१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

आयकर नलाग्ने सीमा बढाउन सिए संघको माग

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले नेपाल राजस्व परामर्श समितिमा आगामी बजेटसम्बन्धी सुझाव पेस गर्दै व्यक्तिलाई आयकर नलाग्ने आम्दानीको सीमा बढाएर वार्षिक पाँच लाख पुर्‍याउन गरेको छ।  

अहिले व्यक्तिलाई चार लाख र दम्पतीलाई साढे चार लाख रूपैयाँसम्म वार्षिक आम्दानीमा आयकर लाग्दैन। संघले विभिन्न संघ–संस्था तथा सदस्यहरूबाट प्राप्त सुझावमाथि छलफल गरी अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने तथा राजस्व कानुनमा आवश्यक सुधार गर्नुपर्ने विषय समावेश गरी सुझाव तयार पारेको जनाएको छ।  

संघले पेस गरेको सात बुँदे सुझावमा विभिन्न तहगत सरकारको कर उठाउने प्रक्रिया सरल गरी एकद्वार प्रणाली विकास गर्नुपर्ने उल्लेख छ। राजस्व न्यायाधीकरणसम्म करसम्बन्धी कानुनी बहस पैरवीको अधिकार चार्टर्ड एकाउन्टन्टलाई दिन पनि संघले माग गरेको छ।  

कृषि क्षेत्र तथा सुरुआती व्यवसाय (स्टार्ट अप)लाई पूर्ण कर छुटको व्यवस्था गर्नुपर्ने संघको माग छ। त्यसैगरी, स्वीकृत अवकाश कोषमा गरेको योगदान कर प्रयोजनको लागि १० लाख र सामाजिक सुरक्षा कोषको हकमा सम्पूर्ण योगदान रकम घटाउन पाउने व्यवस्था थप गर्न संघले माग गरेको छ। इन्टरनेटको माध्यमबाट हुने अमूर्त कारोबारमा कर संकलनका लागि स्पष्ट कानुनी व्यवस्था गरी सोको नियमन तथा करदाताले पर्यटन गतिविधिमा गरेको व्यक्तिगत खर्चलाई कर गणना गर्ने प्रयोजनका लागि घटाउन दिने व्यवस्था थप गर्न संघले सुझाएको छ।

परामर्श समितिका अध्यक्ष महेशप्रसाद दाहालले सुझाव बुझ्दै संघले उठाएका विषयमा समिति सकारात्मक रहेको र भविष्यमा चार्टर्ड एकाउन्टेटहरूसँग सहकार्य गर्ने आश्वासन दिएको संघले जनाएको छ।  

संघका अध्यक्ष आनन्द शर्मा वाग्लेले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा उपाध्यक्ष रमेश धिताल, महासचिव तेजप्रसाद सुवेदी, कार्यकारी सदस्य अनिल लामिछाने सहभागी थिए। भेटमा प्रतिनिधिमण्डलले चार्टर्ड एकाउन्टेटहरू करका विषयविज्ञ भएका र वित्त व्यवसथापन, लागत व्यवस्थापन तथा लेखा व्यवस्थापनसँग करको अन्तरसम्बन्धको बारेमा जानकार रहेकाले राज्यले उनीहरूलाई भरपूर उपयोग गर्नुपर्नेमा जोड दिएको थियो। 

प्रकाशित: ३ वैशाख २०७८ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App