पोखराका मुख्यसहित भित्री सडकमा बाह्रैमास खाडल पर्थे। वर्षायाममा खाडलले झन् बढेमानको आकार लिँदा दुर्घटना हुने गरेको थियो। वर्षामा पानीको भेलले खोतल्दा मूल सडकमा खाल्डैखाल्डा देखिन्थे। सडकमा खाल्डैखाल्डा परेको भन्दै पोखरा महानगरपालिकाको आलोचना पनि निकैै हुने गरेको थियो।
मुलुककै मुख्य पर्यटकीय सहरभित्रका सडक गतिलो नभएको भन्दै महानगरले आलोचना खेपेको थियो नै, मर्मतसम्भार नियमित गर्नुपर्दा महानगर आफैं पनि दिक्क भइसकेको थियो। छियाछिया भएको सडक टालटुलमै बर्सेनि ठूलो रकम खर्चिनुपर्दा महानगरलाई नै हैरानी भएको थियो। सडकलाई समथर रूपमा चिल्लो बनाएर आलोचनाबाट बाहिरिने निहुँ महानगरले खोजिरहेको थियो।
त्यही क्रममा ‘अस्फाल्ट कंक्रिट’बाट सडक कालोपत्रे गर्ने जुक्ति महानगरले निकाल्यो। अस्फाल्ट कंक्रिट आफैंमा बिटुमिनसँग मिसिएको कंक्रिट हो, जसलाई उच्च गुणस्तर र ठूलो आकारमा उत्पादन गरेर सडक कालोपत्रे गर्न प्रयोग गरिन्छ। त्यही अस्फाल्ट कंक्रिटको प्रयोग गर्न थालेपछि अहिले पोखरा सहरभित्रका मुख्य सडक चिल्ला र सजिला भएका छन्। केही महिनाअघिसम्म खाडलैखाडल रहेका ती सडक अहिले पुरिएका छन्। पानी पर्दा कुनबेला खाडलमा परिने हो भनेर डराउने सवारीचालकलाई अहिले सवारी गुडाउन सहज भएको छ।
‘अस्फाल्ट कंक्रिट’ आफैंमा बिटुमिनसँग मिसिएको कंक्रिट हो, जसलाई उच्च गुणस्तर र ठूलो आकारमा उत्पादन गरेर सडक कालोपत्रे गर्न प्रयोग गरिन्छ। त्यही कंक्रिट प्रयोग गर्न थालेपछि अहिले पोखरा सहरका मुख्य सडक चिल्ला र सजिला भएका छन्।
महानगरका इन्जिनियर राजु रेग्मी भन्छन्, ‘महानगरभित्रका सडक नियमित मर्मतसम्भार गर्दा हामी हैरान भएका थियौं। खर्च उत्तिकै बढी, अनि नियमित जसो मर्मतसम्भार पनि गरिरहनुपर्ने। त्यही, हैरानीबाट मुक्त हुन खोज्दै अस्फाल्ट कंक्रिटबाट सडक कालोपत्रे गर्न थालिएको थियो। अहिले सडकमा सवारी चलाउँदा फरक अनुभूति हुने गरेको छ।’
सडकमा परेका खाडल बेलैमा नपुरिँदा र पुरिएको अवस्थामा पनि टिकाउ नभएपछिको हैरानीबाट मुक्त हुन अस्फाल्ट कंक्रिटबाट सडक कालोपत्रे गर्न थालिएको उनले बताए। ‘पोखराका सबै सडक नियमित मर्मतसम्भारको पर्खाइमा थिए। बर्सेनि कालोपत्रे गर्नुपर्दा खर्च पनि उत्तिकै बढी हुने गरेको थियो,’ उनले भने, ‘बेलैमा मर्मत नहुँदा क्षति पनि बढ्दै गएको थियो। त्यही भएर केही बढी रकम खर्चेर भए पनि लामो समय टिकाउ हुनेगरी सडक कालोपत्रे गर्न खोज्दा अस्फाल्ट कंक्रिट प्रयोग गरिएको हो।’
रेग्मीका अनुसार अस्फाल्ट कंक्रिटबाट सडक कालोपत्रे गर्दा बर्सेनि खाडल पुनुपर्ने झन्झटबाट केही हदसम्म मुक्त भइनेछ। पोखरामा बढी वर्षा हुने भएकाले पनि यहाँको सडक टिकाउ नहुने अवस्थामा अहिले अस्फाल्ट कंक्रिटबाट कालोपत्रे गर्दा टिकाउ हुने रेग्मीको अनुमान छ। ‘हामीले विशेष परीक्षण गरेर अस्फाल्ट कंक्रिट प्रयोग गरेका हौं। अब बर्सेनि सडक मर्मत र खाडल पुनुपर्ने झन्झटबाट केही हदसम्म मुक्त भइनेछ,’ रेग्मीले भने, ‘सडकको आयु नै थपिने भएकाले खर्च पनि कम हुनेछ। सुरुमा लागत बढी देखिए पनि दीर्घकालीन सस्तो पर्छ।’ उनका अनुसार यसअघि पोखरामा सडक कालोपत्रे गर्दा प्रिमिक्सि कार्पेटिङबाट गरिन्थ्यो। तर अब भने अस्फाल्ट कंक्रिटबाट कालोपत्रे गर्न थालिएको उनले बताए।
‘अस्फाल्ट कंक्रिटबाट कालोपत्रे गर्दा सानो आकारको बजेटले हुँदैन, १०/१५ लाख रूपैयाँको बजेटले हुँदैन,’ उनले भने, ‘ठूलो आकारको बजेटमा सडक कालोपत्रे गर्दा मात्र अस्फाल्ट कंक्रिटको प्रयोग राम्रो मानिन्छ। किनकि यो प्रिमिक्स कार्पेटिङभन्दा महँगो हुन्छ।’ रेग्मीका अनुसार पोखरामा अस्फाल्ट कंक्रिटबाट सडक कालोपत्रे गर्न खोज्दा त सुरुमा ठेकेदार पनि तयार भएनन्। उच्च प्रविधि, दक्ष जनशक्ति, पर्याप्त भौतिक साधनयुक्त र गुणस्तर कायम गर्न कटिबद्ध निर्माण कम्पनी छनोट गर्न खोज्दा सबै तयार भएनन्। तर पछि ठूलो प्याकेजमा काम गर्ने तयारी भएपछि निर्माण कम्पनी पनि अघि सरेका थिए। अस्फाल्ट कंक्रिटबाट सडक कालापत्रे गर्ने सामग्री तयार पार्दा प्रविधिसँगै जनशक्ति पनि दक्ष हुनुपर्छ। सडक कालोपत्रे गर्नका लागि चाहिने अस्फाल्ट कंक्रिट तयार पर्दा उच्च प्रविधि अपनाइने उनले बताए।
‘पहिलापहिला सामान्य मिक्सरले मिसाएर कालापत्रे गर्नका लागि सामग्री तयार पारिन्थ्यो तर अस्फाल्ट कंक्रिट तयार पार्दा विशेष हुन्छ, अस्फाल्ट कंक्रिटको कच्चा पदार्थ नै विशेष रूपमा तयार पारिन्छ,’ रेग्मीले भने, ‘सामग्री तयार पार्दा नै प्रविधिमैत्री रूपमा कच्चा पदार्थ मिसावट हुन्छ। यसमा तापक्रम पनि निश्चित हुन्छ। त्यसैले गर्दा एकैपटक धेरै परिणाममा कच्चापदार्थ तयार पारेर काम गर्नुपर्ने हुन्छ।’
उनका अनुसार अहिले गरिएको कालोपत्रेको मोटाइ पाँच सेन्टिमिटर छ। अहिलेको कालोपत्रे ८ देखि १० वर्षसम्म टिकाउ हुने प्राविधिकको अनुमान छ। अहिले पोखरा महानगरले मात्र नभई गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालयले पनि अस्फाल्ट कंक्रिटबाट सडक कालोपत्रे गर्न थालेका छन्। तीनवटै निकायको संयोजनमा पोखरा सहरभित्रका सडकलाई कालोपत्रे गर्न थालिएको छ। ‘तीनवटै निकायले एकै तरिकाबाट सडक कालोपत्रे गर्ने तयारी भएपछि निर्माण कम्पनी पनि अग्रसर भए,’ उनले भने।
पोखरा महानगरले मात्र अहिले सहरभित्रको ९ किलोमिटर सडकमा अस्फाल्ट कंक्रिटबाट कालोपत्रे गर्दै छ। त्यसका लागि महानगरले २० करोड रूपैयाँ अनुमान गरेकामा १७ करोड रूपैयाँमा कालोपत्रे भइरहेको छ। तीनवटै निकायले अहिले पोखराभित्रको २९ किलोमिटर दूरीमा अस्फाल्ट कंक्रिटबाट कालापत्रे गर्दै छ। तीनवटै निकायले सडक बाँडफाँट गरेर धमाधम काम गरिरहेका छन्। महानगरको जिम्मामा रहेको सभागृहचोक–बिपीचोक, बिपीचोक–सिद्धार्थचोक र महेन्द्रपुल, महेन्द्रपुल–दीप, महेन्द्रपुल–रानीपौवा हुँदै अमरसिंह चोकसम्म सडक कालोपत्रेको काम गरिरहेको छ। त्यस्तै सडक विभागले जिरो किलोमिटर–पृथ्वीचोक, पृथ्वीचोक–नयाँबजार, तल्लोदीप–महेन्द्रगुफा, बुद्धचोक–रामबजार क्षेत्रमा काम गर्दैछ। पूर्वाधार विकास कार्यालयले मुस्ताङचोक–सहीदचोक–लेकसाइड–हल्लनचोक–जिरो किलोमिटर क्षेत्रमा काम गरिरहेको छ। तीनवटा निकायले काम गरिरहँदा पोखराका सडक रातारात कालोपत्रे भएर चिटिक्क परेका छन्।
पोखरा महानगरपालिकाका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेका अनुसार अहिले सहरभित्र मात्र नभई आसपासका ग्रामीण क्षेत्रका सडक पनि अस्फाल्ट कंक्रिटबाटै कालोपत्रे गर्न थालिएको छ। महानगरको केन्द्रलाई ग्रामीण भेगका वडासम्म जोड्ने सडकलाई पनि अस्फाल्ट कंक्रिटबाटै कालोपत्रे गर्ने तयारी अनुरूप अहिले राखि–मिजुरे १० किलोमिटर र पामे–घाटिछिना ६ किलोमिटर खण्डका लागि पनि टेन्डर परिसकेको छ। ‘बाहिरबाट हेर्दा अस्फाल्ट कंक्रिटबाट कालोपत्रे गर्दा महँगो पर्छ। तर, बर्सेनि खाडल पुर्नुपर्ने र मर्मतसम्भार तथा टालटुल गर्नुपर्ने झन्झट र खर्चबाट मुक्त भइनेछ,’ काफ्लेले भने, ‘औसतमा एक किलोमिटर सडक कालोपत्रे गर्न एक करोड रूपैयाँ खर्च हुन्छ। सडकको चौडाइअनुसार लागत फरक पर्न सक्छ।’ महानगरभित्र २ सय किलोमिटर कालोपत्रे सडक रहेकामा अब विस्तारै सबै खण्डमा पालैपालो अस्फाल्ट कंक्रिटबाटै कालोपत्रे गर्ने योजना रहेको उनले बताए। ‘अहिले टेन्डर आह्वान भएको खण्डमा यही आवभित्र सक्ने हो। बाँकी ग्रामीण भेगका वडा कार्यालय जोड्ने सडकलाई पनि अस्फाल्ट कंक्रिटबाटै कालोपत्रे गर्ने हो,’ उनले भने।
अहिले कालोपत्रे गरिएको खण्डमा पुरानै सतहमा गरिएकाले केही सहज, छिटो र सस्तो पर्न गएको हो। अहिलेको कालोपत्रे पुरानैमाथि थपिएकाले पनि बलियो हुने आँकलन प्राविधिकको छ। किनकि पुरानै सतहमाथि अस्फाल्ट कंक्रिट बिच्छाइएको हो। नत्र नयाँ सडकमा ग्राभेल नै बिच्छाएर कालोपत्रे गर्दा लागत बढी पर्न जाने उनले सुनाए। ‘पर्यटकीय सहरभित्रका सडक खाल्डैखाल्डा परे भनेर हामीले आलोचना खेपेका थियौं। अब त्यहाँबाट मुक्त भइने अपेक्षा छ,’ उनले भने, ‘पोखराका सडकमा अहिले सवारी चलाउँदाको अनुभव पहिलेभन्दा फरक छ।’
अस्फाल्ट कंक्रिटबाट सडक कालोपत्रे गर्ने कामको थालनी अमेरिकाबाट सुरु भएको थियो। तर नेपालमा यो तरिकाबाट सडक कालोपत्रे गर्न ढिला सुरु भएको हो। ‘अस्फाल्ट कंक्रिटबाट कालोपत्रे गर्ने काम नेपालका लागि नयाँ अभ्यास हो। विकसित मुलुकले पहिल्यै यही तरिकाबाट सडक कालोपत्रे गर्दथे,’ अर्का इन्जिनियर रेग्मी भन्छन्, ‘हामीलाई नयाँ लागेको हो। तर नयाँ होइन, हामीसँग अस्फाल्ट कंक्रिट उत्पादन गर्ने प्लान्ट नै नभएर हो। अब सबैतिर यो तरिकाबाट सडक कालोपत्रे गर्दा राम्रो र टिकाउ हुनसक्छ।’
पूर्वाधार विकास कार्यालयको जिम्मामा अहिले ५.१ किलोमिटर सडक अस्फाल्ट कंक्रिटबाट कालोपत्रे गर्दै छ। कार्यालयका सूचना अधिकारी इन्जिनियर गुरुदत्त अधिकारीका अनुसार ९ करोड ६७ लाख रूपैयाँ लागतमा पूर्वाधार विकास कार्यालयको जिम्माको सडक कालोपत्रे भइरहेको छ। ‘अस्फाल्ट कंक्रिटबाट सडक कालोपत्रे गर्दा कम्तीमा ६/७ वर्ष टिकाउ हुने हाम्रो अनुमान छ। जहाँ पायो त्यहाँ नखन्ने, निर्माणका गह्रौं सामग्री सडकमा नझार्ने र खनखोरस नगर्ने हो भने बलियो हुन्छ,’ अधिकारीले भने, ‘प्रिमिक्स कार्पेटिङ कालोपत्रे उत्तिसारो टिकाउ हुँदैन। वर्षाको भेलले पनि प्रिमिक्स कार्पेटिङ खोतल्न सक्छ। तर अस्फाल्ट कंक्रिटलाई भेलले खोल्न सक्दैन।’
हरेक वर्ष सडकमा खाडल पर्ने र टालटुल गर्दाको झन्झट केही कम हुने अपेक्षा रहेको उनले बताए। ‘व्यवस्थित तरिकाले कंक्रिट तयार पारिन्छ र त्यही कंक्रिटबाट सडक कालोपत्रे गरिन्छ। त्यसले गर्दा बलियो पनि हुन्छ,’ अधिकारीले भने, ‘अब सडक कालोपत्रे गर्दा अस्फाल्ट कंक्रिटको प्रयोग गर्दा गुणस्तर बढ्न सक्छ र टिकाउ पनि हुन्छ। सुरुमा खर्चिलो देखिए पनि यो टिकाउ हुँने भएकाले दीर्घकालीन सस्तो पर्न जान्छ।’
प्रकाशित: ११ चैत्र २०७७ ०२:३३ बुधबार