६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

मेलम्चीको पानी आउन अझै दुई महिना

मेलम्ची खानेपानी आयोजनाले डेढ दशक लामो अनिश्चितता छिचोल्दै अस्थायी (कोफर) बाँधबाट पानी पठाएर सुरुङ परीक्षण सुरु गरेको छ। राजधानीका बासिन्दाले मेलम्चीको पानी पिउन अझै कम्तीमा दुई महिना कुर्नुपर्नेछ।

आयोजनाले आइतबार विहान मेलम्ची खोलाको पानी अस्थायी बाँधमार्फत सुरुङमा पठाएर परीक्षण गरेको हो। स्थायी बाँध हालसम्म निर्माण भइनसकेकाले अस्थायीमार्फत डाइभर्सन गरेर पानी परीक्षणको लागि सुरुङमा हालिएको हो। खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले आयोजनाको लामो समयदेखिको चुनौतीपूर्ण यात्रा छिचोल्दै मेलम्ची नदीको पानी सुरुङमा पठाएर परीक्षण सुरु गरिएको बताए। ‘लामो समयको अथाह मेहनतसँगै मेलम्ची दीको पानी अस्थायी बाँधमार्फत सुरुङमार्गमा पठाउन सफल भएका छौं,’ उनले भने, ‘आइतबार विहान ९ः४५ बजे पानी पठाएर सुरुङमार्गको परीक्षण कार्य प्रारम्भ गरिएको हो।’ सचिव बेल्वासे मेलम्ची आयोजनाको सुरुङमार्गमा थोरै–थोरै मात्रामा पानी राखेर परीक्षण गर्ने बताउँछन्।

‘अहिले थोरै–थोरै पानी राखेर मात्रै टेस्टिङ सुरु गरेका छौं,’ उनले भने, ‘एकैपटक धेरै पानी भरेर टेस्टिङ गर्न प्राविधिक समस्या देखिने भएकाले थेरै मात्रामा पानी पठाएर परीक्षण गर्नेछौं।’ मेलम्ची आयोजनाको मुख्य बाँध (हेडवक्र्स) निर्माणाधीन अवस्थामा भएकाले अहिले अस्थायी बाँधमार्फत मेलम्चीको पानी ल्याउन लागिएको हो। अहिलेसम्म बाँध निर्माण कार्य ६५ प्रतिशतभन्दा धेरै सकिएको छ।  

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले दुई महिनाको परीक्षणपछि मात्रै पानी सुन्दरीजलमा खसाल्ने बताए। ‘मेलम्चीको सुरुङमा प्रतिसेकेन्ड ६ हजार लिटरभन्दा धेरै पानी पठाउन सकिन्छ। तर अहिले त्यसको पाँच प्रतिशत मात्रै पठाउन लागेका छौं,’ उनले भने, ‘यसरी सुरुङमा पानी भर्न कम्तीमा पनि १५ देखि २०  दिन लाग्छ।’  

आयोजनाले सुरुङमा पानी भरिएसँगै कम्तीमा आठदेखि १० दिनसम्म होल्ड गरेर प्रेसर जाँच गरिने जनाएको छ। सुरुङमा होल्ड गरिएको पानी बाहिर फ्याक्नको लागि पनि फेरि १० देखि १२ दिनको समय लाग्नेछ। आयोजनाका कार्यकारी निर्देशक खत्रीले सुरुङमा पानी भर्दा र पानी फ्याँक्दा दुवै कार्यमा निकै सावधानी अपनाउनुपर्ने बताए।

‘सुरुङमा एक्कासि धेरै पानी भर्नु पनि हुँदैन, बाहिर फ्याँक्न पनि मिल्दैन,’ उनले भने, ‘यो निकै प्राविधिक र संवेदनशील भएकाले धेरै समय लाग्ने गर्छ।’ आयोजनाले सुरुङको पानी बाहिर फ्याँकेसँगै कतै सुरुङमार्गमा क्षति पु¥याएको छ कि छैन भनेर एक साताको अवधिमा निरीक्षण तथा भत्केको खण्डमा मर्मतसम्भारको लागि तोकिएको छ।  

आयोजनाले सुरुङमार्गको सम्पूर्ण प्राविधिक तथा अन्य प्रक्रिया पूरा गरेपछि मात्रै मेलम्चीको हेडवक्र्सस्थित अस्थायी बाँधबाट पानी सुरुङमार्फत सुन्दरीजल ल्याइएको छ। कार्यकारी निर्देशक खत्रीले मेलम्चीको पानी सुन्दरीजलमा आएसँगै पुरानो पाइपलाइनबाट मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा पठाइने बताए। ‘मेलम्चीको पानी सुन्दरीजल आइपुगेसँगै पहिलो चरणमा पुरानै पाइपलाइनबाट उपत्यकाबासीको घरघरमा पठाइनेछ,’ उनले भने, ‘मेलम्चीको नयाँ पाइपमा पानी टेस्टिङ गर्दै उपत्यकाबासीको घरमा मेलम्चीको पानी पठाइनेछ।’ मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गबाट ५१ करोड लिटर पानी ल्याउने क्षमता छ। तर अहिले मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी मात्र काठमाडौंमा ल्याइनेछ।  

सुरुङमार्गमा पानी पठाएसँगै थुप्रै प्रश्नको अन्त्य भएको छः मन्त्री मगर

खानेपानीमन्त्री बिना मगरले मेलम्ची नदीको पानी सुरुङमा पठाउने कार्य ऐतिहासिक भएको दाबी गरेकी छन्। मन्त्री मगरले खानेपानी मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरेर मेलम्चीको पानी सुरुङमा पथान्तरण गर्नु निकै महत्वपूर्ण उपलब्धि भएको दाबी गरिन्।  

‘मेलम्चीले धेरैमा अन्योल सिर्जना ग¥यो। धेरैको आशा निमोठेर निरास मात्रै पारेन, यो आयोजना दन्ते कथा जस्तै पनि भयो,’ मन्त्री मगरले भनिन्, ‘मेलम्चीको पानी सुरुङमा पठाएसँगै आयोजनाको दन्तेकथा अन्त्य भएको छ। अबको केही समयभित्रै मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा आउनेछ।’  

मन्त्री मगरले मेलम्चीको पानी उपत्यकाबासीले कहिले पिउन पाउने मिति भने खुलाउन चाहिनन्। मन्त्री पुनले सरकारसँग सरसल्लाह गरेर मेलम्ची आयोजनाको उद्घाटन गर्ने मिति टुंगो लगाउने बताइन्। ‘मेलम्चीको पानी सुरुङमार्गमा प्रवेश गरेसँगै मेलम्ची आयोजनासँग सम्बन्धित थुप्रै प्रश्नको मात्रै अन्त्य भएको छैन। अन्योल र निराशा पनि उत्साहमा बदलिएको छ।’ मन्त्री पुनले वर्षाैंदेखि असफल तथा बिफल आयोजनाको उपमा पाएको मेलम्ची आयोजनाको ट्याग समेत अन्त्य हुने बताइन्।

मेलम्चीको पाइप क्षतिग्रस्त हुँदा १६ करोड नोक्सान, समन्वयबिना नखन्न अनुरोध

मेलम्ची खानेपानी आयोजनाको लागि बिछ्याइएको ३० किलोमिटर पाइप क्षतिग्रस्त हुँदा १६ करोड ४ लाख रूपैयाँ नोक्सान भएको बताइएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार उपत्यकाभर ३० किलोमिटर पाइप क्षतिग्रस्त भएको छ। निर्देशनालयले आइतबार सार्वजनिक सूचना जारी गरेर मेलम्ची आयोजनाको पाइप तथा अन्य संरचना अनुमति बेगर कसैले पनि नखन्न तथा क्षति नपु¥याउन अनुरोध गरेको छ। निर्देशनालयले पाइपमा क्षति पु¥याएको खण्डमा सोही निकायबाट क्षतिपूर्ति असुलउपर गरिने सार्वजनिक सूचनामा उल्लेख छ। निर्देशनालयले हालसम्म १२ सय किलोमिटर पाइप बिछ्याउनुको साथै घरघरमा धारा जडान भइसकेको जनायो।

प्रकाशित: २२ असार २०७७ ०३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App