२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

गाडी बिकेन, ऋणको भार थपिएको थपियै

यात्रु नपाएपछि थन्किए पर्यटक बस

पोखरा–काठमाडौं–पोखरा रुटमा चल्ने पर्यटक बस । फाइल तस्बिरःसन्तोष पोखरेल÷नागरिक

कोरोना भाइरस महामारीले पर्यटन क्षेत्र नथलिएको भए यो बेला पोखरा–काठमाडौं–पोखरा रुटमा दैनिक डेढदर्जन हाराहारीमा पर्यटक बस गुडिरहेका हुन्थे । ती बसका सबैजसो सिट स्वदेशी र विदेशी यात्रुले भरिएका पनि हुन्थे ।

तर, कोरोनाको मारमा परेर यात्रु नपाउँदा महत्वपूर्ण पर्यटकीय गन्तव्य जोड्ने सुविधासम्पन्न ती पर्यटक बस कामविहीन भएर थन्किएका छन् । ६ महिनासम्मको लकडाउन खुकुलो पारेसँगै गत असोज एकदेखि राजधानी काठमाडौंलाई महत्वपूर्ण पर्यटकीय गन्तव्य जोड्नेगरि पर्यटक बस संचालन सुरु भएपनि यात्रु नपाउँदा ती सबै बस अझैसम्म गुड्न पाएका छैनन् ।

व्यवसायीका अनुसार चैतमा लकडाउन गर्नुअघि पोखरा–काठमाडौं–पोखरा रुटमा झन्डै डेढदर्जन संख्यामा पर्यटक बस एकतर्फी रुपमा आउजाउ गर्थे । तर, अहिले यो रुटमा दिनमा तीनवटा बसमात्र गुडेका छन् । त्यस्तै राजधानी काठमाडौंलाई अर्काे पर्यटकीय गन्तव्य चितवनको सौराहा जोड्नेगरि दैनिक एकदर्जन पर्यटक बस चल्ने भएपनि अहिले एउटा मात्र गुडिरहेको छ ।  पोखरालाई चितवन जोड्नेगरि दिनमा तीनवटा पर्यटक बस ओहोरदोहोर गर्ने भएपनि अहिले एउटा मात्र संचालनमा छ । पोखरा–लुम्बिनी पनि तीनवटा बस चल्ने गरेकोमा अहिले एउटा मात्र आउजाउ गर्छ । कुनै दिन त यात्रु नै नभएपछि पोखराबाट लुम्बिनी र चितवन चल्ने एउटै पर्यटक बस पनि गुड्दैन । 

नेपाल एशोसिएसन अफ टुर एण्ड टाभल्स (नाट्टा) गण्डकीका प्रथम उपाध्यक्ष हरीराम अधिकारी भन्छन्, ‘लकडाउन खुकुलो भएसँगै पर्यटक बस गुड्न थालेको चारमहिना पुग्न थाल्यो, तर, हाम्रा गाडी कुनैदिन पूर्ण यात्रु बोकेर गुड्न पाएका छैनन् । यात्रु अभावमा पालैपालो चलाउँदा पनि खर्च धान्न मुस्किल भएको छ ।’  

अधिकारीका अनुसार कम्तिमा ५० प्रतिशत यात्रु भएमा मात्र गाडीको खर्च उठ्छ । तर, अहिले यात्रु अभावमा ३० प्रतिशत सिट मात्र भरिने गरेको उनले बताए । ‘काठमाडौं–पोखरा रुटका गाडीमा आक्कलझुक्कल ६० प्रतिशतसम्म यात्रु हुने गरेपनि सधैं त्यो आकारमा पाएनौं,’ उनले भने, ‘पर्यटक बसका लागि यात्रु नै प्रयाप्त भएनन् । यो बेला आन्तरिक पाहुना मात्र भएकोले उनीहरु घुम्न ननिस्केसम्म अभाव भईरहने अवस्था छ ।’ गाडीमा यात्रु अभाव भएपछि नियमित रुपमा बस सेवा दिईरहेका कम्पनिले अहिले आलोपालो गरेर गाडी गुडाईरहेको उनले बताए । ‘भएजतिका कम्पनिले गुडाउने हो भने ती सबै गाडी रित्तै हुन्छन,’ उनले भने, ‘त्यही भएर पालैपालो चलाएका छौ । तरपनि यात्रु पाएका छैनौ ।’

दसैं–तिहारका बेला र अंग्रेजी नयाँवर्षमा आयोजित सडक महोत्सवका कारणले त्यो बेला पर्यटक बसलाई केही यात्रु पाएपनि अरुबेला अभाव रहेको उपाध्यक्ष अधिकारीले बताए । अधिकारीका अनुसार आन्तरिक यात्रु अहिले बसमा हिड्न नरुचाउनुको अर्काे कारण हवाई सेवा सस्तो भएकोले पनि हो । अहिले काठमाडौं–पोखरा रुटमा हवाई भाडा निकै नै सस्तो छ । बिदाको दिन बाहेक सस्तोमा यात्रुले हवाईजहाजबाट यात्रा गर्न पाउँदा पनि बसमा हिड्न रुचाएनन् । त्यसले गर्दा पनि स्थलमार्गका सवारीलाई यात्रु अभाव भएको हो ।  

त्यसबाहेक पोखरा र आसपासका क्षेत्रका गन्तव्य नखुल्दा पनि प्रयाप्त मात्रामा आन्तरिक पर्यटक घुम्न निस्कन पाएका छैनन् । ती गन्तव्य बल्ल खुल्ने क्रममा छन् । ‘कतिपय गन्तव्यले कोरोनाको पिसिआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट खोज्ने गरेकोले पनि यात्रुहरु घुमफिरमा निस्कन हच्केका हुन्,’ उनले भने, ‘पिसिआरको नेगेटिभ रिपोर्ट खोज्ने प्रावधान पनि हटाउनुपर्छ ।’

कोरोना भाइरसको संक्रमण नहुँदो हो त यो बेला पर्यटकीय गन्तव्यमा प्रयाप्त आन्तरिक पर्यटक भेटिन्थे । आन्तरिक पाहुनाको त्यही भीडमा विदेशी पाहुना पनि थपिँदा पर्यटकबसलाई यात्रु अभाव खासै हुँदैनथ्यो । तर, अहिले भने आन्तरिक पर्यटक पनि कमै संख्यामा घुम्न निस्केका छन् भने विदेशी पाहुना आउने अवस्था नै छैन । त्यसले गर्दा पर्यटक बस रित्तै भएको उनले बताए ।

‘पोखराको पर्यटनमा साथ दिन भारतीय र आन्तरिक यात्रुको आकार बढ्नुपर्छ । सबैतिर निर्धक्क घुम्ने वातावरण बनेन । अझैपनि घुम्न निस्कनका लागि आन्तरिक यात्रुले सहजता देखेनन्,’ अधिकारीले भने, ‘त्यही भएर पनि हाम्रो व्यवसाय उकासिन नसकेको हो ।’ आम्दानी नै नभएपछि कतिपय व्यवसायीले गाडी नै बिक्री गर्ने योजना पनि बनाएका थिए, तर, किन्ने मान्छे पनि नपाएपछि व्यवसायी ऋणको भार थप्दै बसिरहेको अधिकारीले बताए ।

मुख्य पर्यटकीय गन्तव्यलाई दिनहुँ जोड्नेगरि करिब ८० वटा पर्यटक बस गुड्ने गरेपनि अहिले दैनिक मुस्किलले एकदर्जन हाराहारीमा मात्र गुडिरहेको व्यवसायीले बताएका छन् । आम्दानीबिना गाडी गुडाउनुपर्दा सेवा सुचारु राख्ने की नराख्ने भन्नेबारे दोधार भएको व्यवसायीले बताएका छन् ।

 पोखरा–काठमाडांै रुटमा पर्यटक बस सेवा दिइरहेको ब्लु स्काइ ट्राभल्सका संचालक केदारनाथ शर्मा भन्छन, ‘सातामा एकदिन पोखरा–काठमाडौ बस गुडाएर खर्च धन्ने अवस्था नै रहन्न ।’ शर्माका तीनवटा पर्यटक बस छन् । कोरोना संक्रमण सुरु हुनु अघि दिनहुँ तीनवटै बस गुडिरहेका हुन्थे । पोखराबाट काठमाडौं र काठमाडौंबाट पोखरा, चितवन रुटमा उनका बस गुडिरहेका हुन्थे । तर, अहिले सातामा एकदिन पोखरा–काठमाडौं रुटमा ब्लु स्काईको बसको पालो आउँछ ।  

‘सातामा एकपटक पोखराबाट काठमाडौं जाने पालो पर्छ । पहिला दिनदिनै आउजाउ गर्ने गाडी अहिले सातामा एकदिन मात्र गुडिरहेको छ,’ शर्माले भने, ‘यो खालको व्यवसायले हामी धानिने अवस्थामा छैनौ ।’ गाडीको आम्दानीले कर्मचारीको खर्च पनि नथेग्ने शर्माले बताए । ‘गाडी गुडेका मात्र छन, चलेका छैनन्, कमाई केही छैन,’ उनले भने, ‘कमाउनका लागि गाडी चलाएका छैनौ । सेवालाई निरन्तरता मात्र दिएका हौ ।’ हवाईभाडा सस्तो भएकोले पनि अहिले यात्रु घन्टौ लगाएर बसमा यात्रा गर्न छाडेको उनले बताए । ‘सस्तोमा हवाई यात्रा हुन्छ । छोटो समयमा गन्तव्यमा पुग्न पाइने भएपनि बसले यात्रु पाउने अवस्था नै रहँदैन,’ उनले भने । त्यसबाहेक पछिल्लो समयमा निजी सवारीको संख्या पनि बढेको छ । कोरोना संक्रमण देखिनु अघि यात्रुहरु सकेसम्म पर्यटक बसमा यात्रा गर्न रुचाउँथे । तर, अहिले सार्वजनिक सवारीको साटो निजीमा हिडडुल गर्न चाहेका छन् । त्यसले पनि ठुला सवारीलाई यात्रुको खाँचो भएको शर्माले बताए । 

प्रकाशित: २६ पुस २०७७ ११:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App