१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

कोभिड पन्छाउँदै लक्ष्य चुम्ने योजनामा उदयपुर सिमेन्ट

सिमेन्ट लिन आएका मालबाहक गाडीहरु लाईनमा । तस्बिरः महेश्वर

विश्व महामारी कोभिडका कारण थलिए पनि सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजले बिस्तारै तङ्ग्रिन थालेको छ। लकडाउनले ५ महिना थलिएको उद्योग भदौदेखि आंशिक सुचारु हुँदै वार्षिक लक्ष्य चुम्ने योजनाका साथ अघि बढेको छ।  

फागुन, चैतदेखि जेठ, असारसम्मको अवधि भौतिक पूर्वाधार निर्माणको मुख्य सिजनकै बेला लागु लकडाउनले गैंडा सिमेन्ट उत्पादक पूर्ण सरकारी स्वामित्वको उद्योगलाई उत्पादन र विक्रीमा ठूलो धक्का लागेको महाप्रबन्धक (जिएम) नवलकिशोर साह बताउँछन्। लकडाउनमा कोभिडको डरले मजदुर कर्मचारी उद्योग छिर्नै नपाउँदा उत्पादन रोकिनुका साथै गोदाममा रहेको स्टक सिमेन्टसमेत बेच्न नपाएर गत आर्थिक वर्ष करोडौं घाटा बेहोर्न बाध्य हुनुपरेको जिएम साहले बताए।  

साउनयता भने सामाजिक सुरक्षा सतर्कता अपनाउदै दूरी कायम गरी उत्पादन र विक्री आंशिक सुरु गरेको उद्योग भदौयता पूर्णरुपमा सञ्चालनमा आएपछि बिस्तारै तङ्ग्रिदै गएको साहले बताए। कोभिडको कहरमा ४–५ महिना लामो अवधि बन्द हुँदा उद्योगका यन्त्र उपकरणमा खिया लागेकाले मर्मत सम्भारमा धेरै खर्च गर्नुपरेको छ। ‘फलामे यन्त्र उपकरण चलाईराख्दा मात्र राम्रो हुन्छ, तर कोरोनाले लामो समयसम्म चल्न पाएन’ जिएम साहले भने ‘त्यसैले सबैमा खिया लागेर मर्मतमा समय र खर्च धेरै गर्नुपर्दा पनि घाटै लाग्यो।’  

दैनिक ८ सय मेट्रिक टन उत्पादन क्षमताको उद्योगले १ लाख ३२ हजार टन अर्थात् २७ लाख ७२ हजार बोरा उत्पादन गर्ने वार्षिक लक्ष्य लिएकोमा कोभिड कहरले ८५ हजार ५ सय टन अर्थात् १७ लाख ९५ हजार ५ सय बोरामा खुम्च्याएको जिएम साहले बताए। लडकडाउन अवधिमा झण्डै ४ सय कर्मचारी मजदुरलाई ५ महिनासम्म काम नलगाई भरणपोषण र विद्युत महसुल अतिक्ति भार परेको साहले बताए।  

साउनभरी मर्मत गर्नुपर्दा उत्पादन नभएको उद्योगमा भदौमा ६ हजार टन, असोजमा ६ हजार र कात्तिकमा ११ हजार टन सिमेन्ट उत्पादन गरेको छ। उत्पादन महाशाखा प्रमुख सञ्जयलाल कर्णका अनुसार मंसिरमा ३ हजार टन उत्पादन भएलगत्तै उपकरण मर्मत गरेर २५ गते रातिदेखि पुनः फाईरिङ गरेर उत्पादन सुचारु भएको छ। कोभिडले थलिएको उद्योगले साउनयता २३ हजार २ सय ५० टन अर्थात् ४ लाख ८८ हजार २ सय ५० बोरा सिमेन्ट उत्पादन गरिसकेको कर्णले बताए।  

नेपालको उत्कृष्ट र एसियाकै गुणस्तरीय प्रमाणित गैंडा सिमेन्टको बजार केही वर्षअघिसम्म अत्याधिक फराकिलो रहेको गैंडालाई निजी सिमेन्ट उद्योगको वृद्धि र व्यापारिक सिन्डिेकट, झन्झटिलो सरकारी संयन्त्रका आदि कारणले उत्पादन र विक्री दुवैमा बेलाबेला अवरोध खेप्नु परेको छ। सरकारको निर्देशन पर्खनु पर्ने कानुनी झन्झटले उद्योगलाई कतिपय झट्ट लिनुपर्ने निर्णय लिन नमिल्ने हुँदा उद्योगलाई समस्या पर्ने गरेको हो।

कोभिडकालभरी ठप्प रहेको सिमेन्टको विक्री पछिल्लो समय सुधारिँदै आएको छ। कोभिड कहरकै बीच साउनदेखि दैनिक सरदर ६ हजार बोराका दरले विक्री हुँदै आएको विक्री विभाग प्रमखु रामबहादुर जिसीले बताए। साउनमा ७८ हजार ४ सय ४९ बोरा बिकेको सिमेन्ट भदौमा ५५ हजार ७ सय २४ बोरामा खुम्चियो भने असोजमा १ लाख १२ हजार ७ सय १६ बोरामा उक्लिएको जिसीले बताए। त्यस्तै कात्तिकमा ८७ हजार ३ सय १८ बोरा बिकेकोमा मंसिरमा १ लाख २८ अजार १ सय ७३ बोरा विक्री भएको उनले बताए। जिसीका अनुसार साउनदेखि मंसिर २५ गते साँझसम्म ४ लाख ६२ हजार ४ सय ३० बोरा सिमेन्ट विक्री भईसकेको छ।  

चालु आर्थिक वर्ष सिमेन्ट विक्रीबाट उद्योगलाई ३४ करोड २७ लाख ९० हजार १ सय १० रुपैयाँ आम्दानी भएको आर्थिक विभाग प्रमुख कमल पौडेलले बताए। उनका अनुसार गत आर्थिक वर्ष १६ लाख ४१ हजार ४७ बोरा बिकेको थियो। जसबाट उद्योगलाई १ अर्ब ९ करोड ५ लाख ९३ हजार ५० रुपैयाँ फाइदा भएको पौडेलले बताए।

प्रकाशित: ४ चैत्र २०७७ ०४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App