२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

आन्तरिक हवाई कम्पनीले उडान संख्या थप्याे

कोरोना महामारीको दोस्रो लहरसँगै देश बन्दाबन्दीमा जान थालेपछि आन्तरिकतर्फका हवाई कम्पनीले उडान संख्या थप्न लगेका छन्। संक्रमण तीव्र गतिमा बढ्दै गएको र उपत्यका लगायत जिल्लामा निषेधाज्ञा हुने भएपछि आन्तरिक हवाई कम्पनीले उडान संख्या थप गरेका हुन्। उपत्यका अन्तर्गतका तीन जिल्लामा प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा हुने जनाएसँगै निजी विमान कम्पनीले उडान संख्या थपेको जनाएका छन्।

आन्तरितकर्फका सबैभन्दा लामो गन्तव्यमा समेत एक–सवा एक घन्टाको उडान भएकाले हवाई यात्रामा जोखिम कम हुने अनुमानसहित विमान कम्पनीले उडान संख्या थपेको बताएका छन्।

सरकारद्वारा जारी तथा हवाई कम्पनीले अपनाउँदै आएको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै हुँदै आएका गन्तव्यमा उडान संख्या थप्ने निर्णयमा हवाई सेवा पुगेका हुन्। बुद्ध एयरका अनुसार यात्रुलाई सकेसम्म छिटो गन्तव्यसम्म पुग्न सहज होस् भनेर उडान संख्या सोमबारदेखि नै थप गरिएको छ। 

पछिल्लो दिनमा झण्डै एक सय २० उडानसम्म गर्दै आएको बुद्धले यात्रुको मागका आधारमा उडान संख्या थपघट हुन सक्ने जनाएको छ। रात्रिकालीन उडान हुने विमानस्थलमा राति अबेरसम्म उडानको तयारी रहेको समेत कम्पनी स्रोतले जनाएको छ।  

नौवटा एटिआर–७२, तीनवटा एटिआर–४२ र २ वटा बिचक्राफ्टबाट सेवा दिँदै आएको कम्पनीले अन्तरप्रदेश बाहेक काठमाडौंबाट धनगढी, नेपालगन्ज, सुर्खेत, भैरहवा, भद्रपुर, पोखरा, राजविराज, जनकपुर, सिमरा, विराटनगर, तुम्लिङटारमा उडान भर्दै आएको छ।  

त्यस्तै, यती एयरलाइन्सले पनि उपत्यकाबाट बाहिरिने यात्रुका लागि उडान थपेको छ। कम्पनीले हाल उडान हुँदै आएका गन्तव्यमा यात्रुको मागका आधारमा उडान संख्या थप्ने जनाएको छ। पाँचवटा एटिआर–७२ र पाँचवटा जेटस्ट्रिम जहाजबाट उडान गर्दै आएको कम्पनीले धनगढी, नेपालगन्ज, भैरहवा, पोखरा, विराटनगर, जनकपुर र भद्रपुरमा उडान गर्दै आएको छ।

प्रकाशित: १४ वैशाख २०७८ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App