१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

तीजको मुखैमा सुस्ताउँदो बजार

सामान्य अवस्थामा सातामा ६ दिनमात्र खुल्ने चिप्लेढुंगास्थित बुद्ध विशाल बजार नजिकिएको तीजसँगै शनिबार पनि खुल्ला थियो । केही दिनपछिको तीजलाई लक्षित गर्दै बजार खुलाए पनि शनिबार बुद्ध विशाल बजारभित्रका करिब आधामात्र पसल खुलेका थिए । त्यसबाहेक ग्राहक पनि न्यून मात्रामा बजार पुग्दा चहलपहल देखिँदैनथ्यो ।

बुद्ध विशाल बजारको भवनभित्र दुई सय ४० पसल छन् । अरूबेला शनिबार बन्द हुने यो बजार चाँडबाँडको बेलामा भने सातै दिन खुल्छ । तीज आउनुभन्दा अघिल्लो र तिहार सकिएपछिको शनिबारसम्मको अवधिमा सातैभर यो बजार खुल्छ । नत्र अरूबेला शनिबार बाहेकको दिनमात्र खुल्छ ।  

चाँडबाँड नजिकिएको भन्दै व्यवसायीले बजार त खुलाए, तर, शनिबार किनमेलका लागि पुग्ने ग्राहक पाउन भने व्यवसायीले सकेनन् । बुद्ध विशाल बजार व्यापारिक एसोसिएनका अध्यक्ष केशबबहादुर खत्री भन्छन्, ‘तीज आयो भनेर शनिबार पनि बजार खोलियो, तर, ग्राहक पाउन सकिएन ।’ तीज आउन एक साता पनि बाँकी रहँदा बजार चम्किन नसकेको उनले बताए ।  

अध्यक्ष खत्रीका अनुसार कोरोना संक्रमण बढ्दै जाँदा बजारको चमक पनि हराउन थालेको छ । कोरोनाका कारण गरिएको लकडाउन केही खुकुलो भएपछि यहाँको बजार असारको सुरुताका खुल्दा केही चमक देखिन्थ्यो । बजारमा चहलपहल बढ्दै जाँदा सबैखाले व्यापार पनि उकालो लाग्दै गएको थियो । व्यापारले ५० प्रतिशत नाघिसक्दा व्यवसायी आशाबादी देखिन्थे । तर, पछिल्लो केही दिनदेखि संक्रमण उकालो लाग्दो बजार पनि सुस्ताउन थालेको छ । ‘एक साता अघिसम्म बजारमा निकै नै चहलपहल थियो । व्यापार पनि दैनिक रूपमा उकालो लाग्दै थियो,’ खत्रीले भने, ‘तर, अहिले त निकै नै सुनसान बनिसकेको छ । संक्रमणको त्रासले ग्राहक बजारसम्म आउन सकेनन् ।’

संक्रमण नहुँदो हो त यो बेला तीजका कारण बजारमा खुट्टा राख्नेसम्म ठाउँ नहुने गरेको अनुभव व्यवसायीसँग छ । ‘अरूबेला शनिबार बन्द हुने बजार पनि तीजका कारण यो पटक खुलाइयो । तर, व्यापार भएन,’ उनले भने, ‘यो बेलादेखि सातै दिन खुल्ने बजार तिहार सकिएको एक सातापछि सम्म निरन्तर हुन्थ्यो । तर, यो पटक भने त्यस्तो अवस्था छैन । अब आउने शनिबार नै बजार बन्द हुने अवस्था छ ।’ संक्रमण बढ्दै जाँदा बजारमा एकाएक चहलपहल हराएको उनले बताए । ‘तीजकै कारण व्यापार अझै उकालो लाग्नेमा हामी आशावादी पनि थियौं । तर, अब त निराश बनाएको छ,’ उनले भने । यो बजारमा खासगरि लत्ताकपडा, जुत्ताचप्पल, खेलौना, कस्मेटिक्सका सामानका थोक र खुद्रा कारोबार हुन्छ ।  

पोखरा ट्रेडमल र बुद्ध विशाल बजारभित्र व्यापार गरिरहेका सुविन श्रेष्ठ तीज नजिकिए पनि बजार सुनसान रहेको बताउँछन् । ‘लकडाउन खुलेपछि व्यापार उकासिन थालेको थियो । तर, जब पोखराभित्र केही ठाउँमा संक्रमण देखियो, त्यसपछि बजार एकाएक खस्कियो,’ श्रेष्ठले भने, ‘यो बेला तीजका कारण बजार भरिभराउ हुनुपर्ने हो । तर, अहिले त सुनसान भईसकेको छ ।’  

पोखराको लामाचौरमा संक्रण देखिएपछि बजारमा एकाएक चहलपहल घट्न थालेको उनले सुनाए । ‘यो बेला तीजको भीड लाग्ने बेला हो । तर यो पटक कोरोनाको मारमा तीज प¥यो,’ उनले भने, ‘हामी व्यवसायी पनि कोरोनाकै अप्ठेरोमा प¥यौं ।’ तीजलाई मध्यनजर गरेर व्यापार खुलाए पनि आर्थिक गतिविधि भने निकै नै कम रहेको उनले बताए ।  

तीज आउन केही दिनमात्र बाँकी रहँदा यो बेला यहाँको मुख्य व्यापारिक क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, सिर्जनाचोक, न्युरोडमा भीडभाड हुन्थ्यो । घरायसी सामान र लत्ताकपडा किन्न जाने ग्राहक थपिँदा यो बेला पैदल हिँडडुल पनि सहज हुँदैनथ्यो । तर, यो पटक शनिबार भने मुख्य व्यावापारिक क्षेत्र सुनसान देखिन्थ्यो । आधाभन्दा बढी पसल सटर बन्द थिए । चल्तीका पसलमा पनि एकाध बाहेक ग्राहक थिएनन् । पसल खुले पनि व्यापार नहुँदा व्यवसायी फुर्सदिला देखिन्थे । 

प्रकाशित: २ भाद्र २०७७ ०४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App