगाएको थियो । तर, धरानका मेयर तिलक राई नगर प्रहरीसहित उत्खनन् सुचारु गर्न खोलामा पुगेपछि वनका कर्मचारीहरु निरिह भई फर्किएका थिए । अहिले पनि खोलामा सुरक्षाको लागि नगर प्रहरी परिचालित भएको छ ।

भिडिजन वन प्रमुख दानबहादुर श्रेष्ठले वन क्षेत्रमा स्थानीय तहले ठेक्का लगाउन नपाउने भएपनि धरानमा जर्बजस्ती गरिएको बताए । कानुन मिचेर वन क्षेत्रको खोला ठेक्का नगर्न पटक पटक पत्राचार गरेपनि धरानमा जर्बंजस्ती ठेक्का गरेर उत्खनन् भइरहेको उनले बताए । ‘धरानले जर्बजस्ती गरेको हो, नगर प्रहरी परिचालन गरेर नदी उत्खनन् भइरहेको छ,’श्रेष्ठले भने, ‘हाम्रो धरानका १० जना जति कर्मचारीलाई कोभिड भएकोले जनशक्ति कम भयो, प्रहरी पनि कोभिड नियन्त्रणमा भएकोले आवश्यक सहयोग नजुटेकोले रोक्न सकेनौं ।’

डिभिजन वन प्रमुख श्रेष्ठका अनुसार उर्लाबारीका एक खोला ठेकेदारले पनि वन क्षेत्रको उत्खनन् गर्न पाउ भनि उच्च अदालत मोरङमा रिट दायर गरेका थिए । उक्त मुद्दामा उच्च अदालतले वन क्षेत्रबाहेक मात्र उत्खनन् गर्न पाउने आदेश दिएको श्रेष्ठको भनाइ छ । ‘वन एनेले वन क्षेत्रको ढुंगा, गिट्टी, वालुवा झिक्न पाइदैन । वन क्षेत्रको त आइईई पनि गर्न पाइदैन, आवादीको मात्र गर्ने हो,’उनले भने,‘म एक्लैको शक्ति पुगेन, सम्बनिधत निकायमा भनेको छुँ ।’

यता, धरानका मेयर तिलक राईले आफूहरुले ऐनले दिएको अधिकार प्रयोग गरेर नै ठेक्का लगाएको बताए । मेयर राईले स्थानीय तहको प्रमुख स्रोत भएकोले विवाद नगर्न पनि आग्रह गरे । ‘आइईई गरेर प्रक्रिया अनुसार नै ठेक्का लगाएको हो, प्रदेश र स्थानीय सरकारको आम्दानीको स्रोत हो,’मेयर राईले भने । उनले आफू नगर प्रहरी परिचालन गरेर उत्खनन् गर्न भने नलगाएको दाबी गरे । आफू खोलामा पुगे पनि उत्खनन् के कस्तो भइरहेको छ भनेर अनुगमन गर्न पुगेको जिकिर गरे । ‘सम्झौता अनुसार खनेको छ कि धेरै खनेको छ भनेर हेर्न गएको हो, नगर प्रहरी लगेर खन्न लगाएको होइन,’उनले भने ।

वन कार्यालय र उपमहानगरपालिकाबीच खोला उत्खनन् ठेक्काको विवाद भइरहदा वडा नं ५ ले बुधबारदेखि उत्खनन् कार्य रोक्ने भएको छ । वडाअध्यक्ष सन्तोष लिम्बुले जथाभावी खोला उत्खनन् गर्दा मानव वस्तीलाई क्षति पुग्ने भन्दै उत्खनन् कार्य रोक्ने बारे मंगलबार विभिन्न निकायलाई जानकारी गराएका छन् । उनले धरान उपमहागनरपालिका, ईलाका प्रहरी कार्याल र इलाका प्रशासन कार्यालयमा बुधबारदेखी उत्खनन् कार्य रोक्ने भन्दै जानकारी पत्र बुझाएका छन् ।  

विगतमा आइईई प्रतिवेदन तयार गर्नको लागि वडा भएको छलफल वमोजिम वस्तीलाई सुरक्षित बनाउन विभिन्न ७ बुँदा कार्यान्वयन गर्नुपर्ने उल्लेख भएपनि हालसम्म कार्यान्वयन नभएको अध्यक्ष लिम्बुले बताए । साथै, वडा र सरोकारवालाहरुलाई जानकारी नदिई खोला ठेक्का लगाएर उत्खनन् भएकोमा पनि उनले आपत्ति जनाएका छन् । उत्खनन् गर्नुअघि खोला किनारका बस्ती र जोखिम क्षेत्रको सिमांकन तथा नक्सांकन गर्ने, आवश्यक ठाउँहरुमा तटबन्धन निर्माण गरेर मात्र उत्खनन् शुरु गर्ने, खोला क्षेत्रमा भएको प्रति ऐलनी वस्तीहरुको उचित व्यवस्थापन गर्नुपर्नेलगायत विभिन्न ७ बुँदा मागहरु पुरा नभएको वडा कार्यालयको भनाइ छ ।  

प्रकाशित: १२ जेष्ठ २०७८ ०५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App