७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

हेलिमार्फत पाथीभारा र हलेसी दर्शन, सहकारीबाट किस्ताबन्दीमा सुविधा पाइने

हेलिमार्फत पाथीभारा दर्शनको सुविधा सुरु हुने जानकारी दिँदै होलिडेज प्रालि । तस्बिर : रोहित राई

ताप्लेजुङमा अवस्थित नेपालकै प्रसिद्ध शक्तिपिठ एवं धार्मिक पर्यटकीयस्थल पाथीभाराको सहजरुपमा दर्शन गर्न चाहनेहरुलाई धरानबाट हेलिकप्टर यात्राको सुविधा उपलब्ध हुने भएको छ।

धरान होलिडेज प्रालिले एयर डाईनेष्टिक हेलिकप्टरसँगको सहकार्यमा बैशाख ५ गतेदेखि हेलिमार्फत पाथीभारा दर्शनको सेवा सुरुवात गर्ने घोषणा गरेको छ। प्रालिले बिहीबार धरानमा पत्रकार सम्मेलन गर्दै हेलिमार्फत पाथीभारा दर्शनको लागि प्रतिव्यक्ति २९ हजार ९ सय ९९ रुपैयाँ शुल्क तोकिएको जानकारी दिएको छ। प्रालिका अध्यक्ष कुन्दन श्रेष्ठका अनुसार पाथीभाराबाहेक खोटाङको हलेसी महादेव र संखुवासभाको गुफापोखरी पनि इच्छुकहरुलाई लैजान सकिने बताए। यस्तै, इच्छुकहरुलाई माउण्टेन फ्लाइट पनि गराउने उनको भनाइ छ। ‘एक फ्लाइटमा ५ जनाको समूह आवश्यक पर्छ, इच्छुकहरुले समूह तयार गरेमा लैजान सकिन्छ,’ उनले भने।

प्रालिले माउण्टेन फ्लाइटको लागि प्रतिव्यक्ति ६९ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ भने हलेसी महादेव र गुफापोखरीको लागि दूरी अनुसार शुल्क तोकिने प्रष्ट पारेको छ। प्रालिले आर्थिक समस्याले पाथीभारा दर्शन गर्नबाट बञ्चित भइरहेका र अशक्त, ज्येष्ठ नागरिकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने गरि सहकारीको विना ब्याज किस्ताबन्दीमा हेलिमार्फत दर्शन गर्न सक्ने सुविधा पनि प्रबन्ध गरिएको प्रबन्ध निर्देशक अमृत मानन्धरले जानकारी दिए। उनले भने, ‘एकमुष्ट शुल्क तिर्न नसक्ने दर्शनार्थीहरुलाई सहकारीमार्फत विना ब्याजमा दर्शन गर्ने सुविधा पनि दिएका छौं। यसले निम्न वर्गीय मान्छेले हेलि चढ्न पाउछन् भने अशक्त, ज्येष्ठ नागरिकहरुले सहजरुपमा नै पाथीभारा दर्शन गर्न पनि पाउँछन्।’

तत्काल धरानका विभिन्न ९ वटा सहकारी संस्थामार्फत यो किस्ताबन्दी सुविधा उपलब्ध भएको प्रालिको भनाइ छ। इटहरी र विराटनगरका विभिन्न सहकारी संस्थामार्फत पनि सरल किस्ताबन्दीमा हेलिमा पाथीभारा दर्शन गर्ने व्यवस्था गरिएको मानन्धरले बताए। सहकारीमार्फत विना ब्याजमा दिनको १ सय र मासिक २५ सय किस्तामा पाथीभारा दर्शन गर्न सकिने उनले बताए। आवश्यकता अनुसार हेलिकप्टरलाई एयर एम्बुलेन्सको सेवा पनि दिन सकिने उनको भनाइ छ।  

सहकारीका सेयर सदस्यहरुले यो सुविधा पाउनेछन् भने सुविधा पाउनको लागि सेयर सदस्य पनि बन्न सक्नेछन्। धरानका झरना, हातेमालो, शिखर, उद्यमशिल, पुर्वेली, निसान, ज्योतिपुञ्ज, जल्पादेवी, सुलभलगायत सहकारीबाट यो सविधा पाउने प्रालिले जनाएको छ। प्रालिले ७० वर्ष पुगेका ज्येष्ठ नागरिक र अशक्तहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ। तर यो छुट सुविधा किस्ताबन्दीमा भने उपलब्ध नहुने प्रबन्ध निर्देशक मानन्धरले जानकारी दिए।  

हेलिकप्टरमा धरानबाट पाथीभारा पुग्न २५ मिनेट समय लाग्ने छ। यात्रुहरुलाई दर्शनको लागि ४५ मिनेट समय दिने प्रालिको भनाइ छ। एक दिनमा ३ फ्लाइट गर्ने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए। झरना सहकारीका अध्यक्ष मानबहादुर मगरले सेयर सदस्यहरुले किस्ताबन्दीमा पाथीभारा दर्शन गर्न जाने व्यवस्था गर्न आग्रह गरिरहेको स्मरण गर्दै प्रालिसँग सहकार्य गर्न पाउदा खुसी लागेको बताए। उनले भने, ‘हाम्रा थुप्रै सेयर सदस्यहरुले हिँडेर जान गाह्रो हुन्छ, किस्तामा हेलिको व्यवस्था गर्नुपर्छ भनिरहनु भएको थियो। अब दिनमा १ सय र मासिक २५ सय किस्तामा नै यो सुविधा पाउदा खुसी छौं।’

प्रकाशित: २ वैशाख २०७८ १२:२९ बिहीबार

पाथीभारा र हलेसी दर्शन किस्ताबन्दीमा सुविधा