९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

‘कोभिड–१९ का लागि छुट्याइएको बजेट पर्याप्त’

 आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सरकारले गण्डकी प्रदेशमा कोभिड–१९ का लागि छुट्याएको २ अर्ब ९१ करोड बजेट पर्याप्त भएको दाबी गरेका छन् । विपक्षी दलका नेताहरुले बजेट कोरोना केन्द्रित भएन भनेर गरेको आलोचनाप्रति टिप्पणी गर्दै उनले भने, ‘अहिले छुट्याएको बजेट नै पर्याप्त हुन्छ । हामीले चाहेर पनि कोरोनाका लागि योभन्दा बढी बजेट छुट्याउन सक्दैनौं ।’ 

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ८० प्रतिशतभन्दा बढी खर्च हुने दाबी गरेको छ । प्रदेशसभामा सोमबार बजेट प्रस्तुत गरेका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मंगलबार बिहान पत्रकार सम्मेलनमा आगामी आर्थिक वर्ष २०७७-७८ को बजेट ८० प्रतिशतभन्दा बढी खर्च हुने दाबी गरेका हुन् । चालु आर्थिक वर्षमा करिब ६३ प्रतिशत मात्रै बजेट खर्च हुने संशोधित अनुमान गरिएको छ ।

मन्त्री गुरुङले भने, ‘आगामी आर्थिक वर्षमा त्यस्तो हुँदैन । अहिलेको अवस्थामा ७० प्रतिशतभन्दा बढी बजेट कार्यान्वयन भयो भने पनि त्यो उपलब्धिमूलक नै हुने रहेछ । हामी अबको बजेट ८० प्रतिशत बढी खर्च गर्न सक्षम हुनेछौं ।’  

उनले चालु आर्थिक वर्षमा खर्च गर्ने संरचना निर्माण गरिएकाले आगामी बजेट कार्यान्वयन सहज हुने दाबी गरे । यद्यपि, उनले खर्च गर्ने संरचनामा ल्याइएको सुधार के हो र त्यसले कसरी काम गर्छ भन्नेबारेमा भने स्पष्ट पार्न सकेनन् । उनले भने, ‘बजेट खर्च गर्ने संरचना निर्माण गरेका छौं, जनशक्ति पनि थपेका छौं ।’

मन्त्री गुरुङले सामान्य अवस्थालाई हेरेर आगामी आर्थिक वर्षको बजेट बनाइएको स्पष्ट पारे । पछि समस्या आउँछ कि भनेर सरकारले सानो आकारको बजेट बनाउने कुरा भएन, ‘उनले भने, ‘सामान्य अवस्थालाई हेरेर बजेट बनाएका छौं । भोलि समस्या आयो भने त्यहीअनुसार अघि बढ्छौं ।’

मन्त्री गुरुङले सामान्य अवस्थालाई हेरेर आगामी आर्थिक वर्षको बजेट बनाइएको स्पष्ट पारे । पछि समस्या आउँछ कि भनेर सरकारले सानो आकारको बजेट बनाउने कुरा भएन, ‘उनले भने, ‘सामान्य अवस्थालाई हेरेर बजेट बनाएका छौं । भोलि समस्या आयो भने त्यहीअनुसार अघि बढ्छौं ।’

मन्त्री गुरुङले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले ५ अर्ब राजस्व संकलन गर्ने महत्त्वाकांक्षी योजना बनाएको बताए । जसका लागि करको दायरा बढाइने उनको भनाइ छ । ‘चालु आर्थिक वर्षमै करको दायरा बढाउने भनेका थियौं, उनले भने, ‘कोभिड–१९ का कारण त्यो सम्भव भएन तर अब प्रदेश सरकारले उठाउन पाउने सबै क्षेत्रमा कर लगाउँछौं ।’  

उनले कोभिड–१९ विरुद्ध लड्न संघ, प्रदेश र स्थानीय तह मिल्नुपर्ने बताए ।  

प्रकाशित: २ असार २०७७ ०६:०८ मंगलबार

बजेट