९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

सातै प्रदेशको आर्थिक वृद्धि न्यून

वागमती प्रदेशको सबैभन्दा कम १.२३, सुदुरपश्चिमको सबैभन्दा बढी ४.०८

काठमाडौं- महामारीका रुपमा फैलिएको नोवल कोरोना भाइरसका कारण चालु आर्थिक वर्षमा सातै प्रदेशको आर्थिक वृद्धिदर प्रभावित हुने देखिएको छ।  केन्द्रिय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार यो वर्ष सातै प्रदेशको आर्थिक वृद्धि गत आवको भन्दा घटने देखिएको हो। यो वर्ष मुलुककै आर्थिक वृद्धिदर २.२८ प्रतिशतभन्दा माथि नजाने अनुमान विभागले यसअघि सार्वजनिक गरिसकेको छ। 

विभागले चालु आवको ६ देखि ८ महिनासम्मका उपलब्ध तथ्यांक हेरी बाँकी अवधिका लागि अनुमान गरी तयार पारेको विवरणअनुसार सात प्रदेशमध्ये सबैभन्दा कम आर्थिक वृद्धि वागमती प्रदेशको हुने अनुमान गरिएको छ। विभागका अनुसार वागमती प्रदेशमा यो वर्ष १.२३ प्रतिशतले मात्र आर्थिक वृद्धि हुने भएको हो। गत वर्ष यो प्रदेशमा ६.४ प्रतिशतको वृद्धि थियो।

विभागका अनुसार चालु वर्ष सात प्रदेशमध्ये सबैभन्दा बढी आर्थिक वृद्धि सुदुरपश्चिम प्रदेशले गर्ने देखिएको छ। चालु वर्ष यो प्रदेशमा ४.०८ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको हो। गत वर्ष यो प्रदेशको ६.९ प्रतिशतको वृद्धि थियो।

 

यो पनि पढ्नुहोस्

आठ वर्षयताकै न्यून आर्थिक वृद्धि

 

यस्तै चालु आवमा एक नम्बर प्रदेशको ३.४१, प्रदेश २ को २.२८, गण्डकीको २.६८, प्रदेश ५ को २ प्रतिशत मात्र हुने अनुमान गरिएको छ। कर्णाली प्रदेशको यो वर्ष आर्थिक वृद्धि ३.५६ प्रतिशत मात्र हुने विभागको अनुमान छ। गत वर्ष यी सबै प्रदेशहरुले यो वर्षको भन्दा बढी आर्थिक वृद्धि हासिल गरेका थिए। गतवर्ष सबैभन्दा कम वागमती प्रदेशको ६.४ र सबैभन्दा धेरै २ नम्बर प्रदेशको ८.१२ प्रतिशत रहने शंसोधित अनुमान गरिएको छ।    

विभागका अनुसार यो वर्ष उपभोक्ता मुल्यमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ३७ खर्ब ६७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। प्रदेशअनुसार हेर्दा सबैभन्दा बढि हिस्सा वागमती प्रदेशको हुने देखिएको छ। वागमती प्रदेशको यो वर्ष उपभोक्ता मूल्य १३ खर्ब ५० अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ। यो कुल जिडिपीको ३५.८४ प्रतिशत हो। 

 

यो पनि पढ्नुहोस्

आर्थिक वृद्धि लक्ष्य असफल

 

यस्तै मुलुककै कुल जिडिपीमा सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशको हुने अनुमान गरिएको छ। यो वर्ष कर्णालीको जिडिपी १ खर्ब ६१ अर्ब रुपैयाँ पुग्ने छ भने राष्टिय जिडिपीमा यसको अंश ४.२७ प्रतिशत मात्र हुनेछ। 

विभागका अनुसार अघिल्लो आवमा जस्तै यो वर्ष पनि जिडिपीमा वागमती प्रदेश पछि बढी योगदान गर्ने प्रदेशहरुमा १,५,२, गण्डकी र सुदुरपश्चिम छन्। 

औद्योगिक वर्गीकरणअनुसार कुल जिडिपीमा कृषि क्षेत्रको हिस्सा बढी भएजस्तै वागमती बाहेक अन्य सबै प्रदेशहरुमा पनि कृषि क्षेत्रको योगदान सबैभन्दा बढी छ। वागमती प्रदेशमा भने थोक तथा खुद्रा व्यापार क्षेत्रको हिस्सा बढी देखिएको छ। 

यस्तै कुल जिडिपीमा दोस्रो हिस्सा व्यापारिक क्षेत्रले ओगटे जस्तै प्रदेश १, २ र ५ मा पनि यही क्षेत्रले दोस्रो स्थान लिएको छ। वागमती क्षेत्रको जिडिपीमा भने दोस्रो हिस्सा घरजग्गा, भाडा तथा व्यवसायिक कारोबार क्षेत्रले ओगटेको छ। यस्तै गण्डकी प्रदेशमा निर्माण क्षेत्रको दोस्रो स्थान छ भने शिक्षा क्षेत्रले कर्णाली र सुदुरपश्चिम प्रदेशमा दोस्रो हिस्सा ओगटेको छ। सबै प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा खानी तथा उत्खनन क्षेत्रको योगदान सबैभन्दा कम छ। 

प्रकाशित: ३० वैशाख २०७७ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App