४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

१० प्रतिशत बढीले बैंकहरूको नाफा गुम्यो

बैंकिङ क्षेत्रमा कोरोना असर

कोरोना भाइरसका कारण बैंक तथा वित्तीय संस्थाको नाफामा गिरावट आएको छ। २७ मध्ये २५ वाणिज्य बैंकले प्रकाशित गरेको आर्थिक वर्ष ०७६/७७ को विवरण अनुसार अघिल्लो वर्षको तुलनामा समग्रमा औसत १० प्रतिशतभन्दा बढीले आम्दानी घटेको हो।  

आर्थिक वर्ष ०७५/७६ मा वाणिज्य बैंकहरूको कुल नाफा ५७ अर्ब ४४ करोड रूपैयाँ रहेकोमा गतवर्ष २५ बैंकले  ५१ अर्ब १७ करोड रूपैयाँ खुद नाफा गरेका छन्। शुक्रबारसम्म कृषि विकास र प्रभु बैंकले आर्थिक वर्ष ०७६/७७ को विवरण सार्वजनिक गरेका छैनन्।  

केही बैंकले अघिल्लो वर्षको तुलनामा नाफा बढाए पनि धेरैले घटाएका छन्। बैंकहरूले नाफा गर्न नसक्दा लगानीकर्ताले पाउने लाभांशमा असर पर्छ। नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बैंकको नाफा गुम्दा लगानीकर्तालाई मात्र असर नपरी सर्वसाधारणलाई पनि पर्ने बताउँछन्।  

‘बैंकहरूसँग रहेको करिब ३७ खर्ब रूपैयाँ सर्वसाधारणको हो,’ उनी भन्छन्, ‘बैंकले नाफा गुमाउँदा निक्षेप सुरक्षामा समेत समस्या आउन सक्छ।’ कोरोना भाइरसको महामारी नभएको भए आर्थिक वर्ष ०७६/७७ मा बैंकहरूको औसत नाफा २५ प्रतिशत हुने अनुमान गरिएको थियो। आघिल्लो आर्थिक वर्ष सबै बैंकको नाफा जोड्दा औसत करिब २७ प्रतिशत थियो। चीनको वुहानमा सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरस देखिए पनि नेपालमा चैत ११ पछि लकडाउन गरिएको हो।  

आर्थिक वर्ष ०७५/७६ मा वाणिज्य बैंकहरूको कुल नाफा ५७ अर्ब ४४ करोड रूपैयाँ रहेकोमा गत वर्ष २५ बैंकले ५१ अर्ब १७ करोड रूपैयाँ खुद नाफा गरेका छन्।

लकडाउनपछि मात्र बैंक तथा वित्तीय संस्थाको व्यवसाय प्रभावित हुन थालेको हो। चार महिनामै ठूलो असर परेकाले चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले झनै बढी नाफा गुमाउन सक्ने कतिपयको अनुमान छ।

बंैकर एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा कोरोनाका कारण चैत र असार महिनामा वित्तीय संस्थाहरूले उठाउनुपर्ने साँवा र ब्याज उठाउन नपाउँदा नाफा घटेको बताउँछन्। ‘कर्जाको साँवा र ब्याज उठाउन नपाएपछि नाफा गुम्छ भन्ने अपेक्षा नै गरिएको थियो,’ उनले भने, ‘चालु आर्थिक वर्षको असोजपछि पुनः सुधार होला भन्ने अपेक्षा गरेका छौं।’  

राष्ट्र बैंकले कोरोना महामारीले गर्दा व्यवसाय सञ्चालन गर्न नपाएका व्यवसायीलाई लक्षित गर्दै आउँदो असोज महिनासम्म कर्जाको साँवा र ब्याज उठाउने समयावधि थप गरेको छ। त्यस्तै राष्ट्र बैंकले कोरोनाबाट प्रभावित व्यवसायीलाई ब्याज छुट दिन बैंकहरूलाई निर्देशन दिएको छ। पछिल्लो समयमा निक्षेपको तुलनामा कर्जा प्रवाह पनि हुन सकेको छैन।  

यतिखेर वित्तीय संस्थासँग दुई खर्ब १३ अर्ब रूपैयाँ निक्षेप थुप्रिएको छ। कर्जाको माग न्यून भएपछि बैंक तथा वित्तीय संस्थाले घर–जग्गा लगायतका कर्जाको ब्याज एकल अंकमा झारिसकेका छन्। कर्जा लगानी हुन नसक्दा पनि बैंकहरूको नाफा बढ्न नसकेको हो।  

यहीबेला नै केन्द्रीय बैंकले स्प्रेड दर घटाउन निर्देशन दिएकाले आम्दानी घटेको बैंकरहरूको भनाइ छ। त्यस्तै बैंकहरूले लिने सेवा शुल्क पनि घटाउन राष्ट्र बैंकले निर्देशक दिएको छ। राष्ट्र बैंकले वाणिज्य बैंकहरूको हकमा ०.७५ प्रतिशत तथा विकास बैंकलाई १ र लघुवित्तले १.५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको छ।  

गत आवको वित्तीय विवरण सार्वजनिक गरेका २५ वाणिज्य बैंकमध्ये १८ वटा बैंकको नाफा अघिल्लो आवको तुलनामा घटेको छ। सात  वाणिज्य बैंकको नाफा भने केही बढेको छ। अघिल्लो वर्षको तुलनामा नाफा बढाउने बैंकमा सेञ्चुरी (३३.९७ प्रतिशत), ग्लोबल आइएमई (११ प्रतिशत), एनसिसी (१०.७४ प्रतिशत), मेगा (५.५७ प्रतिशत), प्राइम (४.२७ प्रतिशत), एनआइसी एसिया (३.२४ प्रतिशत) र एनएमबी (०.५९ प्रतिशत) हुन्।  

आर्थिक वर्ष ०७६/७७ को नाफाबाट बैंकहरूको औसत लाभांश क्षमता करिब ११ प्रतिशत देखिन्छ। राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थापा आर्थिक गतिविधि बढी हुने बेला नै कोरोना असर पर्दा बैंक तथा वित्तीय संस्थाहरूको नाफा घटेको बताउँछन्। उनले केन्द्रीय बैंकले कर्जा तिर्ने समय थप गर्दा वित्तीय संस्था टिकेको बताए।  

‘राष्ट्र बैंकले यस्तो नीति नलिएको भए यतिखेरै कतिपय बैंक नोक्सानीमा गइसकेका हुन्थे,’ उनले भने, ‘आउँदो पुससम्म कतिपय बैंक नोक्सानीमा जाने सम्भावना अझै छ।’ कोरोना महामारीका कारण अर्थतन्त्र निकै जोखिममा परेकाले नेपालले पनि भारत, अमेरिका र युरोपबाट सिक्न जरूरी रहेको उनको सुझाव छ।  

‘अहिले एकातिर आर्थिक गतिवधि बढाउने र अर्कोतर्फ कोरोनासँग लड्ने दुईखम्बे रणनीति बनाउन जरूरी छ,’ थापाले भने, ‘नत्र आर्थिक गतिविधि मात्र सुस्त हुँदैन सरकार पनि कमजोर हुन्छ। त्यसपछि कोरोनाले थप असर पु-याउँछ।’

प्रकाशित: ३२ श्रावण २०७७ ०३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App