दशक अघिसम्म पश्चिम नवलपरासीमा ३२ लाख क्विन्टल उखु उत्पादन हुन्थ्यो। जिल्लाका तीनवटा चिनी उद्योगले तीन महिना लगातार उखु क्रसिङ गर्थे। दुई लाख ८८ हजार क्विन्टल हाराहारी चिनी उत्पादन हुन्थ्यो। तर चिनी उद्योगीको लगातारको दादागिरी र सरकारी उदासीनताले अहिले उखु किसानलाई मात्रै होइन चिनी उद्योगलाई पनि धराशयी बनाएको छ।
उद्योगीको दादागिरीबाट आजित किसानले उखु खेती मासेका छन्। भएकाले पनि उद्योगलाई उखु दिनै छाडेका छन। यही कारण यहाँका तीनवटा चिनी मिल सञ्चालन हुन सकिरहेका छैनन्। सुस्तामा रहेको बाग्मती सुगर मिलले मंसिर दोस्रो साता क्रसिङ सुरु गरेको थियो। पर्याप्त उखु नपाएपछि एक साता नहुँदै मिल बन्द गरियो।
क्रसिङको सूचना किसानका घरघरै पुर्याउँदा पनि अधिकांश किसानले भेली उद्योगलाई उखु बेचिदिए।उखु नै नपाएपछि उद्योग नियमित रूपमा चलाउन नपाएको बाग्मती सुगर मिलका महाप्रबन्धक टंकनाथ काफ्लेले बताए। दैनिक १५ हजार क्विन्टल उखु क्रसिङ क्षमताको उद्योगले तीन महिनामा जम्मा दुई लाख ४५ हजार क्विन्टल क्रसिङ गरेको छ। पोहोर यो उद्योगले सात लाख ७० हजार क्विन्टल क्रसिङ गरेको थियो।
‘यसपालि उखु पर्याप्त नपाएपछि उद्योग बन्द गर्दै चलाउँदै गरेका छौं,’ महाप्रबन्धक काफ्लेले भने। उनका अनुसार पूर्ण क्षमतामा उद्योग चलाउन नपाए उत्पादन लागत बढ्छ। नवलपरासीको सुनवलमा लुम्बिनी चिनी कारखाना र प्रतापपुरमा इन्दिरा सुगर मिल छ। यी दुई उद्योग पोहोर चलेनन्।
यी उद्योगले दुई वर्षअघिकै उखुको पैसा किसानलाई दिन बाँकी छ। चिनी मिलले भुक्तानी नदिएर सताएपछि किसानले पनि भएको उखु भेली उद्योगलाई बेचिदिए। इन्दिराले वर्षौंदेखि किसानलाइ प्रताडित गर्दै आएकाले प्रतापपुर क्षेत्रका किसान रुष्ट भएको उखु किसान विश्वबन्धु यादवले बताए। ‘इन्दिराले किसानलाई साह्रै रुवायो।
कहिल्यै समयमा पैसा दिएन। आफ्नै पैसा माग्दा हामीलाई नै धम्की दिइयो, धेरै सह्यौं अब सहँदैनौं,’ यादवले भने।सुनवलको लुम्बिनी चिनी मिलको उधारो कारोबारले पनि किसान वर्षौंदेखि पिडित छन। सरकारले तोकेको मूल्य समेत नदिएर सताएपछि मिल गेट एरियाका किसानले उखु मासेर अन्य बाली लगाए। सुनवलका किसान ज्ञानचन्द्र यादवले वर्षौं भुक्तानी नपाएपछि सुनवलका किसानले उखु मासेर अन्य बाली लगाएको बताए।
‘धेरैले उखु मासिसके भएकाले पनि लुम्बिनीलाई नदिने भनेर भेली उद्योगलाई बेचिदिए,’ यादवले भने। २०७५ सालमा दुई लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गरेको लुम्बिनीले यो वर्ष क्रसिङ गर्छु भन्दा पनि उखु पाएको छैन। मिल गेट एरियाको उखु मारिएपछि नवलपरासीकै प्रतापपुर क्षेत्र र कपिलवस्तुबाट ल्याउने तयारी छ। आफ्नो क्षेत्रमा उखु नपाएपछि उसले प्रतिक्विन्टल ५२५ रूपयाँ नगदमा खरिद गर्ने भनेको छ। तर किसान भने अझै पनि उसलाई उखु दिन राजी छैनन्।
लुम्बिनी चिनी उद्योगका महाप्रबन्धक केशव आचार्यले टाढाबाट ल्याउँदाको ढुवानी खर्च सहित प्रतिक्विन्टल ५२५ रूपैयाँ नगदमा उखु खरिदको तयारी भइरहेको बताए। महाप्रबन्धक आचार्यले उद्योगको स्वामित्व र व्यवस्थापन परिवर्तन भएकाले अब नयाँ योजनाका साथ गति लिने दाबी गरे।
‘गुमेको विश्वास फर्काएर उखु खेती बिस्तारका लागि किसानसँग सहकार्य गर्दैछौं,’ आचार्यले भने। मिलगेट एरियाका किसानलाई पुनः उखु खेतीमा फर्काउन सिड लोन (उन्नत बिउ) कार्यक्रम सुरु गरेको जानकारी दिए। उद्योगले दिएको बिउले उत्पादन दिन थालेपछि बिउ बराबरको परिमाण किसानले उद्योगलाई दिनुपर्छ। यति गरेपछि लोन चुक्ता हुनेछ।
सरकार र चिनी उद्योग दुवैबाट ठगिएपछि किसानले धमाधम उखु खेती मासेका छन्। पोहोर साढे सात हजार हेक्टरमा लगाइएको उखु यो वर्ष घटेर पाँच हजार हेक्टरमा सीमित भएको छ। उखु लगाएकाले पनि भेली बनाउने उद्योगलाई बेचेका छन्। भेली उद्योगले प्रतिक्विन्टल ५२० रूपैयाँ नगदमा उखु खरिद गरिदिएपछि किसान त्यता आकर्षित भएका हुन्।
उखु उत्पादन घट्दै जाँदा त्यसको असर चिनी उत्पादनमा पर्ने निश्चित छ। यस्तै अवस्था रहिरहे ३–४ वर्षमा चिनी उद्योगहरू धराशयी हुने निश्चित छ, जसले २०७२ सालमै आत्मनिर्भर भएको भनिएको चिनीमा फेरि परनिर्भरतातर्फ धकेल्ने छ।
प्रकाशित: २ फाल्गुन २०७७ ०३:०० आइतबार