१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

८० प्रतिशत आप्रवासीको बचत शून्य

विदेशमा कार्यरत नेपाली कामदारमध्ये ८० प्रतिशतले विदेशमा श्रम गर्दा कमाएको धेरै पैसा घरपरिवारका महिनैपिच्छेको आवश्यकता पूर्तिमै सकिएको बताएका छन्। जसले गर्दा स्वदेश फर्केर स्वरोजगारमा संलग्न हुन आर्थिक अभाव हुने उनीहरुको भनाइ छ।  

डायस्पोरा नेपालीको अन्तर्राष्ट्रिय थिंकट्यांक नेपाली पोलिसी इन्स्टिच्युट (एनपिआई)ले माइग्रेसन ल्याबसँगको सहकार्यमा खाडीका आठ देश र भारतमा कार्यरत ६ सय २५ कामदारमाझ गरेको सर्वेक्षणमा सहभागी आधा आप्रवासीले भने सीप÷प्रशिक्षणको अभावलाई स्वरोजारको प्रमुख अवरोधका रुपमा स्वीकार गरेका छन्। व्यावसायिक सञ्जालको अभाव, स्थानीय सन्दर्भमा अपर्याप्त जानकारी, जटिल प्रशासनिक प्रक्रियालाई उनीहरुले अन्य बाधा, अवरोधको रुपमा उल्लेख गरेका छन्।

स्वदेश फर्कन चाहनेमध्येको सानो हिस्साले मात्रै ज्यालादारी काममा रुची राखेको सो अध्ययनले देखाएको छ। स्वदेश फर्कने आप्रवासी श्रमिकले अनिश्चितताका कारण भविष्यप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरुका अनुसार विप्रेषणमा आएको गिरावटको प्रत्यक्ष असर उनीहरुको दैनिक आधारभूत आवश्यकता पूरा गर्ने क्षमतामा निर्भर गर्छ। विप्रेषणको अभावमा उनीहरुका खाना, घरभाडा, बालबालिकाको शिक्षा र ऋण चुक्ता गर्ने क्षमता मुख्य चिन्ताको विषयको रुपमा छ। केही उत्तरदाताले विप्रेषणमा हुने कटौतीको गैरआर्थिक प्रभावलाई पनि संकेत गरेका छन्। जस अन्तर्गत विभेद, घरेलु हिंसा र अन्य पारिवारिक तनावमा वृद्धि हुन सक्ने उल्लेख गरेका छन्।  

वैदेशिक रोजगारमा संलग्न आप्रवासीको स्वदेश फिर्तीपछिका योजनाहरु पनि अत्यन्त विचारणीय रहेको बताइएको छ। आप्रवासीमध्ये ८० प्रतिशतले नेपाल फर्किएपछि विशेष गरी कृषि अथवा गैरकृषि क्षेत्रमा स्वरोजगार हुने बताएका छन्। बाँकीले कृषि तथा गैरकृषि क्षेत्रमा ज्यालादारी काम गर्ने चाहना राखेका छन्। वैदेशिक रोजगारीमा संलग्न श्रमिकसँग भएको लक्षित समूह छलफल अनुसार कम आम्दानी हुने तर उच्च निर्वाह खर्चका कारण नेपालका रोजगारीका अवसरलाई कम आकर्षण देखाएको छ।  अध्ययनमा सहभागीमध्ये ५८ प्रतिशतले कार्यस्थलको कारण कोरोना संक्रमित हुन सक्ने भयमा रहेको र १७ प्रतिशतले व्यक्तिगत जीवनशैलीकै कारण संक्रमित हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।  

कार्यस्थलमा खासगरी बढी संख्यामा श्रमिकको सम्पर्कमा आउने व्यक्ति हुने वा शिविरहरुमा बस्ने सहकर्मीको माध्यमबाट होस् या कार्यस्थलमा ग्राहकको प्रत्यक्ष सम्पर्क हुने वा सार्वजनिक यातायात तथा कार्यस्थलको चमेना गृह प्रयोगकर्तालाई बढी असुरक्षित बनाएको छ ।

प्रकाशित: ४ श्रावण २०७७ ०३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App