११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

आवश्यकताका आधारमा आयोजना छान्न निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकता र औचित्यका आधारमा मात्र आयोजना छनोट गर्न  प्रदेश र स्थानीय तहलाई निर्देशन दिएका छन्। अन्तरसरकारी वित्त  परिषद्को बिहीबार भएको छैठौं बैठकमा अर्थमन्त्री पौडेलले आयोजनाहरू छनोट गर्दा गुरुयोजना, जग्गा, वातावरणीय प्रभाव मूल्यांकन, स्रोत व्यवस्थापन लगायत आयोजना तयारीका कार्य पूरा हुन जरुरी रहेको बताए। 

सामर्थ्यभन्दा बाहिरका आयोजना छान्दा कार्यान्वयनमा समस्या पर्ने र अलपत्र हुने सम्भावना रहेको बताउँदै अर्थमन्त्री पौडेलले आयोजना छनोट गर्दा विशेष ध्यान दिन आग्रह गरे। संघ, प्रदेश र स्थानीय तहको सरकारको अभ्याससँगै जनतामा विकासका आंकाक्षा पनि बढेको र सिमित साधन स्रोत हुँदा अन्तरविरोध जस्तै देखिए पनि तीन तहका सरकार एकअर्काको विरोधी नभएर परिपूरक भएको बताए। 

वित्तीय संघीयतालाई समृद्ध पार्नु आवश्यक भएको भन्दै यसकार्यमा सहयोग गर्न अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहलाई आग्रह गरे। बैठकमा अधुरा तथा बहुवर्षे आयोजनालाई उच्च प्राथमिकता साथ सम्पन्न गर्ने, वित्तीय अनुशासन र कानुनको परिपालन एवं मितव्ययिता कायम गर्ने, तीन तहबीचको वित्तीय प्रतिवेदन प्रणालीलाई एकीकृत गरी गर्ने विषयमा छलफल भएको थियो।

यस्तै, कोभिड–१९ कोरोकथाम, नियन्त्रण  र उपचारमा तीन तहबीच समन्वय र सहकार्य गरी स्रोत साधन र जनशक्तिको व्यवस्थापन गर्ने, योजनाहरूको दोहोरोपन हटाउने, प्रादेशिक र स्थानीय आवश्यकता र प्राथमिकताको क्षेत्रमा  स्रोत परिचालन गर्ने विषयमा  पनि छलफल भएको थियो।  

कार्यक्रममा प्रदेश र स्थानीय तहका पदाधिकारीहरूले हालको अनुदान वितरण प्रणालीमा सुधार गर्नुपर्ने विषयमा सुझाव दिएका थिए। स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तहसँगको समन्वयमा आयोजनाहरू छनौट गर्दा त्यस्ता आयोजनाको कार्यान्वयन सहज हुने धारणा राखे।

भर्चुअल माध्यमबाट आयोजना गरिएको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरू,अर्थ मन्त्रालयका सचिव  शिशिरकुमार ढुंगाना,राजस्व सचिवरामशरण पुडासैनी,  आर्थिक सल्लाहकार प्रकाशकुमार श्रेष्ठ, प्रदेशका सचिवहरू, विज्ञ, स्थानीय तहका जनप्रतिनिधिहरू लगायत सहभागी थिए।

प्रकाशित: १० वैशाख २०७८ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App