५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

विदेश जानेको हवाई टिकटमा करोडौं फस्यो

रूद्र खडका
काठमाडौँ - वैदेशिक रोजगारीमा जान ठिक्क परेका युवा रोकिएपछि हवाई टिकटमा करोडौं रूपैयाँ फसेको छ। सरकारले हवाई कम्पनीलाई उड्न नपाएको रकम फिर्ता गर्न निर्देशन दिए पनि त्यो रकम कहिले फिर्ता पाउने भन्नेबारे यकिन नहुँदा उनीहरूको रकम फसेको हो।

व्यवसायीहरूका अनुसार अन्तिम श्रम स्वीकृति लिएकामध्ये करिब १० हजारले हवाई टिकट खरिद गरेको अनुमान छ। वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरैले रोजगारीमा जान ठिक्क परेका बेला सरकारले श्रमस्वीकृतिमा रोक लगाएपछि हवाई टिकट लिएका युवा उड्न नपाएको बताए। सरकारले फागुन २९ देखि वैदेशिक रोजगारीमा जानेलाई रोक लगाउने निर्णय गरेको थियो। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार उक्त निर्णय हुँदासम्म करिब ४५ हजारले अन्तिम श्रमस्वीकृति लिएका थिए। अन्तिम श्रमस्वीकृति लिएको तीन महिनाभित्र गन्तव्य मुलुकमा पुगिसक्नुपर्ने कानुनी प्रावधान छ।

सरकारले हवाई टिकट लिएर पनि उड्न नपाएकाको टिकटको रकम फिर्ता गर्ने बताए पनि शुक्रबारदेखि ५० भन्दा बढी मुलुकबाट हवाई उडानमा रोक लगाएपछि कसरी रकम फिर्ता लिने भन्नेबारे झनै अन्योल सिर्जना भएको व्यवसायी बताउँछन्। विदेशमा रगत–पसिना बगाएर कमाएको रकमले अर्थतन्त्र चलायमान बनाउँदै आएका युवाले करोडौं रकम गुमाउँदा उनीहरूको आर्थिक अवस्था झनै संकटमा परेको छ। विभागका महानिर्देशक दाहालले मर्कामा परेकाको हकमा हवाई टिकटको रकम फिर्ता गर्ने नीति रहेकाले ढिलो, चाँडो त्यो रकम फिर्ता पाउने बताए। कतार जान नपाएका झापा, बिर्तामोडका गोपाल पौडेलले सरकारको उक्त निर्णयले आफ्नो २० हजार रूपैयाँ गुम्ने खतरा बढेको बताए। ‘टिकटको रकम फिर्ता पाउने भनिए पनि कसरी पाउने हो केही थाहा छैन,’ उनले भने।

 वैदेशिक रोजगारीमा रहेका कुनै पनि युवा समस्यामा परेकाे खबर नभएपनि सचेत हुन जरूरी छ। महानिर्देशक, वैदेशिक रोजगार विभाग 

रोजगारीका लागि एक साताअघि नै संयुक्त अरब इमिरेट्सको दुबई जाने तयारी गरेका बाँके, खजुराका दिलीप परियारले हवाई टिकट लगायतमा ७० हजार रूपैयाँ खर्च भइसकेको गुनासो गरे। संघका अध्यक्ष गैरे श्रमस्वीकृतिमा रोक लगाउनुअघि सरकारले व्यवसायीसँग छलफल गरेको भए टिकटको रकम गुम्नबाट जोेगिने बताउँछन्। कतार र कुवेत सरकारले विदेशी कामदारलाई प्रवेशमा रोक लगाउने निर्णय गरेलगत्तै नेपाल सरकारले सम्पूर्ण गन्तव्यको श्रमस्वीकृतिमा रोक लगाउने निर्णय गरेको थियो। ‘जुन गन्तव्य मुलुकले प्रवेशमा रोक लगाएका थिएनन्, ती मुलुकमा श्रमिक पठाउन सकिन्थ्यो,’ गैरेले भने, ‘भिसा प्राप्त गरी हवाई टिकट लिएका युवा उडिसकेपछि श्रमस्वीकृति रोकेको भए रकम खेर जाँदैन्थ्यो।’ स्वदेशमा रोजगारी नपाएको भन्दै पछिल्लो समयमा दैनिक एक हजारदेखि १३ सयसम्म युवा वैदेशिक रोजगारीमा जाने गरेका थिए। श्रमस्वीकृति रोकेपछि मलेसिया, साउदी अरेबियाले पनि नेपाली लगायत आप्रवासीलाई प्रवेशमा रोक लगाएका छन्।

तर कैयौं मुलुकले अझै पनि नेपालीलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेका छैनन्। तर सरकारले नै श्रम स्वीकृति रोकेका कारण नेपाली कुनै पनि गन्तव्यमा जान पाउँदैनन्। व्यवसायीका अनुसार श्रम स्वीकृति रोकिएपछि भिसा पाएका करिब ५० हजार युवा पनि अन्योलमा परेका छन्। त्यस्तै, भिसा पाएका कतिपय युवा गन्तव्य मुलुकको कालोसूचीमा पर्ने खतरा पनि रहेको व्यवसायी बताउँछन्। कोरोनाका कारण वैदेशिक रोजगारी समस्यामा पर्नुअघि सबै गन्तव्य मुलुकले भिसा प्राप्त गरेको तीन महिनाभित्र रोजगारीमा नगए कालोसूचीमा राख्ने गर्थे। विभागका महानिर्देशक दाहालले अहिलेको परिस्थिति विगतकाभन्दा फरक भएकाले गन्तव्य मुलुकहरूले युवाको समस्या बुझ्न सक्ने बताए। ‘अहिलेको चुनौती नागरिकको स्वास्थ्यलाई जोखिमबाट कसरी बचाउने भन्ने हो,’ उनले भने।

महानिर्देशक दाहालले अहिलेसम्म वैदेशिक रोजगारीमा रहेका कुनै पनि युवा कोरोनाको संक्रमणमा परेको जानकारी प्राप्त नभएको बताए। ‘अनेक हल्ला चलाइए पनि आधिकारिक रूपमा वैदेशिक रोजगारीमा रहेका कुनै पनि युवा कोरोना संक्रमणमा परेको जानकारी छैन,’ उनले भने, ‘तर सचेत हुन भने जरूरी छ।’ विभागका अनुसार हालसम्म श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा करिब ४६ लाख गएका छन्। तीमध्ये करिब २५ लाख अझै गन्तव्य मुलुकमा रहेको अनुमान छ। शुक्रबारदेखि सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई समेत नेपाल प्रवेशमा रोक लगाएको छ। नेपालीले काम गर्ने मुलुकमा कोरोना भाइरस फैलिएकाले रोगको संक्रमण नेपालसम्म नपुगोस् भनेर प्रवेशमा रोक लगाइएको हो।

वैदेशिक रोजगारीमा रहेका युवाको आगमनमा रोक लगाउँदा कतिपयले भिसा अवधि सकिएको भन्दै गुनासो गर्न थालेका छन्। विभागका महानिर्देशक दाहालले गन्तव्य मुलुकमा रहेका युवालाई आफू बसिरहेको स्थानमा रहन आग्रह गरेका छन्। ‘अहिलेसम्म कुनै पनि गन्तव्य मुलुकले नेपाली कामदारलाई अप्ठेरो पर्ने काम गरिरहेका छैनन्,’ उनले भने।

प्रकाशित: ९ चैत्र २०७६ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App