८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

१७ दिनदेखि रोकिएको ६० टन सिमेन्ट साइटमा पुर्‍याइयो

रसुवागढी जलविद्युत आयोजना ।

रसुवा- रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको १७ दिनदेखि रोकिएको ६० टन सिमेन्ट साइटमा पुर्‍याएको छ। यही चैत ११ गते जिल्लाको राम्चेसम्म ल्याइएको सिमेन्ट लकडाउनका कारण त्यही राखिएको थियो।

६ वटा गाडीमा हालेर ल्याइएको सिमेन्ट शुक्रबार साइडमा पुर्‍याइएको आयोजना प्रमुख छबि गैरेले बताए। ‘लकडाउनको दिन राम्चेसम्म आइपुगेको थियो’, उनले भने, ‘लकडाउनका कारण सवारी सञ्चालन रोकिएपछि सामग्री त्यही राखियो।’ सिमेन्ट ल्याएको सवारी साइटमा जान नदिएपछि चालक त्यही बसेका थिए।

जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, जनप्रतिनिधि तथा प्रमुख राजनीतिक दलसँगको सहकार्यमा शुक्रबार साँझ सिमेन्ट साइडमा पुर्‍याइएको हो। सिमन्ट आयोजनाको निर्माणस्थल तातोपानी क्षेत्रमा अनलोड गराएर गाडी शुक्रबार नै फर्किएको छ।

लकडाउनका कारण आयोजनाको काम सुस्त भएको छ। आयोजनामा कामदारको अभाव नभए पनि तर सामग्रीको अभाव भएको छ। साइटमा अहिले ५ सय ३० नेपाली र १ सय ६० चिनियाँ कामदार छन्। आयोजनामा डिजेल तथा डण्डीको अभाव छैन। तर आयोजनामा सिमेन्ट पर्याप्त छैन। सिमेन्टको आपूर्ति नियमित हुन नसकेमा आयोजनाको काम रोकिने उनले बताए।

आयोजनाले अहिले टेलरेस सुरुङ निर्माणको काम गरिहरेको छ। आयोजनाका अनुसार ६ सय ६० मिटर टेलरेसमध्ये ७० मिटर खन्ने काम बाँकी छ। यो क्षेत्रमा भौगोलिक अवस्था कमजोर भएका कारण निर्माणमा समस्या रहँदै आएको आयोजनाले जनाएको छ। यसको काम बर्खा अगाडि नै सकाउनुपर्छ। कमजोर भौगोलिक अवस्था भएका कारण काम सुस्त गतिमा भइरहेको छ।

आयोजनाको बाँध क्षेत्र तथा सर्ज साफ्ट क्षेत्रको निर्माण कार्यमा पनि उस्तै समस्या छ। सन् २०१९ जुन २० मा आएको सुख्खा पहिरोका कारण काममा अवरोध भएकोमा डिसेम्बर १८ देखि कामले निरन्तरता पाएको थियो। अहिले यो क्षेत्रमा जाने बाटो निर्माण भएको छ। यसको काम पनि बर्खा अगाडि नै नसकिएमा आयोजनामा बाढीले क्षति पुर्‍याउने देखिन्छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको आयोजनाको ७५ प्रतिशत काम सकिएको छ । सिभिल संरचना निर्माणको जिम्मा पाएको चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुइ) ले सुरुङ निर्माण गरेको हो।

मुख्य सुरुङको पहिलो अडिट सुरुङबाट तल तथा दोस्रोबाट माथि तिरको १ हजार ८ सय ८२ मिटर खण्ड गत वर्षको वैशाख ६ गते पूरा भएको थियो। भूकम्प, नाकाबन्दी र बाढीपहिरोले आयोजनाको काममा अवरोध पुर्‍याउँदै आएको छ। १११ मेगावट क्षमताको यो आयोजनाको २०७० माघदेखि निर्माण कार्य सुरु भएको हो।

आयोजनाबाट वार्षिक ६१३.८७ गेगावाट विद्युत उत्पादन हुन्छ। आयोजनाले उत्पादन गर्न थालेपछि दैनिक सँवा करोड आम्दानी हुनेछ। २०१७ अगस्टमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे आयोजना भूकम्प र नाकाबन्दीका कारण समयमा नै निर्माण सम्पन्न गर्न नसकिएको हो।

भूकम्पपछिको समयमा साइटको विभिन्न स्थानमा पहिरो झरेपछि चिनियाँ ठेकेदारले चार महिना काम रोकेका थिए। निर्माणाधीन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ रहेको छ।

आयोजनामा चिलिमे जलविद्युत कम्पनीको ३३ प्रतिशत, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको १९ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १८ प्रतिशत, सर्वसाधारणको १५, रसुवाबासीको १०, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको ३.५ र ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत लगानी रहनेछ।
 

प्रकाशित: २९ चैत्र २०७६ ०९:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App