१६ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

बाँकेमा उत्पादित खसीको माग उच्च

बाँकेको ढकेरीमा सञ्चालित बाख्रा ब्यवसायिक केन्द्र । तस्बिर : अर्जुन/नागरिक

दसैका लागि बाँकेमा उत्पादित खसीको माग उच्च रुपले बढेको छ। सामाजिक उद्यमी जिल्ला सहकारी संघले सञ्चालन गरेको बाँके बाख्रा ब्यवसायिक केन्द्रमा खसीको माग बढेको हो। उक्त केन्द्रले यसवर्षको दसैलाई लक्षित गरेर २ हजार २ सय वटा खसीको कारोबार गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म १ हजार १ सय १८ वटा खसी बिक्री भइसकेको ब्यवसाय प्रबन्धक नविन साहुले जानकारी दिए।  

‘गत असोज १ गतेदेखि सुरु भएको दसै लक्षित कारोबार अष्टमीसम्म चल्छ, अहिलेसम्म केन्द्रमा खसीको माग बढिरहेको छ,’ उनले नागरिकसँग भने। प्रबन्धक साहुका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ भर केन्द्रले कुल ७ हजार २ सय खसीको कारोबार गर्ने लक्ष्य राखेकोमा साउनदेखि कात्तिक पहिलो सातासम्म भने १ हजार ९ सय ४६ वटा खसीको कारोबार गरिसकेको छ। यसका लागि ३ करोड ९ लाख ४० हजार ८ सय ६१ रुपैयाँ बराबर कारोबार भएको छ। उक्त तथ्यांक हेर्दा साउन र भदौ महिनाको तुलनामा असोज र कात्तिक पहिलो सातासम्म खसीको कारोबार ह्वात्तै बढेको देखिन्छ।  

बाँकेमा उत्पादित खसीलाई ब्यवसायीले काठमाडौंका बजारमा पुर्‍याएर बिक्री गर्छन् ।

केन्द्रमा राखिएका खसीलाई ब्यापारीले काठमाडौंसम्म पुर्‍याएर उपभोक्तालाई बिक्री गर्छन्। ‘किसानले पोसिलो घाँस खुवाएर पालेका कारण यि खसी मासुका लागि एकदमै राम्रो मानिन्छन्, त्यसकारण नेपाली खसी पारखीले हाम्रा खसी बढी मन पराउँछन्,’ प्रबन्धक साहुले भने। बाँकेमा उत्पादित खसीलाई ब्यवसायीले काठमाडौंका बजारमा पुर्‍याएर बिक्री गर्छन्।  

विगत चार वर्षदेखि नियमित रुपमा खसी कारोबार गर्दै आएका ब्यवसायी सत्यम शाहले बाँकेमा उत्पादित खसीको मासुमा गुणस्तर राम्रो भएकाले काठमाडौंको बजारमा माग उच्च रहेको बताए। ‘खसी उत्पादनका लागि बाँके पकेट जिल्लाका रुपमा चिनिन्छ, यहाँका किसानले अर्गानिक र पोसिलो घाँस खुवाएर हुर्काएका हुन्छन्, त्यसकारण काठमाडौंका उपभोक्ताले बाँकेमा उत्पादन भएको खसीलाई एकदमै रुचाउँछन्,’ शाहले भने।  

ऋाफूले खरिद गरेर लगेको खसी काठमाडौंमा ओराल्ने बित्तिकै तत्काल बिक्री भइहाल्ने उनले सुनाए। ‘बाँकेबाट खरिद गरेर लगेको खसी बिक्री गर्न हामीलाई कत्तिपनि समस्या हुदैन, बाँकेको खसीले आफ्नो ‘ब्राण्ड’ बनाइसकेको छ,’ उनले थपे। भारतीय खसीले बजारलाई प्रभावित पार्न खोजेपनि शिक्षित र जानकार उपभोक्ताले नेपाली खसी मन पराउने ब्यवसायी शाह बताउँछन्। उनले भने, ‘भारतीय खसी हेर्दा चिटिक्क परेका हुन्छन्, तर ती खसीको मासुमा गुणस्तर हुदैन, खाँदा स्वाद त्यति आउँदैन।’

ब्यापारीबाट खसीको माग बढेपछि पुर्ति गर्न केन्द्रलाई हम्य–हम्य परिरहेको छ। अचेल दैनिक जसो ट्रकमा लोड गरेर खसी काठमाडौं पुर्‍याउने गरिएको छ। ब्यापारीले खसीको माग गरेपछि केन्द्रले विभिन्न किसान हुँदै सहकारी समूहमार्फत संकलन गरेका खसीलाई बिक्री गर्ने गरेको ब्यवसाय प्रबन्धक साहुले प्रष्ट्याए। केन्द्रले माग अनुसार जिल्लाको राप्तीसोनारी, बैजनाथ, खजुरा र जानकी गाउँपालिकामा रहेका १५ वटा सहकारी समुहबाट खसी खरिद गर्दै आएको छ। उक्त सहकारीमा १२ हजार शेयर सदस्य(किसान) आवद्ध छन्। समूहमा आवद्ध रहेका किसानले नै खसी, बाख्रा पालन गर्छन्।  

‘यिनै किसानको उत्पादनलाई बजारीकरण गर्ने काम संघले गर्दै आएको छ,’ सामाजिक उद्यमी जिल्ला सहकारी संघका अध्यक्ष यामीकुमारी बोहराले भनिन्। ब्यापारीले गरेको मागका आधारमा समूहले केन्द्रलाई खसी उपलब्ध गराउने उनले बताईन्। खसीको कारोबार गर्दा यसअघि ‘कुतुवा’ मा मूल्य तोक्ने गरेपनि संघले बाख्रा ब्यवसायिक केन्द्र सञ्चालनमा ल्याएपछि विगत केही वर्षयता तौलका आधारमा खरिद/बिक्री गर्ने प्रचलन स्थापित गर्न सफल भएको अध्यक्ष बोहरा बताउँछिन्।  

उनका अनुसार केन्द्रले २५ देखि २९ दशमलभ ५ किलो तौलसम्मका जिउँदो खसीलाई सहकारी समूहबाट प्रतिकिलो ५ सय र ३० किलो तौलाभन्दा माथिको खसीलाई प्रतिकिलो ५ सय २० रुपैयाँमा खरिद गर्ने गरेको छ। त्यसरी खरिद गरिएको खसीलाई काठमाडौंका ब्यापारी केन्द्रमै आएर प्रतिकिलो ५ सय २५ देखि ५ सय ३५ रुपैयाँमा खरिद गर्छन्।

प्रकाशित: ५ कार्तिक २०७७ ०८:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App