१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

मूल्य बढाउँदा पनि आयल निगमलाई एक अर्ब बढी घाटा

कोभिड—१९ महामारीका बीच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भयो। इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट मूल्य बढेर आए पछि नेपाल आयल निगमले खाना पकाउने ग्यास बाहेक आइतबार रातीबाट सबै पेट्रोलियम पदार्थको मूल्य बढायो । महामारीको बेला भाउ बढाएको भन्दै निगमको आलोचना भएको छ।

मूल्य बढाउँदा पनि आयल निगमलाई १५ दिन मै एक अर्ब १५ करोड रुपैयाँ घाटामा छ। किन त ? सरकारले पेट्रोलियम पदार्थमा उच्च कर लगाएको कारण निगमलाई घाटा छ भने उपभोक्ताले महंगो इन्धन खरिद गर्न बाध्य छन्। सरकारलाई धेरै कर तिनुपर्दा मूल्य वृद्धि गर्दा पनि निगम घाटामा गएको हो । निगमले आइओसीबाट खरिद गरेर बिक्री गर्दा उच्च कर तिर्नु परेकाले मूल्य बढाउँदा पनि घाटा रहेको निगमले जनाएको छ।

निगमले आइओसीबाट सस्तोमा पेट्रोल खरिद गरे पनि विभिन्न शीर्षकमा कर तिर्नुपर्छ । पेट्रोलमा राजस्व तथा मूल्य अभिवृद्धि कर (भ्याट)  प्रतिलिटर ५५ रुपैयाँ २३ पैसा तिर्दै आएको छ । त्यसैगरी, डिजेलमा राजस्व र मूल्य अभिवृद्धि कर प्रति लिटर ३७ रुपैयाँ ९० पैसा तिर्नुपर्छ । त्यसमा निगमले ढुवानी भाडा, डिलर कमिसन, व्यवस्थापन गरेर मूल्य निर्धारण गरेर बिक्री गर्ने गरेको छ ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार मूल्य वृद्धि गर्दा पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८ रुपैयाँ ५८ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, एलपिजी ग्यासमा प्रति सिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको छ । ‘१५दिनमा १ सय १० करोड रुपैयाँ घाटा हुने देखिएको छ,’ प्रवक्ता उपाध्यायले भने, ‘ग्यासमा मात्र निगमलाई ५४ करोड रुपैयाँ घाटा छ ।’

निगमले आइतबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बढाएको छ । वृद्धि भए पछि पेट्रोलको मूल्य लिटरको १ सय २३ रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य लिटरको १ सय ६ रुपैयाँ र हवाइ इन्धनको आन्तरिक उडानतर्फको मूल्य लिटरको ७८ रुपैयाँ पुगेको छ ।

सरकारले आम सर्वसाधारणसँग प्रत्यक्ष जोडिएको पेट्रोलियम पदार्थको आयातमा विभिन्न शीर्षकमा कर लिँदा एकातर्फ उपभोक्ताले चर्को मूल्यमा तिर्न बाध्य छन् भने अर्को तर्फ निगम घाटामा जान थालेको छ । पछिल्ला ६ आर्थिक वर्षदेखि निरन्तर नाफामा रहेको निगम यो वर्ष घाटामा जाने भएको छ । निगमले वैशाख महिनासम्म करिब एक अर्ब रुपैयाँ घाटा व्यहोरिसकेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७७/७८को बजेटमा डिजेल, पेट्रोल र मटितेलको भन्सार दर बढाएका थिए । गत वर्ष डिजेल, पेट्रोल र मटितेल लिटरमा १० रुपैयाँ भन्सार दर बढाएका हुन् । पेट्रोलमा प्रतिलिटर भन्सार २५ रुपैयाँ २० पैसा, डिजेल र मटितेलमा २० रुपैयाँ रहेको छ । कर वृद्धि गरेपछि यसको असर मूल्यमा परेको हो। सरकारले भन्सार कर, मूल्य अभिवृद्धि कर (भ्याट) का अतिरिक्त विभिन्न शीर्षकमा इन्धनमा कर लिँदै आएको छ । पूर्वाधार कर, प्रदूषण शुल्क लगायतका विभिन्न शीर्षकलाई जोडेर मूल्य निर्धारण गर्छ। 

प्रकाशित: ३ जेष्ठ २०७८ ०३:३६ सोमबार

आयल निगमलाई एक अर्ब बढी घाटा