२२ कार्तिक २०८१ बिहीबार
image/svg+xml
अर्थ

सेतो मच्छिन्द्रनाथको प्रबलीकरण सुरु

२०७२ सालको भूकम्पले भत्काएको पाँच वर्षपछि सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रबलीकरण सुरु भएको छ। सेतो मच्छिन्द्रनाथ मन्दिर प्रबलीकरणको शिलान्यास आइतबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले गरेका छन्। यो मन्दिर भारत सरकारको ६ करोड २६ लाख रूपैयाँ अनुदानमा प्रबलीकरण हुन लागेको हो।  

सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्घता जनाएको करिब पाँच अर्ब ८० करोड रूपैयाँ (५० मिलियन अमेरिकी डलर) अनुदान अन्तर्गत पुनर्निर्माण हुन लागेका २८ सम्पदामध्ये यो पहिलो परियोजना हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरानै प्रविधि र परम्परागत निर्माण सामग्री प्रयोग गरेर मन्दिर प्रबलीकरण गरिने बताए। ‘भूकम्पबाट क्षतिग्रस्त ४६५ पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ,’ उनले भने।  

भारतीय राजदूत क्वात्राले नेपालका पुरातात्विक सम्पदा दुई देशको सम्बन्धमा आधारशीला भएको उल्लेख गर्दै यी सम्पदा संरक्षणमा गर्न पाउनु भारतका लागि खुसीको कुरा भएको बताए। सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाले विभिन्न सम्पदा संरक्षण तथा पुनर्निर्माणमा सहयोग गरिरहेको बताए। सम्पदा पुनर्निर्माण तथा प्रबलीकरणको डिजाइन तथा पुरातात्विक अनुगमन पुरातत्व विभागले गर्छ। प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले ठूला सम्पदाको कार्यान्वयन गराउँछ। यी सम्पदा नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्ड अनुरूप प्रबलीकरण गरिने छ।  

सबै सम्पदाको पुनर्निर्माण गर्ने क्रममा तिनको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामग्री प्रयोग गरिने जानकारी केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहले बताए। सेतो मच्छिन्द्रनाथको मन्दिर १०औं शताब्दीमा निर्माण गरिएको विश्वास छ। यो मन्दिर सामाजिक, धार्मिक सहिष्णुताका लागि प्रख्यात छ। सेतो मच्छिन्द्रनाथलाई हिन्दू र बौद्घ धर्मावलम्बीले समान आस्थाका साथ पूजा गर्छन्। 

प्रकाशित: १७ फाल्गुन २०७७ ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App