१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

रसुवागढी जलविद्युत आयोजनाको टेलरेस सुरुङ निर्माणको काम रोकियो

रसुवागढी जलविद्युत आयोजना । तस्बिरः हिमनाथ/नागरिक

रसुवामा निर्माण भइरहेको रसुवागढी जलविद्युत आयोजनाको टेलरेस सुरुङ निर्माणको काम रोकिएको छ । यो क्षेत्रमा भौगोलिक अवस्था कमजोर भएका कारण निर्माणमा समस्या रहँदै आएकोमा अहिले बर्खाको कारण काम रोकिएको हो ।  

आयोजनाका अनुसार अहिले टेलरेस सुरुङमा लाइनिङको काम भने भइरहेको छ भने खन्ने काम पूर्ण रोकिएको छ । बर्खा अगाडि नै टेलरेस सुरुङ निर्माण गरिसक्ने आयोजनाले लक्ष्य राखेको थियो । तर विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण आयोजनामा निर्माण सामग्रीको अभाव, कमजोर भौतिक संरचना लगायतका कारण लक्ष्य पूरा हुन सकेन । ६ सय ६० मिटर टेलरेसमध्ये ५० मिटर खन्ने काम बाँकी रहेको आयोजना प्रमुख छबि गैरेले बताए ।  

उनका अनुसार मुख्य सुरुङमा लाइनिङ, डिसेन्डर, हेडवक्स बाहिर वाल लगाउने, पावरहाउस भित्र फिनिसिङको काम चलिरहेको छ । आयोजनामा पर्याप्त कामदार तथा सामग्री भएतापनि बर्खाको कारण काम सुस्त भएको छ ।  

साइटमा अहिले ४ सय नेपाली र १ सय ६० चिनियाँ कामदार छन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको आयोजनाको ७५ प्रतिशत काम सकिएको छ । सिभिल संरचना निर्माणको जिम्मा पाएको चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुइ) ले सुरुङ निर्माण गरेको हो ।  

मुख्य सुरुङको पहिलो अडिट सुरुङबाट तल तथा दोस्रोबाट माथितिरको १ हजार ८ सय ८२ मिटर खण्ड गत वर्षको वैशाख ६ गते पूरा भएको थियो । भूकम्प, नाकाबन्दी र बाढीपहिरोले आयोजनाको काममा अवरोध पुर्‍याउँदै आएको छ । १११ मेगावट क्षमताको यो आयोजनाको २०७० माघदेखि निर्माण कार्य सुरु भएको हो ।  

आयोजनाबाट वार्षिक ६१३.८७ गेगावाट विद्युत उत्पादन हुन्छ । आयोजनाले उत्पादन गर्न थालेपछि दैनिक सँवा करोड आम्दानी हुनेछ । २०१७ अगस्टमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे आयोजना भूकम्प र नाकाबन्दीका कारण समयमा नै निर्माण सम्पन्न गर्न नसकिएको हो ।  

भूकम्पपछिको समयमा साइडको विभिन्न स्थानमा पहिरो झरेपछि चिनियाँ ठेकेदारले चार महिना काम रोकेका थिए । निर्माणाधिन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।  

आयोजनामा चिलिमे जलविद्युत कम्पनीको ३३ प्रतिशत, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको १९ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १८ प्रतिशत, सर्वसाधारणको १५, रसुवाबासीको १०, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको ३.५ र ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत लगानी रहनेछ ।

प्रकाशित: ४ श्रावण २०७७ ०८:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App