बिल्टु दाश २०१९ सालमा धनुषाको सीमावर्ती खजुरी महुवाबाट बसाइँ सरेर सिरहाको कर्जन्हा गाउँ आए । उनी धनुषाबाट बन्दिपुर बसाइँ सर्नुको एउटै कारण थियो– कमला नदीको पानीको प्रयाप्त सुविधा। त्यो समयमा कमला नदीको पानी प्रयोग गरेपछि अन्नबाली मनग्य उत्पादन हुन्थ्यो । तीन/चार बाली उत्पादन गर्न सकिन्थ्यो।
विगत सम्झँदै दाशले भने, ‘आफैले खनेको सिँचाइ कुलो (नहर) मार्फत त्यो बेला बहुबाली लगाइन्थ्यो।’ पछिल्लो समय करोडौं लगानीमा निर्माण भएको र भइरहेको कमला सिँचाइ नहर प्रणालीले बहुबाली खुम्चिँदै गएको उनले बताए। कर्जन्हाका मुक्तिलाल सिंहलाई प्रदेश र संघीय सरकारसँग धेरै अपेक्षा छैन । उनको सरकारसँग एउटै अपेक्षा छ त्यो हो– कमला नदीको जल । जल अर्थात कमला नदीको पानी खेतसम्म पुग्नेगरि भरपर्दो सिँचाइको व्यवस्था।
गहुँमा लगाउन पानी चाहिएको बेला कमला सिँचाइ नहर प्रणाली मार्फत उनको खेतसम्म पानी पुग्दैन । पोटिलो गहुँका लागि कम्तीमा तीन पटक पानी लगाउनुपर्छ । ‘सुख्खा भेगमा चार पटक पानी लगाउनुपर्छ,’ उनले भने, ‘यस पटक जम्मा दुई पटक मात्रै पानी लगाउन पाएँ।’ पछिल्ला वर्षमा कमला सिंचाइ नहरमा पानी छैन् । तीन पटक चाहिने पानी एकपटकलाई पनि पुग्दैन उनले थपे, ‘कमला सिँचाइ नहरको पानी यस क्षेत्रका किसानलाई धानबाली बाहेकलाई प्रयाप्त छैन् ।’ जेठ–असारमा आकाशे पानीले रोपाई धानिहाल्छ । ‘हामीलाई नहरको पानी प्रयाप्त आवश्यक पर्ने भनेको गहुँको सिजनमा हो,’ उनले भने ‘तर यो बेला नहर सुख्खा हुन्छ, पानीका लागि हामी लालायीत हुन्छौ ।’
कमला सिँचाइ नहरमा पानी पर्याप्त नहुँदा यस क्षेत्रका किसानको खेतमा गहुँ, खेसारी, मसुर बाली जलिरहेको छ । गहुँ र दलहन खेतीलाई यो सिँचाइ नहरको पानीले कहिल्यै भरथेग नगरेको स्थानीय किसानको गुनासो छ । गहुँलाई चाहिने प्रयाप्त पानी हो तर कमला सिँचाइ नहर यस बेला सुख्खा हुन्छ कर्जन्हा नगरपालिका बडहरामालका रामदेव ठाकुरले भने भने ‘किसानलाई आवश्यक परेको बखत नहरमा पानी हुँदैन्।’
सिंहका अनुसार दुई दशक पहिलेसम्म आफ्नै मेहनतले कमलाबाट खेतसम्म खनेको नहरमार्फत प्रयाप्त सिँचाइ गरी अन्नबाली उब्जिन्थ्यो। धानको सिजनमा आकासबाट वर्षा हुन्छ । तर गहुँ, दलहनको सिजनमा यस क्षेत्रका किसानको एकमात्र सहारा कमला पूर्वी सिँचाइ नहर हो। नहर मार्फत खेतसम्म पानी भइदिए मनग्य गहुँ र दलहन फलाएर आर्थिक अवस्था राम्रो बनाउने यस क्षेत्रका किसानको सपना छ। तर कमला सिँचाइ नहरमा पर्याप्त पानी नहुँदा यस क्षेत्रका किसान निर्विकल्प बनेका छन् । पहिला धान, गहुँ, दलहन, र तेलहन घरमा भित्रिन्थ्यो। पछि तेलहन (तोरी) खेती गर्ने परम्परा पनि सुक्यो। अब धान र गहुँ खेती गरिन्छ । त्यो पनि वर्षभरी खान पुग्दैन । धान र गहुँ खेती गर्ने परम्परा पनि विस्तारै सुक्दै गएको बडहरामालका किसान सुरेन्द्र महतो बताउँछन् । पछिल्लो केही दशकभित्रै बहुबालीको परम्परा सुक्यो । खानाको लागि पनि अन्नबाली किन्नुपर्ने भयो । धानबाली बाहेकको अन्य बाली लगाए पनि लगानी उठ्दैन महतोले भने, ‘पानी अभावले लगानी डुब्छ।’
कमला सिँचाइ नहरमा जसरी लगानी बढ्दैछ त्यसैगरि यस क्षेत्रमा खेती गर्ने परम्परा पनि सुक्दै गएको छ । लगानी बढेको बढ्यै छ तर प्रतिफल भने कागजमै सीमित बनेको कर्जन्हाका स्थानीय प्रकाश कोइराला बताउँछन् । यस वर्ष मात्र कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा धनुषाले नहर सफा, समृद्धि तराई मधेस कार्यक्रम र बृहत्त गरी करिब ५० करोड बजेट खर्च गर्दैछ । नहर सफा अर्थात् नहरबाट बालुवा भिक्न ज्यालादारी मजदुरमा मात्र ४५ लाख खर्च गर्दैछ । यस भेगमा केषिप्रति किसानको आकर्षण बढाउन सिँचाइ सहुलियतका लागि वर्षेनी करोडौं रकम खर्च भइरहेको छ।
खर्चअनुसारको उपलब्धी किसानको दैलोमा पुग्न सकेको छैन। सिँचाइका लागि खर्चिएको रकमबाट किसानको खेत भिज्दैन । सरकारको लगानीलाई किसानहरूले बालुवामा खन्याएको पानी भनिरहेका छन्। यद्यपी कार्यालय प्रमुख विजयकुमार गामीले सिरहा र धनुषाका २५ हजार हेक्टर खेतमा सिँचाइ सुविधा पुर्याउँदै आएको दाबी गर्छन् । यी दुई जिल्लाका आठ÷आठ हजार हेक्टर गुहँबालीको खेत कमला नहर प्रणालीमार्फत सिँचाइ भइरहेको उनको भनाइ छ।
कमला नदीमा जति पानी हुन्छ त्यति पानीलाई हामीले नहरमा पठाउने हो प्रमुख गामीले भने, ‘बर्खामा समस्या हुँदैन तर हिउँदमा समस्या हुन्छ । सिरहा र धनुषाका किसानलाई पालो लगाएर पानी वितरण गर्छौैं । हिउँदमा कमला नदीमा अधिकत्तम ६ क्युमेक मात्र पानी हुन्छ । त्यही भएर किसानहरूको माग पूर्ती गर्न नसकिएको हो।’
प्रदेश २ को कुल खेतीयोग्य जग्गाको ८९.९ प्रतिशत जग्गामा मात्रै खेती हुने गरेको तथ्यांक छ । प्रदेश सरकारको आधिकारिक तथ्यांक अनुसार यहाँको कुल ५ लाख ३५ हजार २ सय १८ हेक्टर खेतीयोग्य जग्गामध्ये ४ लाख ८१ हजार २ सय १४ हेक्टरमा मात्रै खेती हुन्छ । कुल खेतीयोग्य जग्गाको ६६.३ प्रतिशत अर्थात ३ लाख १८ हजार आठ सय ६९ हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको प्रदेश सरकारको तथ्यांकमा उल्लेख गरिएको छ।
सिँचाइले अभावले रोजगारी गुम्दै
कर्जन्हा नगरपालिकामा सदाय समुदायको (मुसहर) को बाक्लो बस्ती छ । सोही बस्तीका रामफल सदाय वर्षमा १० महिना बेरोजगार बस्नुपर्ने पीडा सुनाउँछन् । उनको पीडाको अर्थ छ, पहिला बहुबालीको खेती हुँदा वर्षभरि रोजगारी पाइन्थ्यो । ‘अहिले त धान रोप्ने र छोप्ने (काट्ने) बाहेक १० महिना बेरोजगार बस्नुपर्छ,’ उनले भने ।
उनको रोजगारी धान खेतीसँगै साँघुरिएको छ । मधेसको कृषि परम्परा बहुबालीबाट एकल बालीमा पुग्दा कृषिमा आश्रित रामकरण सदाय जस्ता धेरै किसान बेरोजगार भएका छन् । कतिपय पुरुष मजदुर कामको खोजीमा खाडी र भारततर्फ गएका छन् भने केही जाँदैछन् । यसै बस्तीका प्रायः युवा कामको खोजीमा खाडी जानेको लर्को छ ।
सिरहा नगरपालिका–१४ नवटोलीका मोहम्मद सरिफ लामो समय खैरटोका मुल भन्सारमा जागीर खाएर अवकास पाएका छन् । जागीरे अनुभूती सम्झँदै उनले भने, ‘दुई दशक अघिसम्म भारततर्फ धान बोकेर जाने बैलगाडाको लस्कर हुन्थ्यो अहिले आयात हुन थालेको छ ।’ खैरटोका नाकाबाट जयनगर, दरभगासम्म बैलगाडामा नेपाली धान पुग्थ्यो । ‘हेर्दा हेर्दै समय उल्टियो,’ उनले थपे, ‘अन्न बेच्नेहरू अहिले किन्न थाले ।’ सरकारी नीति किसानमैत्री हुन नसक्दा अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ । सिँचाइको व्यवस्थापन गरेर कृषि क्षेत्रको विकास गर्नुपर्ने उनको सुझाव छ ।
निरास बन्दै किसान
सिँचाइको प्रयाप्तता भइदिए कृषिप्रति आकर्षण स्वाभाविक रूपमा बढ्दै जाने बरियारपट्टी–४ तेनुवापट्टीका किसान रामबाबु यादव बताउँछन् । यो गाउँको बीच भागबाट कटनीया खोला बग्छ । कमलाको नदीको पानीलाई कटनीयामार्फत प्रवाह गरेर यस भेगका किसानको खेत सिँचाइ गर्न कटनीयामा ब्यारेज निर्माण हुँदैछ । ब्यारेज निर्माण सुरु हुँदा यस क्षेत्रका किसानमा खुसीको सञ्चार भएको थियो । तर ४ वर्षभन्दा बढी भइसक्दा पनि यो योजना आधामै झुन्डिँदा किसानमा निरासा छाएको छ ।
‘कटानियाको सिँचाइ प्रणालीमार्फत कमलाको पानी हाम्रो खेतसम्म पुगे यस भेगका किसानको दुःख सकिन्छ,’ किसान रामबाबु भन्छन्, ‘सरकारको लगानी बालुवामा पानी खन्याए सरह भयो, हाम्रो समस्या सामाधान भएन ।’ कमला सिँचाइमा करोडौं लगानी भएको सुन्छु तर किसानको समस्या उस्तै छ उनले थपे, ‘कर्मचारी मोटाउने किसान दुब्लाउने लगानी कहिलेसम्म ?’ सिँचाइ अभावमा जतिसुकै परिश्रम गरेर बाली लगाए पनि खडेरी हुने पीडाले यहाँका किसान चिन्तित छन् । सिँचाइको असुविधाले यस भेगका किसान बाली लगाउन हच्किँदै छन् ।
प्रदेश सभासदस्य, मुख्यमन्त्री र प्रदेश प्रमुखले प्रदेश–२ मा समृद्धिको आधार कृषि रहेको भनिरहेका छन् । ‘ग्रामीण मधेसको बाँझो जमिनमा जलसञ्चार नगरेसम्म भनाइको औचित्य नहुने किसानको भनाइ छ । प्रदेश समृद्धिका लागि कृषिमा जोड दिनुपर्ने बोलेर मात्र नपुग्ने यादवको भनाइ छ । प्रदेश सभाको पहिलो बैठकदेखि नै सांसदले प्रदेश समृद्ध बनाउन कृषि, सिँचाइ र कृषि उत्पादन बढाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिँदै आएका छन् । समृद्ध प्रदेश बनाउने सपना कृषिबाट मात्रै सम्भव रहेको उनीहरूले बताए पनि जलको समुचित व्यवस्थापनतर्फ कार्य प्रारम्भ भएको देखिँदैन ।
मधेसमा जमिन जोतेर अन्न उत्पादन गर्ने समुदायको पीडालाई सरकारले सम्बोधन गर्न नसक्दा अन्न निर्यात गर्ने मधेस अहिले अन्न खरिद खानुपर्ने अत्यासलाग्दो अवस्थामा पुगेको प्रदेश सभासदस्य जगतप्रसाद यादवले बताए । मधेसको भूमिमा अन्न उत्पादन गर्न चाहिने उत्पादन सामग्री व्यवस्थापन गर्न सरकार उदासीन रहेको उनको आरोप छ। अब यो चुनौती प्रदेश सरकारसमक्ष रहेको उनको भनाइ छ । प्रदेश सञ्चालन र आर्थिक भार बहन गर्न सक्ने आधार कृषि भएकाले सरकारको प्रमुख प्राथमिकता कृषि उत्पादन बढाउनेतर्फ हुनुपर्ने उनले बताए।
प्रकाशित: १ वैशाख २०७८ ०१:४१ बुधबार