९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

नयाँ मिति टाँस्दै सामान बेच्दै

काठमाडौं उपत्यकामा सामान बिक्रीवितरण गर्दै आएको एक होलसेल पसलले ठूलो मात्रामा म्याद गुज्रिएको खाद्य सामग्री बिक्री गरेको पाइएको छ । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले गरेको बजार अनुगमनका क्रममा कालिमाटीको एएसपी कम्पनी प्रालिले म्याद गुज्रिएको खाद्यान्न सामग्रीमा नयाँमिति टाँसेर सप्लाई गरेको भेटिएको छ ।

अनुगमनका क्रममा ३ करोड १५ लाख रूपैयाँबराबरको म्याद गुज्रिएको खाद्यान्न बरामद भएको छ । बरामद भएको खाद्यान्नमा चामल, तेल, पिठो, घिउ, अचार, दाललगायत छन् । प्रहरीले होलसेल पसल सिल गरेको छ । प्रहरीका अनुसार उक्त कम्पनीले काठमाडौं उपत्यकाभरका खुद्रा खाद्यान्न पसलमा उपभोग्य सामान आपूर्ति गर्दै आएको छ । अनुगमनका क्रममा दुई वर्षअघि नै म्याद सकिएको वस्तु पनि बिक्री गरेको भेटिएको छ । पुरानो उपभोग मिति मेटाएर नयाँ मिति उल्लेख गरी सामान बेच्ने काम भएको भेटिएको हो ।

परिसरका एसपी सोमेन्द्रसिंह राठौरले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने चारजना व्यापारीलाई नियन्त्रणमा लिइएको बताए । उनले भने, ‘यति ठूलो संख्यामा म्याद गुज्रिएको खाद्य सामग्री बिक्रीवितरण हुँदोरहेछ, उपभोक्ताले थाहै नपाउने गरी तिथिमिति परिवर्तन गरेर बेच्नु अपराध हो ।’ उपभोक्ताले थाहै नपाउने गरी पुरानो सामानमा नयाँ स्टिकर टाँसिएको प्रहरीको निष्कर्ष छ । प्रहरीले बरामद गरेका कतिपय सामानको म्याद सन् २०१८ मै गुज्रिएको पाइएको छ । ती सामानमा नयाँ ट्याग र स्टिकर टासेर उपभोक्तालाई झुक्याएको परिसरका एसपी राठौरले बताए ।

प्रहरीले गोदाममा कार्यरत आनन्दकुमार अवस्थी, अनिलकुमार बंका, रस्मिता श्रेष्ठ र विनोद ओझालाई पक्राउ गरेको छ । प्रालिका सञ्चालक प्रविन बंका र किरणदेवी अग्रवाल फरार रहेको प्रहरीले जनाएको छ । प्रालिले १४ सय प्रकारका कच्चा पदार्थमा पुनः नयाँ मिति राखेर बिक्री गर्ने तयारी अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

प्रकाशित: १९ आश्विन २०७७ ०१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App