११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

टाइगर प्यालेस रिसोर्टद्वारा बैंक कर्जा दुरूपयोग

रूपन्देहीको कोटिहवामा सञ्चालित टाइगर प्यालेस रिसोर्टले बैंक कर्जा दुरूपयोग गरेको सोही रिसोर्टमा कार्यरत एक कर्मचारीले आरोप लगाएका छन्।  

प्राइम कमर्सियल बैंकले लगानी गरेको १३ करोड रूपैयाँभन्दा बढी रकम रिसोर्टले दुरूपयोग गरेको भन्दै सन्तोष तमुले नेपाल राष्ट्र बैंकमा उजुरी दिएको बताए। रिसोर्टमा नेपाल इन्भेस्टमेन्ट, सिभिल र सानिमा बैंकले पनि लगानी गरेका छन्। ‘रिसोर्टका लागि बैंकबाट लिएको कर्जा एसएमएसके म्यानेजमेन्टले क्यासिनोमा लगानी गरेको पाइएपछि अनुसन्धान गरी कारबाही गर्न राष्ट्र बैंकमा उजुरी दिएको हुँ,’ बिहीबार साँझ उनले नागरिकसँग भने।  

सिल्भर हेरिटेजले रिसोर्ट र एसएमएसके क्यासिनो सञ्चालन गरिरहेको छ। तमुले आफू सोही रिसोर्टमा ट्रान्सपोर्ट शाखामा काम गर्ने गरेको बताए। रिसोर्टले बैंकबाट साढे एक अर्ब रूपैयाँ कर्जा लिएको छ भने थप एक अर्ब रूपौयँ लिने तयारी गरेको छ।  

कर्जा लिएको रकममध्ये केही रिसोर्टमा र केही क्यासिनोमा लगानी भएपछि कर्मचारीले विरोध गरेका हुन्। राष्ट्र बैंकले भने उक्त उजुरीबारे अहिलेसम्म केही बोलेको छैन। निर्माण कार्य सुरु हुने बेलादेखि नै उक्त रिसोर्टमा विभिन्नखाले विवाद देखिँदै आएका छन्। तमुले कर्जा दुरूपयोगबारे राष्ट्र बैंकले चाँडो अनुसन्धान गर्नुपर्ने माग गरेका छन्। बैंकबाट लिएको कर्जा दुरूपयोग भएको भन्दै राष्ट्र बैंकमा परेको उजुरीबारे रिसोर्टमा सम्पर्क गर्दा धेरै कर्मचारी बोल्न नमिल्ने भन्दै पन्छिए। कानुन अनुसार एउटा शीर्षकमा लिएको कर्जा अर्कोमा प्रयोग गर्न मिल्दैन।

प्रकाशित: ६ चैत्र २०७७ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App