नेपाल सरकारको २ सय पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा धान फल्ने छुमचौर जिउलो पनि परेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो। पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय गन्तव्यको पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने गरी पर्यटन गन्तव्यको छनोट गरिएको हो।
मन्त्रालयले देशभरका २ सय स्थानीय तहमा बढीमा तीन वर्षभित्र योजना पूरा हुने गरी २ सय वटा गन्तव्य छानेको हो। जुम्लाका एक नगरपालिकासहित सातवटा गाउँपालिकामध्ये पातारासी गाउँपालिका–३ को छुमचौर जिउलो पर्यटन गन्तव्यको सूचीमा परेको छ। पर्यटन गन्तव्य सूची छनोट गर्नुका साथै छुमचौर जिउलो र त्यहाँ उत्पादन हुने कालीमार्सी धानको संरक्षण तथा संवद्र्धन गर्ने लक्ष्य राखिएको पर्यटन मन्त्रालयले जनाएको छ।
पर्यटन गन्तव्यका रूपमा छनोट भएको योजना पूरा गर्न गाउँपालिकाले ६० लाख र मन्त्रालयले १ करोड ४० लाख रुपैयाँ लागत साझेदारी गर्नेछन्। २ हजार ८ सय ५० मिटर अग्लो स्थानमा मार्सीधान फल्ने भनेर गिनिज बुकमा रेकर्ड भएको छुमचौर जिउलो पातारासी गाउँपालिकामा पर्छ। २०१९ मा जग्गा दर्ता गरी २०२१ देखि यो धान रोपाइँ सुरु गरिएको स्थानीय बताउँछन्। धान लगाउने समयमा किसान सबै यार्सा टिप्न पाटनमा जाने भएकाले धान लगाउन छाडिएको थियो। त्यो समयमा बालबालिका र बुढाबुढी मात्रै घरमा हुने भएकाले केही समय जिउलो बाँझो नै रह्यो। जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरआसपास रहेको सेरा जिउलोबाट धानको बेर्ना लिएर छुमचौरमा रोपाइँ थालनी भएको इतिहास छ।
धानबालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिँचाइ अभाव, धान रोपाइँ र पाटनमा यार्सा संकलनको सिजन एउटै पर्ने भएकाले बिस्तारै रोपाइँ गर्न छाडिएको स्थानीय ताराबहादुर बोहोरा बताउँछन्। पातारासी–३ का वडाध्यक्ष बिर्खराम बोहरा पछिल्लो समय मार्सी धान रोप्न थालिएको बताउँछन्। उनले भने, ‘अहिले मार्सी धानको जताततै माग छ। मार्सी धानको पहिचान बेग्लै छ। साथै विश्वको उच्च स्थानमा फल्ने भएकाले हौसलापूर्वक खेती गर्न थालिएको छ।’
स्थानीय सरकारले पनि छुमचौर पर्यटकीय गन्तव्य हुन सक्ने भन्दै पटकपटक लगानी गरिरहेको थियो। यहाँको २ सय रोपनी क्षेत्रफल जमिनमा धान रोप्ने गरिएको छ। मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७ अनुसार योजना र ती योजना सञ्चालन हुने स्थानीय तह छनोट गरेको हो। पातारासी गाउँपालिकाले पनि पर्यटन गन्तव्यमा पर्न सक्ने भन्दै छुमचौर जिउला संरक्षण र प्रवद्र्धनका लागि झन्डै ८ करोड रूपैयाँको डिपिआर बनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापा पातारासी गाउँपालिका पर्यटकीय हिसाबमा धनी भएको बताउँछन्। उनले भने, ‘पर्यटनका क्षेत्रमा लगानी बढाउन सकेको खण्डमा यो क्षेत्रको समृद्धि हासिल हुने देखिन्छ। यहाँ प्राकृतिक पर्यटन, धार्मिक पर्यटन र कृषि पर्यटनको सम्भावना निकै छ। पर्यटकीय क्षेत्रको विकासले मात्र यहाँका हरेक विकास सम्भव हुने देखिन्छ।’ छुमचौर जिउलोसम्म मोटरबाटो पुगिसकेको छ।
मार्सी धान क्षेत्रको घेराबार गर्ने, सिँचाइ प्रणाली व्यवस्थापन गर्ने, होमस्टे मोडलमा क्वाटेज बनाउने, जिउलोभित्रै मन्दिर निर्माण गर्नेजस्ता कार्य डिपिआरमा समावेश गरिएको हो। ‘बहुवर्षीय योजना हो। पर्यटन मन्त्रालय र गाउँपालिकाको साझेदारीमा २ करोड रूपैयाँको काम ३ वर्षमा हुन्छ। अपुग रकम संघीय, प्रदेश एवं गाउँपालिकाको समन्वय र सहकार्यमा बहुवर्षीय आयोजना सम्पन्न गर्ने योजना छ,’ बुढथापाले भने। पर्यटन वर्ष २०२० का लागि जुम्लाको डुंडुल चैत्य र सिँजा उपत्यका केन्द्रीय पर्यटन गन्तव्य सूचीमा परेका थिए। चन्दननाथ मन्दिर, पातारासी हिमाललगायत चारवटा पर्यटकीय स्थल प्रदेश पर्यटकीय गन्तव्यको सूचीमा थिए।
प्रकाशित: ९ फाल्गुन २०७७ ००:४२ आइतबार