२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

तीस हजार भुइँकटहर नबिकेर बोटमै कुहिने अवस्थामा

भद्रपुर - कोभिड–१९ को गरिएको लकडाउनको असर कृषि क्षेत्रमा पर्न थालेको छ। झापाको भद्रपुर–९ घोडामारामा सञ्चालित कोइरी कृषि तथा पशुपक्षी फार्ममा फलेका ३० हजार भुइँकटहर यतिबेला पाकेर पहेँलपुर भएका छन् तर बजार ठप्प हुँदा बोटमै खेर जाने अवस्था आएको छ। बोटमा फल पाकेर पहेँलै भइसके, सारा बजार बन्द छ अब कहाँ लगेर बेच्नु ?, फार्मका सञ्चालक मनोज सिंह भन्छन्।

तीन बिघा लिजको समेत पाँच बिघा जग्गामा सिंहले विगत चार वर्षदेखि भुइँकटहरको व्यावसायिक खेती गर्दै आएका छन्।  अहिले लकडाउनका कारण कालीमाटी बजार बन्द हुनु र अन्यत्रसमेत बिक्री नभएपछि ठूलो लगानीमा गरिएको उत्पादन कुहिएर बोटमै खेर जाने अवस्था आएको सञ्चालक सिंहले बताए। हाल उनको खेतीमा ८० हजार बोटमा फल लागेको छ भने ३० हजार फल पाकिसकेका छन्। बाँकी ५० हजार बोटमा जेठमा पाक्ने गरी चिचिला हुर्किरहेका छन्। चैत वैशाखमा रसिलो र गुलियो भुइँकटहरले बजारमा राम्रो भाउ पाउने गरेको थियो। कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि गरिएको लकडाउनले बजार ठप्प भएका छन्।

सिंहले भुइँकटहर खेतीका लागि राष्ट्रिय वाणिज्य बैंकबाट १८ लाख रुपैयाँ र नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट पाँच लाख रुपैयाँ कर्जा लिएको बताए।  यस वर्षको चैत वैशाखमा भुइँकटहर प्रतिगोटा स्थानीय बजारमा ५० देखि ६० रुपैयाँसम्म र काठमाडौँमा ७० रुपैयाँसम्ममा बिक्री हुने उनको अपेक्षा थियो। तर अहिले फार्ममा आउने जोकोहीलाई उनले ठूलो घाटा सहेर प्रति गोटा २५ रुपैयाँमै बिक्री गरिरहेको जानकारी दिए। फार्ममै आएर फाट्टफुट्ट किन्ने थोरै रहेका छन्। 

फार्म सञ्चालक सिंहले क्वारेन्टाइनमा बस्नेहरुका लागि र राहत बाँड्नका लागि भुइँकटहर किनिदिने व्यवस्था हुने हो भने आफूले ठूलो राहत पाउने अपेक्षा राखेका छन्। भुइँकटहर रोग प्रतिरोधी क्षमता बढाउने फल भएको हुँदा यसको सेवन स्वास्थ्यवर्धक हुने उनको जिकिर छ। रासस

प्रकाशित: २४ चैत्र २०७६ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App