६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

‘थरुहट–उदयपुर रंगशाला’ नमुना बन्दै

उदयपुर– २०७२ मा नयाँ संविधान बनेसँगै गरिएको राज्य पुनःसंरचनाले उदयपुरमा ४/४ वटा नगरपालिका र गाउँपालिका बनाइयो। ‘गाउँगाउँमा सिंहदरबार’को नारासहित स्थानीय तह बनेपछि प्रशासन, शिक्षा, स्वास्थ्य, खानेपानी, सुरक्षालगायत नागरिकको प्रत्यक्ष सहभागिता जनाउने दैनिक सेवासुविधा गाउँमै केन्द्रित हुने व्यवस्थाको सुरु भयो। यो क्रमसँगै प्रशासनिक, व्यापारिक र सुरक्षाको ‘हब’ मानिएकोे सदरमुकाम गाईघाटको प्रभाव कमजोर हुन थाल्यो।  

राजनीतिक, प्रशासनिक, सामाजिक सेवा सुविधा गाउँमै पाइने भएपछि नागरिक गाउँ फर्कन थाले। खासगरी विगतमा वैदेशिक रोजगारीमा रहेका युवाहरू सदरमुकाममा सके अनुसार थोरै भए पनि जमिन किनेर घर निर्माण गरेर उनीहरूको पनि मुकाम आकर्षण घट्दै गाउँ केन्द्रित हुन थाले।  

तत्कालीन माओवादी द्वन्द्वताका उत्कर्षतर्फ जाँदै गरेको बेला २०५७/०५८ देखि जमिनको भाउ ह्वात्तै घट्न थाल्यो। ‘प्लटिङ’ मा लगानी गर्नेहरू खुम्चिँदै गए। गाईघाटको प्रभाव कायम गर्न कुनै आकर्षण नभएपछि स्थानीयहरू त्यसको खोजीमा लागे । जिल्ला खेलकुद विकास समितिले खेलकुद मन्त्रालयबाट विनियोजित ४० लाख रुपैयाँबाट प्रारम्भिक काम थालेको रंगशालालाई ‘थरुहट–उदयपुर रंगशाला’ निर्माण गर्ने गरी अघि बढाएको प्रस्तावले गति लियो। 

एक दशकदेखि खेलाडी र खेलप्रेमीहरूले उठाउँदै आएको मागको सम्बोधन गर्न सके गाईघाटको खस्कँदो ‘ओज’ कायम राख्न सकिने अवधारणाले निर्माण सुरु भएको थरुहट उदयपुर रंगशाला अहिले ‘प्रदेशकै नमुना’ र व्यवस्थित भइसक्न लागेको छ।  गाइघाट बजारसँग जोडिएको त्रियुगा नगरपालिका १३ हवाइ मैदानस्थित निर्माणाधीन रंगशालामा पछिल्लो ४ वर्षमा लगातार पूर्वाधार थप्दै अघि बढिरहेको अवस्था छ। 

सभ्य र विकसित सहरका सूचकमध्ये एक रंगशाला निर्माणमा सबैपक्षको जोड रहँदै आएको छ । त्रियुगा नगरपालिका–१० का वडाध्यक्ष तथा तत्कालीन खेलकुद विकास समितिका प्रमुख प्रकाश खड्का यो रंगशालालाई गाईघाटको ‘आइकन प्रोजेक्ट’ मान्छन्। आफू प्रमुख भएकै बेलादेखि बजेट मागेर काम थालेको रंगशाला अहिले सम्पन्नको अन्तिम अवस्थामा पुगेकोमा उनलाई खुसी लागेको छ। ‘खेलकुद क्षेत्र मान्छेको स्वास्थ्य, विकास र अनुशासनसँग जोडिएको विषय भएकाले यसप्रति सबैको ध्यान जानुपर्छ,’ खड्काले भने, ‘म हिजो खेलकुद विकास समितिमा हुँदा जत्ति सचेत थिएँ, अहिले वडाध्यक्ष हुँदा पनि उत्तिकै सचेत र जिम्मेवार छु।’

रंगशाला निर्माणमा त्रियुगा नगरपालिका, तत्कालीन जिल्ला विकास समिति, अखिल नेपाल फुटबल संघ (एन्फा), राष्ट्रिय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति र अन्य विभिन्न खेलकुदक्षेत्रसँग सम्बन्धित व्यक्ति र निकायले सहयोग गर्दै आएका छन्। जसले सुरुमा जमिन व्यवस्था गर्नेदेखि पूर्वाधार निर्माणसम्मको कामले रंगशालालाई अहिलेको अवस्थामा आइपुगेको रंगशालाको सुरु गर्नेमध्येका एक किरण राईले बताए।

पूर्व फुटबल खेलाडी राई एन्फा जिल्ला अध्यक्ष, पूर्वाञ्चल खेलकुद विकास समिति अध्यक्ष, केन्द्रीय सदस्य हुँदै अहिले एन्फा केन्द्रीय प्रवक्ताको भूमिकामा रहेकाले जमिन व्यवस्थापनदेखि स्रोतको खोजी गर्दै रंगशाला बनाउनसम्म महत्वपूर्ण भूमिका खेलेका छन् । उनका अनुसार रंगशाला निर्माणले गाईघाटको गुमेको ‘चार्मिङ’ फर्काएको छ, भने खेलकुद गतिविधि गर्न र वर्षेनी हुँदै आएको ‘उदयपुर गोल्डकप’ सञ्चालन गर्न सजिलो भएको छ।

२०७३ सालमा जमिन छुट्याएपछिको ४ वर्षे अवधिमा राष्ट्रिय खेलकुद परिषद्को ३५ लाखले पहिलो वर्ष पश्चिमतर्फ भिआइपी प्याराफिट निर्माण गरेर सुरु भएको रंगशालाको काम दोस्रो वर्ष पनि परिषद्ले नै दिएको ३५ लाखले पूर्वतर्फ अर्को प्याराफिट निर्माण भयो। त्यसपछिका २ वर्ष त्रियुगा नगरपालिकाबाट थप २ प्याराफिट बनाउँदै गतवर्ष प्रदेश सरकारको १ करोड बजेटबाट उत्तरतर्फको प्याराफिट निर्माण भइसकेको छ। 

चालु आर्थिक वर्ष प्रदेश सरकारले ५० लाख बजेट उपलब्ध गराएको छ। उक्त बजेटले दक्षिणतर्फ पनि प्याराफिट निर्माण भएको छ। गतवर्ष नै त्रियुगा नगरपालिकाको ५० लाख बजेटबाट भिआइपी प्याराफिटमाथि एकतला थपेर ट्रस प्रविधिको छानो हालेपछि बालकोनीसहितको प्याराफिट निर्माण गरिएको त्रियुगा नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मणबिक्रम थापाले बताए।  

तला थपेर छानो हालेपछि विशिष्ट अतिथिलाई त्यहाँ राखेर कार्यक्रम सञ्चालन गर्ने गरिएको छ, भने भुइँतलाको अगाडि दर्शक र पछाडितर्फ कोठा निकालेर नगर खेलकुद विकास समितिको कार्यालय सञ्चालनमा ल्याइएको त्रियुगा नगर खेलकुद विकास समितिका अध्यक्ष प्रदिप श्रेष्ठले बताए। उनका अनुसार हाल ५ वटा प्याराफिट बनिसकेको रंगशालालाई गतवर्ष कोरोनाले गर्दा थप बजेटको व्यवस्थापन गर्न नसकिएको हो।  

श्रेष्ठले पश्चिमतर्फ भिआइपीसहित ३, पूर्वतर्फ २ र उत्तर दक्षिणमा २ गरी ७ वटा प्याराफिट बनाए पछि हाल रंगशालाको क्षमता ७ देखि १० हजारसम्म दर्शक अटाउने भएको बताए। गतवर्षकै नगर बजेटबाट खेल मैदानको चारैतर्फ पक्की नाला निर्माण गरेपछि वर्षायाममा पनि खेलकुद गतिविधि गर्न सहज भएको एन्फा उदयपुरका अध्यक्ष रञ्जन कार्की बताउँछन्।

उनका अनुसार रंगशाला निर्माण भएसँगै उदयपुरको खेलकुद गतिविधिले तीव्रता पाएको छ। तर कोरोनाले गर्दा झण्डै एकवर्ष खेलकुद गतिविधि गर्न सकिएन। रंगशाला बनेपछि विद्यालयदेखि नै फुटबल खेलाडी जन्माउन एन्फाले प्रशिक्षण खेलसमेत खेलाउँदै आएको कार्कीले बताए। तत्कालीन हवाइफिल्डको हवाई मैदानको नाममा रहेको १६ बिघामध्ये २ बिघा जमिनमा निर्माणको अन्तिम चरणमा पुगेको रंगशाला कोरोनाका कारण बजेट अभावले चालुवर्ष पूर्णता पाउन नसकेको हो। अब १ करोड बजेट भए थप संरचना निर्माण गरेर भौतिक पूर्वाधार पूरा हुनेछ। यसबाट उदयपुरको आकर्षण र सहरको सूचकको रूपमा थरुहट–उदयपुर रंगशालालालाई चिनाउन सकिने प्रवक्ता राईले बताए।  

२०६८ सालदेखि सुरु ‘उदयपुर गोल्डकप’का संस्थापकसमेत रहेका राईले सुरुमा विद्यालयको चौरी मागेर प्रतियोगिता गर्नुपरेको अनुभव रंगशाला बनेपछि अन्त्य हुने भन्दै खुसी व्यक्त गरे  आवश्यकता नै विकास जन्माउने तथ्य रहेको भन्दै राईले २ वर्ष विद्यालयको मैदानमा गोल्डकप खेलाएको आयोजकले पछिल्लो ३ वर्षदेखि रंगशालामा गराउँदै आएको छ। सुरुमा रंगशाला बनाउन जमिन छुट्याएको विरोधमा विपक्षीहरूले सर्वोच्च अदालत धाउन बाध्य बनाए पनि अदालतले आफ्नो पक्षमा फैसला गरेपछि रंगशाला बनाउने बाटो खुलेको उनको भनाइ छ।

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले रंगशाला निर्माणपछि उजाडिँदै गएको गाईघाटको नयाँ पालुवा फेरिने प्रतिक्रिया दिए। यसले उदयपुरको खेलकुद, पर्यटन, उद्योग र व्यापारलाई बढाउने उनको विश्वास छ। सभ्य, सन्दर र व्यवस्थित सहर बनाउन खेलकुद अनिवार्य भएको र त्यसका लागि रंगशाला नभई नहुने स्थानीयको भनाइ छ। ‘थरुहट–उदयपुर रंगशाला’ खेल मैदान मात्र नभएर नगरको शान र इज्जत पनि हो,’ मेयर चौधरीले भने, ‘त्रियुगा नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ। मेरो कार्यकालमा सुरु भएको रंगशाला आउँदो वर्षभित्र पूरा गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी जन्माउने धोको पूरा गर्छु।’  

खेलकुदमार्फत युवाशक्तिलाई लागुपदार्थ दुव्र्यसनबाट बचाउन, अनुशासित र गतिशील बनाउन नगरपालिकाले वर्षेनी खेलकदुका गतिविधिमा जोड दिँदै आएको मेयर चौधरीले बताए। त्रियुगालाई खेलकुदमैत्री र युवामैत्री नगरपालिका बनाउने लक्ष्य अनुसार रंगशाला बनाइएको र यो प्रदेश १ कै नमुना योजना भएको चौधरीको दाबी छ।

प्रकाशित: १८ चैत्र २०७७ ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App