१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

इटहरीमा कोरोना खर्च चार करोड ३३ लाख

इटहरी उपमहानगरपालिकाले कोरोना संक्रमण (कोभिड–१९ ) को नियन्त्रण र रोकथाममा अहिलेसम्म चार करोड ३३ लाख रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ।  

उपमहानगरपालिकाको सातौं नगर परिषदका क्रममा बुधबार उपप्रमुख लक्ष्मी गौतमले संक्रमणको कारण प्र्रभावितलाई राहत, उद्दार, क्वाराइन्टाइन व्यवस्थापन तथा सञ्चालनका लागि सञ्चित कोषबाट खर्च भएको जानकारी दिइन् । चालु आर्थिक वर्षकै असार मसान्तसम्म थप ७० लाखसहित पाँच करोड अनुमानित खर्च हुने सार्वजनिक गरियो । उपप्रमुख गौतमले सञ्चित कोषबाट चार करोड दस लाख साविक प्रकोप व्यवस्थापन कोषबाट २७ लाख ५६ हजार र विभिन्न दाताले ६२ लाख १३ हजारसहित चार करोड ९८ लाख ६९ हजार  कोरोना रोकथाम तथा नियन्त्रण/प्रकोप व्यवस्थापन कोेषमा जम्मा गरी खर्च गर्ने व्यवस्था मिलाएको जानकारी दिइन् ।  

कोरोना भाइरस संक्रमण अझै कहिलेसम्म मत्थर हुने टुंगो छैन् । संक्रमितको उपचार, क्वारेन्टाइनको सञ्चालन, आवश्यक उपकरण खरिद लगायतमा ध्यान दिनु पर्ने जनाउँदै सातौं नगर परिषदले स्वास्थ्य क्षेत्रका लागि दुई करोड ५० लाख रुपैयाँको बजेट छुट्याएको छ। यहाँ संघीय सरकारले अघि सारेको स्वास्थ्य बीमा कार्यक्रमबाट जेठ मसान्तसम्म ६० हजार तीन सय ७२ जनाले स्वास्थ्य बीमा गरेको पनि सार्वजनिक गरियो । जसमा इटहरी अस्पतालबाट मात्र ३१ हजार ११ जनाले स्वास्थ्य सेवा लिएको सार्वजनिक गरिएको छ । यहाँ रहेका गरीब, दलित तथा विपन्न परिवारले सहज र सरल उपचार प्राप्त गर्न सकुन भन्ने उद्देश्यले आगामी आर्थिक वर्षमा एक हजार विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिने भएको छ ।  

उपमहानगरले आगामी आर्थिक वर्षमा इटहरी अस्पताल मार्फत ५० वर्ष माथिकाको मुटु, सुगरलगायतका रोगको निःशुल्क परीक्षण र ७५ वर्ष माथिका जेष्ठ नागरिकको सम्पूर्ण रोगको परीक्षण निःशुल्क गर्ने घोषणा गरिएको छ। इटहरी अस्पतालको स्तरोन्नतिसँगै खनार स्वास्थ्य चौकीमा ल्याब र बर्थिङ् सेन्टरको स्थापना गरिने सार्वजनिक गरियो । यस्तै, यहाँका २० वडामध्ये १९ वटा वडामा आधारभूत शहरी स्वास्थ्य सेवा केन्द्र सञ्चालनका लागि भवन निर्माणको काम समेत प्रारम्भ भइसकेको जानकारी दिइयो ।

प्रकाशित: १० असार २०७७ १४:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App