खोटाङमा योजना फर्स्यौटकाक्रममा कमजोरी हुँदा विद्यालयका प्रअले पद गुमाएपछि निमित्त प्रअले योजना फर्स्यौट गरेका छन्। प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको बजेट फर्स्यौटकाक्रममा भएको कमजोरीका कारण दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित जयसरस्वती प्राबिका प्रअ रत्नकुमार बस्नेत पदबाट हटाइएपछि निमित्त प्रअ बनेका निर्मला थापाले सो योजनाको बजेट फर्स्यौट गरेका हुन्।
विद्यालयको टेवा पर्खाल निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम खोटाङ (ख) कातर्फबाट विनियोजित १० लाख रकम फर्स्यौटकाक्रममा कागजात पेश गर्दा बस्नेतले असम्वन्धित योजनाको तस्बिर समावेश गरेको खुलेपछि उनलाई गाउँ शिक्षा समितिको सिफारिसमा गाउँपालिकाले असार २८ गते पदबाट हटाएको थियो। हेलचक्र्याइँ गर्दा बस्नेत प्रअबाट हटाइएपछि व्यवस्थापन समितिले निमित्त प्रअ बनाएका थापाले मंगलबार सो योजनाको फरफारक गरेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।
विद्यालयको टेवा पर्खाल निर्माण सम्वन्धी योजना फर्स्यौटकाक्रममा प्रअ बस्नेत ओख्रेको आरुबोटे–लहरेपैयूँ–बार्लाङ–रिभु–एक्लेबर–डाँडाखर्क काहुले–मलबासे हुँदै सिमलडाँडा–जमुनेढुंगा–धिप्लुङ झरना जोड्ने सडकको तार जाली हालेको तस्बिर लिएर गाउँपालिका पुगेको खुलेको थियो। असार २२ गते पेश गरिएको कागजातमा विद्यालयको टेवा पर्खालको सट्टा सडकको जाली हालिएको पर्खालको तस्बिर समावेश गरेको पाइएपछि गाउँ शिक्षा समितिको असार २७ गतेको बैठकले गरेको सिफारिसका आधारमा गाउँकार्यपालिकाले प्रअ बस्नेतलाई भोलीपल्टै पदबाट हटाउने निर्णय गरेको थियो। योजना फस्र्यौटका लागि नक्कली तस्बिर पेश गरेको खुलेको आधारमा असार २५ गते बस्नेतलाई लिखित स्पष्टीकरण सोधिएकामा आफुबाट कमजोरी भएको स्वीकार गरेको गाउँपालिका अध्यक्ष राईले बताए। गाउँपालिकामा पेश गरिएको फस्र्यौट कागजातमा सडकको आरुबोटे भन्ने ठाउँको तस्बिर राखिएको पाइएको छ।
प्रअ बस्नेत प्रदेश निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको बजेटले विद्यालयको पर्खाल हाल्ने र माटो फिलिङ गर्ने काम पुरा नहुँदै फस्र्यौटका लागि गाउँपालिका पुगेका थिए। योजना फस्र्यौटका लागि असार २२ गते गाउँपालिका पुगे पनि अर्कै ठाउँको तस्बिर पेश गरेको र काम पुरा नभएको भन्दै गाउँपालिकाले ‘एक्सन’ लिएपछि केही दिन लगाएर माटो फिलिङका काम पुरा गरिएको थियो।
प्रकाशित: २ श्रावण २०७७ ०३:२८ शुक्रबार