सुनचाँदी व्यवसायलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले सहयोग गर्ने भएको छ। सुनचाँदी व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने नीतिगत व्यवस्था, पर्याप्त कच्चा पदार्थ आपूर्तिको सुनिश्चितता तथा तालिम एवं अन्तर्राष्ट्रिय गरगहना सम्मेलन लगायत क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता सरकारले जनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव
वैकुण्ठ अर्यालले व्यवसायीले उठाएका नीति निर्माण, कच्चा पदार्थको पर्याप्त आपूर्ति व्यवस्था, तालिम एवं अन्तर्राष्ट्रिय गरगहना सम्मेलन लगायत विषयलाई सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताए।
उनले व्यवसायीको माग अनुरूप सुनको आपूर्तिमा लागू हुँदै आएको कोटा शीघ्र वृद्धि गर्ने र व्यवसायीको मागअनुसार मोफसलका जिल्लाबाट हुने सुनको वितरणलाई नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा थप व्यवस्थित र प्रभावकारी वनाउने प्रतिबद्धता जनाए।
सचिव अर्यालले सुनचाँदी व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीतिगत व्यवस्थाका लागि यसअघि नै मस्यौदा तयार भइसकेकोे उल्लेख गर्दै त्यसलाई शीघ्र कार्यान्वयनमा ल्याउन आफू प्रतिबद्ध रहेको बताए।
सुनचाँदी व्यवसाय प्रवद्र्धनका लागि आवश्यकता अनुसार तालिमको व्यवस्था गर्न, रोजगारीका अवसर बढाउन, सुनका गरगहना निर्यातका लागि आवश्यक सहज वातवारण निर्माण गर्न तथा व्यवसायीका तर्फबाट अगाडि सारिएका अन्य मागलाई सम्बोधन गर्न आफूले सम्बन्धित निकायसँग छलफल र सहकार्य गर्ने प्रतिबद्धता जनाए।
त्यस क्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले उपभोक्ताको लगानीको सुरक्षा, एसेट एप्रिसिएसन, पारदर्शी मूल्य र तौल एवं शुद्ध र गुणस्तरीय सुनचाँदीका गरगहनाको उपलब्धता आफूहरूको पहिलो प्राथमिकतामा रहेको बताए।
उनले सुनचाँदी व्यवसायमा देखिएका समस्याको निराकरण गर्दै व्यवसायलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक पर्ने विषय समेटेर तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना सहितका सुझाव बुझाएका छन्।
प्रकाशित: २२ माघ २०७७ ०६:४० बिहीबार