६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नमुना समाजको बेइमानीः होटलको नाम र पान नम्बर चोरी

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले पाँच वटा टोललाई नमुना गाउँ निर्माण गर्नका लागि आर्थिक वर्ष २०७६/०७७ मा वीरेन्द्रनगरको नमुना समाजसँग ३ वर्षे कार्यक्रम सम्झौता गर्‍यो। ३ वर्षको अवधिमा नगरपालिकाले १ करोड ५० लाख र नमुना समाजले ५ करोड रूपैयाँ नमुना गाउँ निर्माणमा खर्चिने सम्झौतापत्रमा उल्लेख छ। सम्झौतासँगै पहिलो वर्षका लागि नगरपालिकाले २० लाख रूपैयाँ पेस्की उपलब्ध गरायो।

नमुना समाजले अघिल्लो आर्थिक वर्षको अन्त्यमा नमुना गाउँ निर्माण, भैंसीपालन, होमस्टे, व्यवसायिक कुखुरापालन, करेसावारी व्यवस्थापन, बाख्रापालन, बंगुरपालन, खुद्रा पसल र आलु खेती तालिम सञ्चालन गरेको भन्दै ५१ लाख ५४ हजार ७५० रूपैयाँको बिल नगरपालिकामा पेस गर्‍यो। त्यसैको आधारमा नगरपालिकाले पेस्की फस्र्योट मात्रै गरेन चालु आर्थिक वर्षका लागि थप कार्यक्रम सञ्चालनका लागि स्वीकृति प्रदान गर्‍यो।

नमुना गाउँ कार्यक्रम सञ्चालन भएका वडाका अध्यक्षलाई तालिम दिइएको बारेमा जानकारी छैन्। ७ नम्बर वडाध्यक्ष रतनबहादुर विसी छाप्रेमा नमुना गाउँ कार्यक्रम सञ्चालन गर्ने भनिएपनि अहिलेसम्म कुनै काम नभएको बताउँछन्। ‘अहिलेसम्म वडामा नमुना गाउँ निर्माणको कुनै काम भएको छैन, मेरो वडाका कुनै पनि नागरिकहरू तालिममा सहभागी छैनन्,’ उनले भने, ‘कार्यक्रम भए/नभएको अनुगमन नगरेरै नगरपालिकाले भुक्तानी दिन मिल्छ र ?’

नमुना समाजले नगरपालिकामा बुझाएको खर्च विवरणमा नमुना गाउँ निर्माण कार्यक्रमतर्फ १८ लाख ७७ हजार ४ सय ९० रूपैयाँ खर्च भएको उल्लेख छ। नगरपालिकामा बुझाइएको बिल भर्पाइमा स्टेशनरीमा ५८ हजार ७ सय ९०, खाना, खाजा र कोठा भाडामा ९ लाख ८१ हजार २ सय, यातायाततर्फ ८ लाख र पारिश्रमिकतर्फ ३७ हजार ५ सय खर्च भएको उल्लेख गरिएको छ।

यस्तै नमुना गाउँ सञ्चालन भएका टोलका नागरिकलाई वीरेन्द्रनगर ल्याएर होटलमा भैंसीपालन, होमस्टे, कुखुरापालन, करेसावारी व्यवस्थापन, बाख्रापालन, बंगुरपालन, खुद्रापसल र आलुखेती तालिम दिएको भन्दै नमुना समाजले बिल र भर्पाइ पेस गरेको छ। नमुना समाजले भैंसीपालन तालिमतर्फ ३ लाख ८८ हजार ५ सय १० रूपैयाँ खर्च गरेको प्रतिवेदनमा उल्लेख छ। यस अन्र्तगत व्यानरतर्फ १९ हजार ९ सय, स्टेशनरीतर्फ १९ हजार ७ सय १०, होटलमा खाना, बास र खाजातर्फ १ लाख ९४ हजार ४ सय, सवारी साधन भाडातर्फ १० हजार, कर्मचारी तलवतर्फ ५२ हजार ५ सय र यातायाततर्फ ९२ हजार खर्च भएको उल्लेख छ।

यस्तै कार्यक्रम सञ्चालन भएका टोलका नागरिकलाई प्रदेश राजधानी वीरेन्द्रनगर ल्याएर होमस्टे तालिम दिइएको उल्लेख छ। होमस्टे सञ्चालनका लागि व्यानरतर्फ ३७ हजार २ सय, स्टेशनरीतर्फ १८ हजार २०, होटलको ३ लाख ८० हजार ३ सय २०, सवारी साधन १० हजार, पारिश्रमिक ७५ हजार र यातायात ७८ हजार रूपैयाँ खर्च भएको उल्लेख छ। कुखुरापालन तालिमका लागि व्यानर बनाउन मात्रै ३५ हजार ५ सय रूपैयाँ खर्च भएको देखिन्छ। यस्तै होटलको खाना, खाजा र कोठा भाडातर्फ २ लाख ४९ हजार, पारिश्रमिक ५२ हजार ५ सय, यातायात ६० हजार र सवारी साधन भाडातर्फ १० हजार खर्च भएको बिल र भर्पाइ नमुना समाजले नगरपालिकालाई उपलब्ध गराएको छ।

करेसावारी व्यवस्थापन तालिम पनि वीरेन्द्रनगरकै होटलमा सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ। करेसावारीतर्फ व्यानर र स्टेशनरीतर्फ ४१ हजार ५०, होटल खर्च ३ लाख ६० हजार ७ सय २०, पारिश्रमिक ७५ हजार, यातायाततर्फ १ लाख ८२ हजार र गाडीभाडातर्फ ४० हजार रूपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाख्रापालन र कुखुरापालन तालिम पनि कार्यक्रम सञ्चालन भएका टोलका सहभागीहरूलाई वीरेन्द्रनगरमा ल्याएर दिइएको प्रतिवेदनमा उल्लेख छ।

१० नम्बर वडाध्यक्ष हरिप्रसाद ढकाल एक पटक टोल सरसफाइ गर्ने बाहेक नमुना समाजले गाउँमा कुनै पनि कार्यक्रम नगरेको बताए। ‘अघिल्लो वर्ष एक पटक संस्थाका मान्छे आएर टोल सफा गर्न लगाएको थाहा छ,’ उनले भने, ‘त्यसपछि यहाँ केही पनि कार्यक्रम भएको छैन।’

होटलको नाम र पान नम्बर चोरी

नमुना समाज सुर्खेतले पञ्चपुरी नगरपालिकामा बुझाएको प्रतिवेदनमा नमुना गाउँ निर्माण, भैंसीपालन, होमस्टे, व्यवसायिक कुखुरापालन, करेसावारी व्यवस्थापन, बाख्रापालन, बंगुरपालन, खुद्रा पसल र आलु खेती तालिम वीरेन्द्रनगर–१२ को हरियाली धनिषा होटलमा सञ्चालन गरिएको उल्लेख छ। उक्त होटलको नामबाट २५ लाख ३९ हजार २ सय ६५ रूपैयाँको बिल बनाएर नमुना समाजले पेस्की फस्र्योट र थप भुक्तानीको प्रक्रिया सुरु गरेको छ। तर बिलमा उल्ले भएको ठेगानामा उक्त होटलनै छैन।

आन्तरिक राजस्व कार्यालयका अनुसार नगरपालिकामा पेस गरिएको होटलको नाम र पान नम्बर भेरीगंगा नगरपालिका–१० को झिलमिलेमा रहेको छ। संस्थाका कार्यकारी निर्देशक लालबहादुर जिएमले अर्काको होटलको नाम र पान नम्बरको दुरूपयोग गरेर नगरपालिकामा बिल पेस गरेको पुष्टि भएको छ। नमुना समाजले पञ्चपुरी नगरपालिकामा पेस गरेको हरियाली धनिषा होटलको पान नम्बर ६०६९७३४३४ रहेको छ।  

यो होटल लालसरा भण्डारीको नाममा दर्ता छ। आफ्नो नाम र पान नम्बर प्रयोग गरेर सरकारी कार्यालयबाट भुक्तानी लिएको बारे भण्डारीलाई जानकारी नै छैन। ‘हामीले आजसम्म बिल नै बनाएका छैनौं,’ भण्डारीले भनिन्, ‘कसरी मेरो होटलको नाम र पान नम्बर संस्थाले लियो थाहा छैन।’

प्रकाशित: २५ फाल्गुन २०७७ ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App