५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

समयमा पानी नपर्दा चैते धान रोप्न ढिलाई

फाइल तस्बिर

यस वर्ष समयमा पानी नपर्दा उदयपुरमा चैते धान रोप्न ढिला भएको छ । चैतमा रोपेर साउनमा पाक्ने धान यो वर्ष अहिलेसम्म पनि वर्षा नभएपछि रोपाई ढिलाई भएको किसानहरुले बताए ।  

माघ सुरुदेखि वर्षा हुने हुँदा चैत लाग्दैदेखि रोपाई सुरु हुने गरेकोमा यसवर्ष वैशाख लागि सक्दासम्म वर्षा नभएपछि रोपाई सुरु भएको छैन। समयमा वर्षा नभएकै कारण चैते धान रोप्ने समय घर्कदै गएको गाईघाट चुहाडेका किसान इन्द्र दनुवारले बताए । लामो खडेरी, हावाहुरी र सुख्खा मौसममा कारण खोलाको पानी सुकिसकेकाले वर्षा नभएसम्म रोपाई गर्न संभव नभएको दनुवारले बताए ।  

अर्का किसान लालबहादुर दनुवारले विगत वर्षहरुमा वैशाख लाग्दासम्म धानको रोपो सरेर खेतै हरियो भईसक्थ्यो । तर, यसपालि अहिलेसम्म वर्षा नभएपछि रोपो गर्न राखेको व्याड उम्रनसमेत हम्मे भएको उनले बताए । चैते धान रोप्न आकाशे पानीकै भर पर्नुपर्ने भएकाले यो वर्ष रोपाई गर्न ढिला भएको उनको बुझाई छ । फागुन, चैत सुख्खा मौसम भएकाले आकाशे पानीकै भरमा रोपाई गर्नुपर्ने भएकाले यो वर्ष धान रोप्न ढिलाई भएको हो । बर्खे धान रोप्न खोलामा प्रसस्त पानी हुने हुँदा सिंचाई कुलो हुने भए पनि चैते धान रोप्न वर्षाकै भर पर्नुपर्ने उनले बताए ।  

‘गत वर्ष यतिबेलासम्म चैते धानको रोपाई सरेर पनि पहिलो चोटी गोेड्ने बेला भईसकेको हुन्थ्यो’ दनुवारले सुस्केरा हाले ‘यसपालि त अहिलेसम्म पानी नै परेको छैन । अव त समय नै भिड्किसक्यो । रोपे पनि धान फल्न नफल्ने टुंगो छैन ।’ अकाशे पानीको आस गर्दागर्दै ढिला भएपछि पानी बोकेर व्याड राखेको उनले बताए । ढिलै भए पनि व्याड राखेर उम्रिसकेको तर, वर्षा नभएकाले रोपाई भने होलाजस्तो उनलाई लागेको छैन ।  

हिउँद बर्खा बाह्रैकाल पानी बग्ने खालका खोला खोल्सी भएका पहाडी भेगमा रोपाई भईसकेको छ भने पानी सुक्ने खोला मुहान भएका खेतमा रोपाई हुन सकेको छैन । पहाडीभेगका रसुवा, लाँकुरी, यारी, छाताङ, बैखोला, खकिउँ, तावा, वैद्यनाथ, हाँडी, अँधेरी खोलाहरु पानी कम भए पनि कहिल्यै नसुक्नेमा पर्छन् । त्यस्तो भेगका खेतमा रोपाई भईसकेको छ । तर, तराईभेगका ठूला नदी खोलाहरु बर्खायाममा बाढीको बितण्डा मच्चाउने गरे पनि हिउँदमा पानी सुकेर बगर बन्ने गरेका छन् । त्रियुगा, बरुवा, लामा, सेती, कङ, द्वार, देउरी, शाही, सरस्वती खोलाहरु भने हिउँदमा पानी सुकेर पुरै बगरमा परिणत हुने गरेका छन् ।  

पहाडी भेगका खोला मुहान भएका खेतहरुमा जसोतसो चैते धानको खेती गर्न सहज भएको तर, तराईका खोला मुहानका खेतमा वर्षा नहुँदा रोपाई गर्न ढिला भएको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । ज्ञान केन्द्रले पछिल्लो समय धेरै ठाउँमा साना सिंचाईको सुविधा पुगेकाले रोपाईको अवस्था सन्तोषजनक भएको जनाएको छ । ज्ञान केन्द्र प्रमुख प्रकाश विश्वकर्माले तराईभेगमा पानी नपरेकाले रोपाई हुन नसके पनि पहाडी भेगका खोला खोल्सीमा साना सिंचाई सुविधा पुगेकाले धेरैजसो ठाउँमा रोपाई भईसकेको बताए । विश्वकर्माका अनुसार आकाशे पानीको भरमै रोपाई गर्नुपर्ने खेतमा भने बाँकी छ । समयमा वर्षा नहुँदा खोला मुहान सुकेको ठाउँको खेतमा रोपाई हुन सकेको छैन ।

केन्द्रका अनुसार उयदपुरमा १४ हजार हेक्टर क्षेत्रफल जमिनमा हिउँदे बर्खे धान खेती लगाउने गरिएको छ । जसमध्ये सिंचाई सुविधा पुगेको धान खेतीको क्षेत्रफल अहिलेसम्म ७ हजार ३ सय ३ हेक्टर मात्र छ। 

प्रकाशित: ४ वैशाख २०७८ ०९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App