५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

संक्रमितको उपचारमा फाउन्डेसनको सबा दुई करोड

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न र संक्रमितको उपचारका लागि सोहनलाल– रामप्यारीदेवी फाउन्डेसनले विभिन्न चार सरकारी अस्पताललाई सहयोगस्वरूप दुई करोड २४ लाख रूपैयाँ उपलब्ध गराउने भएको छ। फाउन्डेसनका अध्यक्ष शंकरलाल अग्रवालले प्रेस विज्ञप्तिमार्फत यस्तो जानकारी गराएका हुन्।

फाउन्डेसनका तर्फबाट अध्यक्ष अग्रवालले सोमबार जारी गरेको विज्ञप्तिअनुसार कोसी अस्पताललाई एक करोड ११ लाख रूपैयाँ, भेरी अस्पताललाई ५१ लाख रूपैयाँ, सेती प्रादेशिक अस्पताललाई ४१ लाख रूपैयाँ र महाकाली अस्पताललाई २१ लाख रूपैयाँ सहयोगस्वरूप उपलब्ध गराउने उल्लेख छ।

‘कोरोना भाइरस महामारीको दोस्रो लहरले नेपाललगायत विश्व नै आक्रान्त र प्रभावित भएको छ। यस्तो बेलामा हाम्रो मुलुकमा पनि संक्रमितहरूको राम्रो उपचार हुनुपर्ने कुरामा समग्र मुलुक र जनसाधारण समेतले आ–आफ्नो क्षमताअनुसार कार्य र सहयोग गर्नुपर्ने आवश्यकता छ,’ विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा अघि लेखिएको छ, ‘यही आवश्यकता मनन गर्दै हाम्रा माता–पिताको नाममा स्थापित सोहनलाल–रामप्यारीदेवी फाउन्डेसनले यस कार्यमा सहयोग गर्ने निश्चय गरेको छ। ‘यसैक्रममा कोरोना भाइरसका बिरामीको उपचारमा संलग्न चार सरकारी अस्पताललाई फाउन्डेसनले दुई करोड २४ लाख रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।’

अस्पतालहरूमा बेड, अक्सिजन, भेन्टिलेटर र औषधिको अभावका कारण संक्रमितहरू उपचार नपाएर मर्नुपरेको अवस्थामा उपचारमा केही सहयोग पुगोस् भनेर फाउण्डेसनले चारवटा सरकारी अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको जनाएको छ।

प्रकाशित: ५ जेष्ठ २०७८ ०२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App