सिन्धुपाल्चोक- उत्तरको मुख्य नाका तातोपानीबाट सबैखाले चिनियाँ सामाग्रीको निर्बाध आयात गर्न दिन स्थानीयले सहमति जनाएका छन् । तातोपानी सुख्खा बन्दरगाह भन्सार प्रशासन, जनप्रतिनिधि र व्यवसायीसहित बुधबार नाकामा बसेको बैठकमा चिनियाँ सामाग्री आयातमा अवरोध नपुर्याउने सहमति जुटेको हो । तर नाकाबाट चिनियाँ सामाग्री आयात गर्दा ‘मेडिकल प्राटोकल’ पूर्ण पालना गर्नुपर्ने शर्त भने स्थानीयले राखेका छन् ।
‘नाका भएर चिनियाँ सामाग्रीको आयात गर्दा अब कुनै अवरोध नपुर्याउने सहमति भएको छ,’ बैठकपछि प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले नागरिकसँग भने । तातोपानी अन्तर्राष्ट्रिय नाका भएकाले कोरोना महामारीविरुद्ध लड्न आवश्यक पर्ने सबैखाले सामाग्री निरन्तर आयात हुने उनले जानकारी दिए ।
नेपालमा कोराना संक्रमित भेटिन थालेपछि सरकारले सबै अन्तर्राष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेको थियो । चीनमा कोरोनाले महामारीको रुप लिएपछि गत माघ १६ गतेदेखि नाका बन्द रहँदै आएको थियो । तर सरकारले महामारीमा स्वास्थ्य तथा खाद्य सामाग्री अभाव हुन नदिन तातोपानी र रसुवागढी नाका खोल्ने निर्णय गरेको थियो । एक महिनादेखि तातोपानी नाका सञ्चालनमा आइरहँदा स्थानीयले कोरोना संक्रमण ल्याउने आशंकामा आयात कार्यको बिरोध गर्दै आएका थिए ।
स्वास्थ्यबाहेक अन्य सामाग्री तत्काल आयात गर्न नहुने जनप्रतिनिधिसहित स्थानीयको अडान थियो । पछिल्लो साता नाकाबाट खाद्यलगायत अन्य सामाग्री पनि आयात हुन थालेपछि उनीहरुले बिरोधको स्वर चर्को बनाउँदै आएका थिए । बिरोधकै बीच मंगलबारमात्र चीनबाट आएका १२ कन्टेनर स्याउ र लसुन भन्सार प्रशासनले राजधानी पठाएको थियो । बैठकले स्थानीयमा रहेका शंका हटाएको प्रमुख भन्सार अधिकृत खत्रीले जानकारी दिए ।
‘मेडिकल प्रोटोकल राम्ररी पालना होस् भन्ने स्थानीयको आवाज थियो,’ उनले भने, ‘यसलाई भन्सार प्रशासनले कडाइका साथ पालना गर्दै आएको छ । अब पनि स्वास्थ्य सावधानीमा कुनै कमजोरी गर्दैनौँ ।’ भन्सार अधिकारी र स्थानीयबीच नाका रहेको भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल र छिमेकी बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले सहजिकरण गरेका थिए ।
नाका सञ्चालनमा आएसँगै स्वास्थ्य उपकरण र सामाग्रीको सहज आपूर्ति भइरहेको छ । नियमित स्वास्थ्य सामाग्री आयात भइरहेका छन् । यसबाट नेपालमा कोरोना संक्रमण नियन्त्रणमा टेवा पुगेको विश्वास गरिँदै आएको छ । पछिल्लो समय नाका भएर स्याउ, लसुन, कृषि बीऊबिजन, कृषि औजार लगायत सामाग्री नेपाल आयात भइरहेको सुख्खा बन्दरगाह भन्सारले जनाएको छ ।
‘बुधबार मात्र आठ कन्टेनर कृषिजन्य सामाग्री नाका आइपुगेका छन् । बिहीबार नेपाली सेनाको सुरक्षा सामाग्री आउँदै छ,’ प्रमुख भन्सार अधिकृत खत्रीले जानकारी दिए । यो नाका अफ्ठेरोमा सरकारले नै सञ्चालनमा ल्याएकाले कसैले अवरोध गर्न नहुने उनले बताए । नाका सञ्चालनमा आएदेखि नै भन्सार प्रशासनले कडा मेडिकल प्रोटोकल अपनाउँदै आयातित सामाग्री १०–१२ घण्टा आइसोलेसनमा राखेर राजधानी पठाउँदै आएको छ ।
प्रकाशित: २४ वैशाख २०७७ १४:१९ बुधबार