१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मधेस-पहाड पर्यटनः थलिएको पर्यटनलाई लयमा फर्काउन सकस

पहिला भरिभराउ हुने प्रदेश २ को अस्थायी राजधानीमा अवस्थित प्रशिद्ध धार्मिकस्थल जानकी मन्दिर । तस्बिर:  मिथिलेश/नागरिक

कोरोना महामारीअघि विश्वप्रसिद्ध फोबर्स म्यागजिनले सार्वजनिक गरेको १० देशको सूचीमा नेपाल पहिलो स्थानमा थियो। अहिले महामारीको प्रभाव कम हुँदै गए पनि मुलुकको पर्यटन अझै लयमा फर्कन सकेको छैन।

धार्मिक स्थलमा धनी प्रदेश २ का मुख्य पर्यटक भारतीय हुन्। अधिकांश भारतीय सडक मार्ग भएर आउँछन्। करिब एक वर्षदेखि उनीहरू पारि नै रोकिएका छन्। नेपाल–भारत सीमामा आवागमन सहज छैन, जसको मार यहाँका पर्यटन क्षेत्रले खेप्नुपरेको छ।  

प्रदेश २ सरकारले तयार पारेको घुम्नैपर्ने प्रमुख धार्मिक तथा सांस्कृतिक स्थलको सूचीमा पहिलो नम्बरमा जानकी मन्दिर छ। सरकारले जानकी मन्दिरलाई यो प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको रूपमा प्रवर्धन गरेको छ। जानकी मन्दिर विश्वभरका हिन्दुहरूको आस्था केन्द्र हो। यो मन्दिर प्रदेशकै बढी पर्यटक आउने ठाउँ हो।

सन् १९११ मा जानकी मन्दिर निर्माण गरिए पनि मध्यभारत लोहागढका सन्त शुरकिशोर दासले १५औं शताब्दीमा जनकपुरधामको खोज गरी मन्दिरको जग बसाएको भनाइ छ।  

धनुषामै अर्को धार्मिकस्थल धनुष मन्दिर छ। त्रेता युगमा भगवान रामले सीतासँग बिहे गर्न शिव धनुष उचालेर ताँदो चढाउन खोज्दा तीन टुक्रा भएर भाँचिएको थियो। एक टुक्रा आकाशमा, एक टुक्रा पातालमा र एक टुक्रा पृथ्वीमा झरेको वाल्मिकी रामायणमा उल्लेख छ। पृथ्वीमा झरेको धनुषको टुक्रा झरेको स्थल धनुषाधाम भएको लोकविश्वास छ।  

त्यहाँ नेपाल र भारतका विभिन्न स्थानबाट दर्शनार्थी पुग्छन्। धनुषाधाम क्षेत्रमा धनुष मन्दिरबाहेक धनुषाधाम वन, धनुषाधाम वनभित्रै रहेको बाणगंगा नदी जस्ता पर्यटकीय स्थल छन्।

महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिरले प्रदेशको पर्यटकीय महत्व बढाउन विशिष्ट भूमिका खेल्छ।  

प्रदेश २ को अर्को पर्यटकीय स्थल हो– सलहेश फूलबारी। यो स्थान लोकनायक सलहेश र वर्षको एक दिनमात्रै हारमको रुखमा फुल्ने विशेष प्रजातिको सुनाखरी फूलका कारण प्रख्यात छ। सलहेश फूलबारीको मध्यभागमा रहेको हारम नाउँको रुखमा प्रत्येक नयाँ वर्षको दिन सेतो रंगको माला आकारको फूल एक दिनका लागि मात्र फूल्ने गर्छ।

अचम्म के छ भने नयाँ वर्षको पहिलो दिन फूल्ने उक्त फूल सोही दिन बेलुकीपख ओइलाएर जान्छ। उक्त फूल हेर्न प्रत्येक वर्ष वैशाख १ गते त्यहाँ ठूलै मेला लाग्छ। हारमको बोटमा छैठौं शताब्दीदेखि सो फूल फुल्दै आएको विश्वास गरिन्छ।

हारमको बोटमुनि लोकदेवता सलहेश तथा मालिनीको गहबर छ। गहबरमा सलहेश र मालिनीको भव्य मूर्ति छ।  

मन्दिरको पछाडि बालीगंगा नदी छ। यहाँ गरेको भाकल पूरा हुने जनविश्वास छ। युवा–युवतीहरू सो स्थानलाई प्रेमको प्रतीकको रूपमा लिन्छन्। जसले सो फूललाई साक्षी राखेर बिहे गर्छन् उनीहरूको दाम्पत्य जीवन सुखमय हुन्छ भन्ने मान्यता छ।

पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका–५ को पारसनाथ मन्दिर यस प्रदेशको अर्को आकर्षक धार्मिक केन्द्र हो। पर्सा जिल्लाको नामकरण यसै मन्दिरको नामबाट गरिएको विश्वास छ।  

बारा जिल्लाको सिम्रौनगढ ऐतिहासिक पृष्ठभूमि बोकेको सांस्कृतिक सम्पदा हो। मिथिलाको उत्कर्षदेखि अवसानसम्म १२ वटा दुर्गहरूको माझमा रहेकाले यस क्षेत्रलाई बारागढी भनिन्थ्यो। बारागढीबाटै बारा जिल्लाको नामकरण गरिएको मानिन्छ।

बाराको १२ दुर्गमध्ये सिम्रौनगढ एक हो। मिथिला गणराज्यको यो क्षेत्रमा ११औं शताब्दीमा डोय राजाहरूको आगमनपछि सिम्रौनगढ राजधानी बनेको थियो।

बारा जिल्लाको गढीमाई नगरपालिका–१ मा रहेको गढीमाई मन्दिर विश्वभरका हिन्दु श्रद्धालुको गन्तव्य हो। गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा मंसिर शुक्ल सप्तमीदेखि मेला लाग्छ। यहाँ नेपाल, भारतसहित अन्य देशबाट समेत लाखौं श्रद्धालु आउँछन्। यस मन्दिरमा मेला लाग्दा महिनाभरीमा दुई दिन मात्रै बलि हुन्छ।

सप्तरीको छिन्नमस्ता नगरपालिकामा सखडा भगवतीको नामले प्रख्यात छिन्नमस्ता भगवतीको मन्दिर छ। भाकल पूरा हुने मान्यता रहेकोले यहाँ नेपाल र भारतका श्रद्धालु ठूलो संख्यामा आउँछन्। छिन्नमस्तामा दसैंको बेला धेरै श्रद्धालु आउँछन्।  

छिन्नमस्ता भगवती मन्दिरको इतिहास सिम्रौनगढको इतिहाससँग जोडिएको छ। किम्बदन्ती अनुसार सन् १०९७ मा मुस्लिम शासकले आक्रमण गर्दा कर्नाटकका कर्नाटवंशी राजा नान्यदेव ज्यान बचाएर पाटलीपुत्र (पटना) हुँदै मिथिला आइपुगेर सिम्रौनगढ (बारा)मा राजधानी कायम गरेका थिए।

नान्यदेव वंशको पाँचौं पुस्तामा शक्रसिंह देव राजा भए। शक्रसिंह आफ्नो नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी पुगे। त्यसबेला जंगलले ढाकिएको यस स्थानमा जंगल सफा गर्दा भेटिएको भगवतीको प्रतिमालाई आफ्नो कुलदेवीको रूपमा स्थापना गरी आफ्नै नामबाट देवीको नाउँ शक्रेश्वरी राखेको मान्यता छ।

सखडा भगवतीको मूर्तिलाई सूक्ष्म रूपले हेर्दा तीनवटा टुक्रा मिलाए गरिए जस्तो देखिन्छ। सन् १३२८ मा गयासुद्दिन तुगलकले तिरहुतमाथि आक्रमण गरेका थिए। जसको फलस्वरूप सिम्रौनगढ ध्वस्त भयो।

सखडा भगवतीको मूर्ति पनि त्यही आक्रमणमा फुटेको हुन सक्ने इतिहासकार बताउँछन्। सिम्रौगढका अन्य मूर्तिहरू पनि फुटेकै अवस्थामा छन्। छिन्नमस्ता भगवतीको मन्दिर मुस्लिम समुदायको सिन आस्थाको केन्द्र हो।

कोरोना महामारीका कारण चैत ११ बाट सुरु भएको लकडाउन र सीमा बन्दका कारण प्रदेश २ का यी धार्मिक एवं सांस्कृतिक केन्द्रहरू ठप्प मात्र भएनन्, प्रदेश १ का पर्यटकीय गन्तव्यसमेत मुर्झाए।  

अहिले लकडाउन छैन। यातायात, होटल, रेस्टुरेन्ट खुलिसकेका छन्। आन्तरिक पर्यटकको चहलपहल हुन थालेको छ। तर यस प्रदेशको पर्यटन व्यवसाय अझै लयमा फर्कन संघर्ष गर्दैछ।  

सीमा पूर्ण रूपमा खुलिनसकेकाले भारतीयहरू सहज रूपमा आउन सकेका छैनन्। नेपाल पर्यटन बोर्डको प्रदेश १ का आन्तरिक पर्यटन पुनरोत्थान समितिका संयोजक भविषकुमार श्रेष्ठ भन्छन्, ‘बोर्डर पूर्ण रूपमा खुलेको छैन।  

हाम्रो पर्यटनको मेरुदण्ड भनेका भारतीय नै हुन्। धार्मिक, सांस्कृतिक, शैक्षिक स्वास्थ्य पर्यटक जे भने पनि भारतीय नै धेरै आउँथे।’

कोरोनाका कारण बोर्डर सिल गरिएपछि विदेशीको आवगमन शून्यमा झर्‍यो। सरकारले गर्ने सेमिनार, गोष्ठी हुन छाडे। एनजिओ, आइएनजिओका कार्यक्रम समेत सीमित भए। जसले यहाँको पर्यटन व्यवसाय धराशयी बन्न पुग्यो। ‘कोरोना साम्य भएपछि व्यवसायी जुर्मुराएका छन्, पाहुना छैनन्,’ संयोजक श्रेष्ठले भने, ‘व्यवसायमा घाटा बढ्दै गएको छ।’

खर्च गर्ने विदेशी पर्यटक हुन्। उनीहरू नआउँदासम्म आन्तरिकको भरमा पूर्वी पहाडका पर्यटन व्यवसाय धान्नुपर्ने बाध्यता रहेको उनले सुनाए।  

प्रदेश १ को प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने भेडेटारस्थित होटेल एसोसिएसन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली आन्तरिक पर्यटकको चहलपहल सुरु भए पनि पर्यटन व्यवसाय लयमा फर्कन अझै संघर्षरत रहेको बताउँछन्। ‘आन्तरिक पर्यटकको चहलपहल बढेको छ, तर पूरै लयमा आइसकेको छैन,’ उनले भने, ‘एक वर्ष लकडाउनमा परेर बन्द नै भयो। अहिले शून्यबाट सुरु गर्दै अघि बढिररहेका छौंं।  

भेडेटार आउनेमा भारतीय उल्लेख्य हुन्थे। पोहोर चैतयता भारतीय भेडेटारमा देखिएका छैनन्। अहिले शुक्रबार र शनिबार यहाँका होटल आन्तरिक पाहुनाले भरिन्छ। पिकनिक गर्नेहरू डाँडापाखातिर आउँछन्। ‘भारतीय पाहुना अझै आउन सकेका छैनन्,’ रुम्दानीले भने, ‘पर्यटन लयमा आउन संघर्ष गर्दैछ।’

अनिश्चितताबीच लगानी  

पर्यटन व्यवसायीले धरान २० कालीमाटीमा सेक्ष एडभेन्चर पार्क निर्माण गरिरहेका छन्। सेक्षकी प्रबन्धक निर्देशक एलिना मगरका अनुसार चैत पहिलो हप्ताभित्रै पहिलो चरणको निर्माण सकेर पार्क उद्घाटन हुनेछ।  

‘पहिलो चरणमा जिप लाइन, स्काई साइकल र ह्याङगिङ ब्रिज सुरु हुन्छ। यसमा हाम्रो पाँच करोड लगानी छ,’ उनले भनिन्। थलिएको पर्यटनलाई उकास्न प्रयत्नरत व्यवसायी स्थानीय तह, प्रदेश सरकार र पर्यटन बोर्डले विशेष राहतको प्याकेजसहित प्रवर्धन कार्यक्रम ल्याउनुपर्ने बताउँछन्।  

होटल एसोसिएसन भेडेटारका अध्यक्ष रुम्दाली पर्यटनमा पुनः लगानी गर्नुपर्ने भएकोले व्यवसायीलाई अनुदान नभए पनि न्यून ब्याज दरमा पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने बताउँछन्। साथै, प्रवद्र्धनात्मक कार्यक्रम र अन्य कार्यक्रमको अनुमति दिनुपर्ने उनको माग छ।  

‘स्थानीय, प्रदेश सरकार र मन्त्रालयहरूले भूमिका खेल्नुपर्छ। सबैले आ–आफ्नो ठाउँको गन्तव्य प्रवर्धन गरेर घुम्न आउने वातावरण बनाउनुपर्छ,’ रुम्दालीले भने, ‘कोभिडको भ्याक्सिन आइसक्यो।  

अब पर्यटनलाई टेवा पुग्ने गरी ठूला कार्यक्रम गर्ने अनुमति पनि दिनुपर्छ।’

प्रदेश १ को आन्तरिक पर्यटन पुनरोत्थान समितिका संयोजक श्रेष्ठ प्रदेशका पर्यटन व्यवसायीलाई नेपाल पर्यटन बोर्ड र मन्त्रालयसँग जोड्ने पुलको काम गरिरहेको बताउँछन्। प्रदेशमा भएका हरेक गतिविधिबारे केन्द्रमा सूचना पठाउने गरेको उनले बताए। ‘यो यो गतिविधि भइरहेको छ भनेर सूचना पठाउँछौं।  

होटल र ट्राभल एजेन्सीको प्याकेज पनि पठाउने काम भइरहेको छ,’ उनले भने, ‘पर्यटकीय गन्तव्यहरूमा प्याकेज टुर बनाउने सरोकारवालालाई भ्रमण गराएका छौं।’ पर्यटकीय गन्तव्यको प्रवर्धन गर्ने उद्देश्यले प्रदेश १, २, बागमती, गण्डकीका व्यवसायीसँग कार्यक्रम पनि भएको उनले बताए।  

‘टुरिजम रिभाइभल’ कमिटी प्रदेश २ संयोजक मनिष झाका अनुसार प्राचीन कालदेखि ज्ञान–विज्ञान, धर्मदर्शन, कला, संस्कृति क्षेत्रमा प्रसिद्धि कमाएको जनकपुरधामलाई आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्न सके प्रदेशको समृद्धिमा टेवा पुग्नेछ।  

यहाँका प्राचीन चित्रकला, शिल्प, मूर्तिकलासहित संस्कृतिलाई धार्मिक पर्यटकीय संग्रहालयको रूपमा विकास गरेर पर्यटक टिकाउन सकिन्छ।  

अहिले नेपालमा पर्यटक रोकिने समय १२.५ दिन छ। तर प्रदेश २ मा २.५ दिन मात्र छ। नेपालमा पर्यटकले प्रतिदिन गर्ने खर्च ४५ डलर छ। प्रदेश २ मा ११ डलर मात्र छ। संयोजक झाले भने, ‘यस प्रदेशमा श्रद्धालु, दर्शनार्थीको भीडलाई पर्यटकमा रूपान्तरण गर्ने रणनीति प्रदेश सरकारका सम्बन्धित मन्त्रालयसँग छैन। त्यसो गर्न सके धार्मिक पर्यटनबाट प्रदेश सरकारले मनग्य आम्दानी बटुल्न सक्छ।

जनकपुरधाम विवाह एवं आदर्श भूमि भएकाले देश/विदेशका जोडी विवाह गर्न आउने गन्तव्यका रूपमा विकसित गर्न सकिने बुद्धिजीवी बताउँछन्। मिथिला पेन्टिङ विश्वबजारमा निकै चर्चामा रहेकाले यसलाई समेत विश्वसामु चिनाउन व्यापक बन्दै गएको कनेक्टिभिटीले योगदान पुर्‍याउँछ।

गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, ज्ञानकुप, अग्निकुण्ड, अरगजा, दशरथसर, गोडधोई, पापमोचनिसर, लक्ष्मणसागर जस्ता ५२ कुटी र ७२ कुण्ड पर्यटकका लागि लोभलाग्दो धार्मिक गन्तव्य बन्न सक्ने स्वच्छता अभियन्ता एवं प्रदेश सभा सदस्य रामअशिष यादव बताउँछन्।

प्रकाशित: ५ चैत्र २०७७ ०३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App