जारी कोरोना महामारीबाट जनताको जीवनस्तर र विकास निर्माणका काम प्रभावित भए। खासगरी चिनियाँ कम्पनीसँग जोडिएका आयोजनामध्ये भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत दर्जनभन्दा बढी आयोजनाको प्रगतिमा कोरोनाको प्रभाव प्रस्ट देखियो। त्यसो त सरकारले कोरोना महामारीमा पनि विकास निर्माणका काम नरोक्ने नीति लिएको छ।
सोहीअनुसार सडक, पुल, झोलुंगे पुल, खानेपानीका ट्यांकी, सम्पदा पुनर्निर्माण, भूकम्पपछिको पुनर्निर्माण र एकीकृत बस्ती विकासका योजनामा प्रगति भएको सरकारको भनाइ छ। पर्यटनसँग सम्बन्धित राष्ट्रिय गौरवका आयोजनाले उल्लेख्य प्रगति गर्न नसके पनि निजी क्षेत्रको लगानीमा निर्माणाधीन ठूला होटलको भौतिक पूर्वाधार निमार्णको कामले भने निरन्तरता पायो। राजनीतिक उतारचढावका कारण पर्यटनलक्षित ठूला सरकारी आयोजनाको काम अझै पछि धकेलिने सम्भावनाबीच तारे होटल निर्माणको काम भने धमाधम अघि बढिरहेको छ।
महामारीकै कारण मुलुकको पर्यटन क्षेत्रले सबैभन्दा बढी समस्या भोगे पनि पूर्वाधार निर्माणको कामले गति जारी राख्दा पर्यटन क्षेत्रमा आशा पलाएको देखिएको छ।
राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० कोरोनाकै कारण बीचैमा रद्द भए पनि भ्रमण वर्षलाई लक्ष्य गरी निर्माणाधीन दर्जनभन्दा बढी पाँचतारे होटलको काम लकडाउनमा पनि नरोकिएको लगानीकर्ताहरूले जनाएका छन्।
खासगरी असारको पहिलो हप्तादेखि लकडाउन केही खुकुलो भएसँगै होटल निर्माणको कामले गति लिन थालेको हो। लकडाउनअघि निर्माण थालिएका केही होटलको काममा असारसम्म निर्माण सामग्री र प्राविधिक सहितका कामदारको अभाव देखिए पनि लकडाउन खुकुलो र व्यावसायिक हवाई उडान सञ्चालनमा आएसँगै सन्तोषजनक अवस्थामै फर्र्किएको सम्बद्ध व्यवसायीको भनाइ छ।
संसारभरका हरेक १० रोजगारीमध्ये एकजनालाई पर्यटन क्षेत्रले रोजगारी दिने गरेको सयुक्त राष्ट्रसंघीय आँकडा छ। हालको महामारीले नेपालको पर्यटन क्षेत्र १० वर्षपछि धकेलिएको बताइन्छ। नेपालको सन्दर्भमा सबैभन्दा बढी कोरोनाले क्षति पुर्याएको क्षेत्रमध्ये पर्यटन उद्योग एक हो। २० लाख पर्यटक भित्र्याउन सरकारलाई साथ दिन होस्टेमा हैंसे गर्दै आएका होटल व्यवसायीले सञ्चालनमा रहेका होटलको अकुपेन्सी घटेर शून्यमा झरेपछि व्यवसायबाटै पलायन भएका उदाहरणबीच अर्बौं रूपैयाँ लगानीमा निर्माणाधीन होटलको निर्माण कार्यले भने यो क्षेत्र पुनः एक दिन जाग्ने आशा देखाइरहेको छ।
पर्यटन विभागले दिएको जानकारीअनुसार अर्बभन्दा माथि लगानीमा हाल दर्जनभन्दा बढी पाँचतारे होटल निर्माणको चरणमा छन्।
ठूला लगानीमा निर्माणाधीन होटलमा ललितपुरको ग्वार्काेमा द म्यासिफ होटल, काठमाडौंमा होटल क्राउन इम्पेरियल (अर्किड होल्डिङ्स), एमआइटी ग्रुपको सेराटन काठमाडौं, होटल लालतन, होटल मोक्सी, रूपन्देहीमा सिद्धार्थ इन्टरनेसनल, मोरङमा द सेन्चुरियन, झापामा भेगास सिटी, काभ्रेमा ब्लु माउन्टेन, रूपन्देहीमै मार्स हस्पिटालिटी, होटल पवन प्यालेस र बाराही छन्।
यी होटलमध्ये कुनै निर्माणका क्रममा छन् भने केहीको निर्माण सकिएको विभागले जनाएको छ। एकाध होटलले भने नक्सा पास, वातावरणीय मूल्यांकन, स्रोत व्यवस्थापनको काम मात्रै सकेका छन्। झन्डै ४.८१ अर्ब रूपैयाँको लगानीमा निर्माणाधीन द म्यासिफ होटलको काम दु्रत गतिमा भइरहेको लगानीकर्ताले बताएका छन्। होटलका प्रबन्धक बलराम पाठकका अनुसार लकडाउनको सुरुका दिनमा निर्माण कार्यमा समस्या देखिए पनि पछिल्लो समय सन्तोषजनक रूपले काम अघि बढिरहेको छ।
‘लकडाउनको समयमा विदेशबाट ल्याउनुपर्ने निर्माण सामग्री आयातमा समस्या देखिएका कारण केही समय काम सुस्त भएको थियो,’ उनले भने, ‘कतिपय कामदार र प्राविधिकसमेत विदेशबाट झिकाउनुपर्नेमा हवाई सेवा बन्द हुँदा असर पर्यो। अहिलेकै गतिमा काम जारी रहे चाँडै नै निर्माण सकिन्छ।’
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन हुँदा निर्माण क्षेत्रका इँटा र क्रसर उद्योग, ट्रान्सपोर्टलगायत क्षेत्र बन्द भएपछि निर्माणमा समय लाग्नु स्वाभाविक भएको उनको भनाइ छ।
भर्खरै मात्र भारतसँगको हवाई उडान सञ्चालनमा आएकाले तेस्रो मुलुकबाट मगाउनुपर्ने प्राविधिक र निर्माण सामग्री ल्याउन सहज हुँदै गएको उनले बताए।
कोरोनाकै कारण पर्यटन क्षेत्र चलायमान हुन समय लाग्ने भएकाले निर्माण क्षेत्रलाई सँगसँगै लैजानुपर्ने उनको भनाइ छ। उनले भने, ‘कोरोनाले देशभरका निर्माण उद्योग बन्द रहे। त्यसको असर उद्योगीमा मात्र नभएर श्रमिकमा पनि परेको थियो। लकडाउन खुलेपछि निर्माणका गतिविधि पुनः सुरु हुँदा आन्तरिक पर्यटन प्रवद्र्धन र पर्यटन उद्योगमा नयाँ आशा पलाएको छ।’
लैनचौरमा निर्माणाधीन एमआइटी ग्रुपको सेराटन होटलले समेत निर्माणको कामलाई निरन्तरता दिएको जनाएको छ। होटलका प्रबन्धक सुरेश चित्रकारका अनुसार सामाजिक दुरी कायम गर्दै लकडाउनदेखि नै होटल निर्माणको काम यथावत् छ।
सुरुका महिना निर्माण सामग्री, कामदारको व्यवस्थापनलगायत कारण निर्माण कार्य केही ढिला भए पनि काम नै रोकिने गरी कुनै कुराको अभाव नभएको उनको भनाइ छ। ‘लकडाउन नभएको भए १० महिनापहिले नै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य थियो,’ उनले भने, ‘बाह्य देशबाट आयात गर्नुपर्ने सामग्री समयमै ल्याउन नसक्नु, कच्चा पदार्थको सहज उपलब्धता नहुनु र सम्बन्धित पक्ष साइटमा जानसमेत समस्या हुनुले योजना सम्पन्न गर्न थप १० महिना लाग्न सक्छ।’
झन्डै ५ अर्ब रूपैयाँको लगानीमा निर्माणाधीन उक्त होटल २१ तलाको हुनेछ। जसमा जमिनमुनि तीन तला रहने चित्रकारले जानकारी दिए। होटल सन् २०२२ को पहिलो महिनादेखि सञ्चालनमा ल्याउने तयारीसहित निर्माण कार्य धमाधम अघि बढिरहेको उनले बताए।
विश्वकै दोस्रो ठूलो होटल सञ्जाल हिल्टनले महाभूकम्प र नाकाबन्दीमा समेत अनुभव नगरेको अर्काे नयाँ अनुभवसहित कामलाई निरन्तरता दिएको जनाएको छ। हिल्टन वल्र्डवाइड र जगदम्बा हस्पिटालिटी समूहको लगानीमा निर्माणाधीन हिल्टनले निर्माणको कामलाई निरन्तरता दिने प्रयास गर्दैै आएको जनाएको छ।
नक्साल भगवती मन्दिरनजिकै बन्दै गरेको यो होटल पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ। करिब चार अर्ब लगानीको उक्त पाँचतारे होटल दुई तला बेसमेन्टसहित १४ तलाको हुनेछ। निर्माण प्रमुख नितिनकुमार शर्माका अनुसार मिश्रित खालका पर्यटक लक्षित हिल्टनको निर्माणमा दुई सयभन्दा बढी कामदार व्यस्त छन्। निर्माण सुरु हुनै लाग्दा २०७२ को भूकम्पपछि भवनको डिजाइन पुनः संशोधन गरेर अघि बढेको होटलले करिब एक हजार आसपासलाई रोजगारी उपलब्ध गराउने लक्ष्य राखेको छ। विविध कारणले निर्माण कार्य लम्बिँदा बैंकको ब्याज, तलब लगायत कारण होटलको लागत बढ्दै गएको शर्माको भनाइ छ। होटलले २०२० को अप्रिलसम्म निर्माण सक्ने लक्ष्य लिए पनि अर्काे वर्षसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
भर्जिनिया मुख्यालय रहेको हिल्टन वल्र्डवाइडसँग अमेरिका, युरोप, मध्यपूर्वसहित एक सय देशमा होटल एवं रिसोर्ट रहेका छन्। विश्वभरि चार हजार आठ सय २० कम्पनीको स्वामित्व रहेको हिल्टन वल्र्डवाइडले नेपाली साझेदारसँग मिलेर काठमाडौंमा पाँचतारे होटल निर्माण गरिहेको हो।
होटल एसोसिएसन अफ नेपाल (हान) का अनुसार नेपालको होटल क्षेत्रमा अहिलको मूल्यांकन अनुसार १० खर्बभन्दा बढीको लगानी रहेको छ। पछिल्लो समय ठूला लगानीका होटल खुल्ने क्रमसँगै प्रदेशमा साना तथा पर्यटकस्तरीय होटल बन्ने क्रमसमेत बढ्दै गएको छ। सरकारी सर्वेक्षणअनुसार २०७६ को पुससम्म नेपालमा तारे होटलको संख्या १ सय ३८ र देशभर बेड संख्या १३ हजार दुई सय थियो।
प्रकाशित: २२ पुस २०७७ ००:४१ बुधबार