१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

उठ्नै सकेन लेकसाईड

कोरोना भाइरस संक्रमणबीच असोज १ गतेदेखि सबैखाले सार्वजनिक यातायात खुले। बजार त त्यो भन्दा अगाडी नै खुलेको थियो। तर, बीचबीचको लकडाउनले बजारको खुल्ने र बन्द हुने क्रम चलि नै रहेको थियो। अहिले पोखराको मुख्य बजार महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक क्षेत्रमा बजार पूर्ण रुपमा खुलिसकेको छ।  

तर, पोखराकै अर्काे मुख्य बजार लेकसाइड भने अझै खुल्न सकेको छैन। लेकसाइड पर्यटकीय क्षेत्र हो।  लेकसाइडको बजार पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका भरमा टिकेको थियो। स्थानीय ग्राहकको कम किनमेल हुँदा पनि पर्यटकको भरमा लेकसाइडको ब्यवसाय धाँनिदै आएको थियो। अहिले आन्तरिक र बाह्य कुनैपनि पर्यटक पोखरा आएका छैनन् र तत्काल आउने अवस्था पनि छैन। अन्यत्र जस्तो स्थानीय ग्राहक पनि किनमेलका लागि लेकसाइड कमै झरेका छन्। त्यसैले पर्यटक बिनाको लेकसाइड बजार अझै उठ्न सकेको छैन। दसै‌का कारण अरुतिरको बजारमा चमक छाउँदा पर्यटकीय क्षेत्रको बजार भने सुनसान देखिन्छ।

महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक क्षेत्रमा बजार पूर्ण रुपमा खुलिसक्दा पनि लेकसाइड भने अझै खुल्न सकेको छैन।

यो बेला विदेशी पर्यटकका लागि नेपाल घुमघामको मुख्य सिजन हो। अघिल्ला वर्ष यो बेला विदेशी र आन्तरिक पाहुनाको लेकसाइडमा भीडभाड हुँदा व्यवसाय चम्किन्थ्यो। तर, अहिले भने लेकसाइड सबैतिरबाट सुनसान छ। लेकसाइडमा होटल, रेस्टुरेन्ट र ट्राभलको मात्र ब्यापार छैन। त्यहाँ पदयात्राका लागि आउने पर्यटकलाई चाहिने सामान (ट्रेकिङ इक्विपमेन्ट) को पनि उत्तिकै किनबेच चल्छ। पदयात्रामा जाने सबैजसो पर्यटकले पदयात्राका सामाग्री किन्ने हुँदा ट्रेकिङ इक्विपमेन्टको ब्यापार पनि फस्टाउँदो थियो।  

त्यस्तै घुम्न आएका पाहुनाले किनेर लैजाने सामान (इम्ब्रोइडरी र गार्मेन्ट)को पनि उत्तिकै कारोबार हुन्छ। कोसेलीका रुपमा इम्ब्रोइडरी र गार्मेन्टका सामानको किनबेच चल्दथ्यो। ती बाहेक पाहुनालाई लक्षित गरि खोलिएका किराना र पेय पदार्थका पसल पनि पहिलेको आकारमा खुल्न सकेका छैनन्। केही व्यवसायीले किराना र पेय पदार्थका पसल खुलाएको भएपनि पहिलेको आकारमा व्यापार गर्न सकेका छैनन्। गार्मेन्ट र ट्रेकिङका सामानको किनबेच त झनै ठप्प जस्तै छ।  

पोखराको अन्य बजार (महेन्द्रपुर, चिप्लेढुंगा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक)को व्यवासाय कोरोना महामारीबीच पनि उठिसकेको छ। तर, लेकसाइडमा भने कुनैपनि व्यवसायले गति लिन सकेको छैन। पर्यटकीय क्षेत्र भएकोले लेकसाइडमा सबैखाले सामान नपाउने हुँदा ग्राहकहरु पनि खाद्यान्न सहित लत्ताकपडा (फेन्सी सामान) किन्न त्यहाँ जाँदैनन्। त्यसैले पोखराको अन्यत्रको बजारले गति लिइसक्दा पर्यटकीय क्षेत्रको ब्यापार पनि शुन्यमै रहेको व्यवसाायी बताउँछन्।  

ट्रेकिङ इक्विपमेन्ट सप एशोसिएसन (टेसा) का अध्यक्ष रामचन्द्र गिरीका अनुसार लेकसाइडमा पदयात्रामा जाँदा चाहिने मात्र सामान बेच्ने व्यवसायीको संस्था ७५ छ। ती हरेक व्यवसायीले वर्षमा ५० लाख रुपैयाँ हाराहारीमा पदयात्राका सामान बेच्दै आएका थिए। तर, पर्यटक नहुँदा ती व्यवसायीले अहिले व्यापार गर्न पाएका छैनन्। ‘हाम्रो व्यवसायको मुख्य आधार विदेशी पर्यटक हुन, यो बेला विदेशी पर्यटक आउने कुरै भएन,’ गिरीले भने, ‘पदयात्रामा जाने पर्यटक मात्र हाम्रा ग्राहक थिए। किनकी पदयात्रामा जाँदा पदयात्रीले हाम्रा सामान लिएर जान्थे। अहिले पदयात्राको सम्भावना नै छैन।’ आन्तरिक पर्यटकको हिस्सा करिब २० प्रतिशत मात्र रहने उनले बताए। ‘पदयात्रामा जाने आन्तरिक पर्यटक हत्तपत्ति हाम्रा सामान किन्दैनन्। अन्यत्रै पनि किनेका हुन्छन,’ उनले भने।  

गिरीका अनुसार यो बेला व्यवसायी आर्थिक रुपमा फाइदा नपाएपनि पसल खोल्न बाध्य छन्। किनकी पसलका सामान लामो समय कोठाभित्र थुनिँदा ढुँसी लाग्न थालेको छ। त्यसबाहेक पदयात्रामा जाँदा लैजाने सामान दुई वर्षभित्र प्रयोगमा आइसक्नुपर्छ। व्यवसायीले झन्डै एक वर्षदेखि व्यापार गर्न नपाउँदा ती सामान उपयोगमै नआई नोक्सानी हुने जोखिम रहेको उनले बताए।  

इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन (एगा)का अध्यक्ष शंकर भट्टराई पनि ब्यापार ठप्पै भएको बताउँछन्। एगाले  गार्मेन्ट र इन्ब्रोइडरीका सामानको बिक्री गर्छ। एगामा पनि ७५ वटा पसल छन्। यी एउटै पसलले वर्षमा झन्डै ५० लाख रुपैयाँको कारोबार गर्छन्। यो बेला पसल खुलाउँदा आक्कल झुक्कल स्थानीय ग्राहक पुगेमा सामान बेच्न पाएपनि कारोबार भने ठूलो नभएको उनले बताए।  

स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर गार्मेन्टका सामान व्यवसायीले बेच्छन्। कतिपयले काठमाडौंबाट कच्चा सामान ल्याएर फिटिङ गरेर बेच्दै आएका छन्। पोखरा आएका सबै खाले पर्यटक एगाका सामानका ग्राहक थिए। पर्यटकले ती सामालाई कोसेलीको रुपमा लैजाने गरेका थिए। मठमन्दिर, संस्कृति, सांस्कृतिक स्थान, साहसिक प्रडक्ट, हिमाली श्रृंखलाका तस्बिरलाइ टिसर्ट, ट्राउजर, टोपी, झोलामा सजाएर व्यवासायीले पर्यटकलई बेच्छन्। पछिल्लो समय यस्ता सामानप्रति आन्तरिक पर्यटकको झुकाव बढिरहेको थियो। ‘हाम्रा लक्षित ग्राहक सबैखाले पर्यटक हुन्। स्थानीय ग्राहक पनि हाम्रा लक्षित वर्गमा पर्छन,’ भट्टराइले भने, ‘तर, अहिले पोखराको अन्यतिरको बजार चम्कँदा लेकसाइड भने ठप्प छ।’  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष चीरञ्जीवी पोखरेल पनि अन्यत्रको बजार उठिसक्दा पर्यटकीय क्षेत्र लेकसाइड अझै चलायमान हुन नसकेको बताउँछन्। पोखरा आउने पर्यटकसँग लेकसाइडका सबैखाले व्यापारको सम्बन्ध छ। यो बेला आन्तरिक र बाह्य पर्यटक नआउँदा होटल रेस्टुराँलाई मात्र नभई अरु ब्यापारलाई पनि मार परेको पोखरेलले बताए। ‘पर्यटन जसरी चल्ने हो, त्यसैगरि लेकसाइड पनि चल्दथ्यो। तर, अहिले अहिले लेकसाइड चम्किनै सकेन। अरु बजार खुलिसक्यो, लेकसाइड अझै बन्द छ,’उनले भने।

पोखरेलका अनुभवमा केहीवर्ष अघिसम्म लेकसाइड मात्र किनबेच हुने सामान पोखराको अन्य बजारमा पाइदैनथे। तर, अहिले अन्यत्र बजारमा पनि ती सामान पाउँदा स्थानीय ग्राहक पनि लेकसाइड झर्नुपरेको छैन। ‘केही वर्ष अघिसम्म लेकसाइडमा पाइने सामान महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोडमा किन्न पाइदैनथ्यो। तर, अहिले सबैतिर पाइन्छ। त्यसले गर्दा स्थानीय ग्राहक पनि ती सामान खोज्दै लेकसाइड झर्नुपर्दैन,’ पोखरेलले भने, ‘त्यसले गर्दा पनि अहिले लेकसाइडलाई मार परेको हो।’  

उनका अनुसार यो बेला पसल खुलाएपनि सिमित व्यवसायीले बोहनीसम्म गर्न पाएका छन्। नाफा हुने गरि कमाई गर्नका लागि अहिले नै अवस्था नभएको उनले बताए। ‘पर्यटनमै निर्भर लेकसाइड पाहुना नआएसम्म पहिलेजस्तो चम्किन सक्दैन,’ उनले भने। आन्तरिक पर्यटक आउने हो भने केही राहत हुने भएपनि अहिले आन्तरिक पाहुनाको पनि आगमनको अवस्थामा सुधार हुन नसकेको उनले बताए।

प्रकाशित: २४ आश्विन २०७७ ०९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App