१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

जरा टिप्न नपाउँदा संकटमा जीविका

यार्सागुम्बा टिप्न नपाएपछि जीविका चलाउन सदरमुकाम चैनपुरमा दाउरा बिक्री गर्र्न आएका सुर्मा गाउँपालिका–२ का महिला। तस्बिर: जगत/नागरिक

सुर्मा गाउँपालिका–२ अन्नाकी कमला बोहोरा साउने झरीमा पनि दाउरा बेचेर जीविका चलाउँदैछिन्। यसरी झरीको पर्वाह नगरी दाउराको भारी बोकेर सदरमुकाम चैनपुर पुगी जसोतसो बेचबिखन गरेर परिवारको गुजारा चलाउनुपर्ला भन्ने उनले कहिल्यै सोचेकी थिइनन्। तर, परिस्थितिले त्यस्तै वातावरण बनाइदियो। बोहोराकै भनाइ लिएर भन्नुपर्दा यो वर्ष सरकारले जरा टिप्न (यार्सागुम्बा संकलनमा) प्रतिबन्ध लगाएपछि आइपरेको आर्थिक संकटका कारण यस्तो दसा बेहोर्नुपरेको हो।

आम्दानीको नाममा कतैबाट एक रुपैयाँ पनि नआउने अनि खेतबारीमा उब्जेको अन्नले दुई महिना पनि खान नपुग्ने उनको परिवारको अवस्था छ। सातजनाको जीविकोपार्जनको एउटै आधार नै यार्सागुम्बा थियो। तर अहिले यार्सागुम्बा टिप्न नपाएपछि परिवारमा विपत्ति आइलागेको उनको भनाइ छ। ‘घरमा एक मुठी अन्न छैन,’ उनले भनिन्, ‘छोराछोरी आमाले चामल किनेर ल्याउलिन् र पेटिभरि भात खाउँला भन्ने आसमा बाटो कुरिरहेका होलान्।’  

जीविकाको बाटो रोकिएपछि त्यहाँका अन्य स्थानीय पनि बोहोराको परिवारले जस्तै दुर्दशा भोग्न बाध्य छन्। यस गाउँका प्रत्येक परिवारबाट कम्तीमा एक सदस्य चैत अन्तिम साता लेकमा जान्थे र असार फर्किंदा एक लाखदेखि १२ लाख रुपैयाँ बराबरको यार्सागुम्बा ल्याउँथे।  

लेकमा पाइने यार्सागुम्बा टिपेर वर्षभरिका लागि चाहिने खाद्यान्न, लुगाकपडा र छोराछोरीका लागि पढाइमा खर्च गर्ने सुर्मावासी २०७६ चैत दोस्रो सातादेखि लकडाउन जारी गरेसँगै आवतजावतमा समेत रोक लगाएपछि लेकमा गएर यार्सागुम्बा संकलन गर्न नपाउँदा आर्थिक मारमा परेका छन्।

सुर्मा–२ अन्नाकी आलिकुली बोहराले पनि पतिले दिनभर लेकबाट दाउरा खोजेर साँझ  घरमा ल्याउने र आफूले एकाबिहानै त्यो दाउरा बोकेर तीन घन्टा टाढाको सदरमुकाम चैनपुरमा पु¥याउने गरेको बताइन्। ‘बजारमा पनि दाउराको भाव (मूल्य) पाइँदैन। एक भारी दाउराको दुई सय ५० देखि ३ सय रुपैयाँसम्म दिन्छन्। त्यो पनि दैलोदैलो चहानुपर्छ,’ आलिकुलीले भनिन्, ‘लेकमा सुकेको रूख पाइन्न, समितिले आलो काट्न नदिए झन् संकट हुन्छ। लोग्ने मान्छेलाई कमाइ गर्न भारत पठाऊँ भने नाकाबन्दीले जान पाइँदैन।’

यही साउन १९ गते सुर्मा देवीको मेला लाग्दैछ। ‘मेलाको बेला न त घरमा पाहुनालाई खुवाउन खाद्यान्न छ, न मन्दिरमा पूजा गर्न पैसा,’ सुर्मा–३ का ५३ वर्षीय भानु बोहराले भने। केही सीप नलागेपछि सदरमुकाम चैनपुरमा रोजगारी पाइन्छ कि भनेर गए पनि काम नपाएर घर न घाटको भएको उनले बताए। लामो समय यस्तै हुने हो भने धेरै परिवार गाउँबाटै विस्थापित हुनुपर्ने अवस्था आउने उनको भनाइ छ। ‘यसरी दुःख पाउनुभन्दा त मर्नु बेस,’ उनले भने।

कमला, आलीकुली र भानु त प्रतिनिधि उदाहरण मात्र हुन्। यार्सागुम्बा संकलन गर्न नपाउँदा अहिले सुर्मावासी निकै ठूलो आर्थिक संकटमा छन्। लेकमा पाइने यार्सागुम्बा टिपेर वर्षभरिका लागि चाहिने खाद्यान्न, लुगाकपडा र छोराछोरीका लागि पढाइमा खर्च गर्ने सुर्मावासी २०७६ चैत दोस्रो सातादेखि लकडाउन जारी गरेसँगै आवतजावतमा समेत रोक लगाएपछि लेकमा गएर यार्सागुम्बा संकलन गर्न नपाउँदा आर्थिक मारमा परेका छन्। सदरमुकामसँगै जोडिएको गाउँपालिका भए पनि खाद्यान्न निकै कम उब्जनी हुने र रोजगार व्यापार एवं अन्य व्यवसायमा पनि यस भेगका मान्छे निकै कम रहेकाले यो अवस्था आएको हो।  

सुर्मा गाउँपालिकामा यार्सागुम्बा, चिराइतो, पाँचआंैले, वनबुटीलगायत धेरै बहुमूल्य जडीबुटी पाइन्छन्। विगतका वर्षहरूमा यो सिजन भनेको गाउँलेहरूले लेकबाट टिपेर ल्याएको यार्सागुम्बा खरिद गर्ने र आगामी वर्षको पेस्कीसमेत दिन ठेकदार गाउँमा आउने हो। यहीबेला प्रत्येक घरमा यार्सागुम्बा संकलन गर्दा भएको दुःखकष्ट भुल्न खसीबोका काट्ने, नाचगान गर्ने र वर्षभरिका लागि घरमा खाद्यान्न जम्मा गर्ने गरिन्थ्यो। लकडाउनसँगै यार्सागुम्बा संकलन क्षेत्रमा कोरोना भाइरस रोग फैलन नदिन गाउँपालिकाले नै बन्द गरेपछि गाउँमा यस्तो आर्थिक संकट आएको गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताए। यो गाउँपालिकाको जनसंख्या १२ हजारभन्दा बढी छ। जडीबुटीबाट मात्रै गाउँपालिकाले सात लाखसम्म राजस्व उठाउने गरेको थियो भने स्थानीयले जडीबुटीबाट मात्र चार करोडभन्दा बढी कमाइ गर्ने गरेका थिए। ‘यो वर्ष संकलन गर्न नपाएर जडीबुटी लेकमै सड्यो,’ अध्यक्ष बोहोराले भने, ‘अहिले स्थानीय बासिन्दाले दाउरा बेचेर गुजारा गरेका छन्, भोलि वन नै सखाप हुन्छ कि भन्ने चिन्ता पनि लागेको छ।’

प्रकाशित: १९ श्रावण २०७७ ०१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App