काठमाडाैँ - गएको एक हप्तामा बजारमा फैलिएको खाद्यान्न अभाव हल्लाले उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री दोब्बर बढेको छ। दैनिक औसत ४० देखि ५० क्विन्टल चामल खुद्रा बिक्री हुने उपत्यकामा अहिले सवा सय क्विन्टल हाराहारी बिक्री भइरहेको खाद्यका बिक्री विभाग प्रमुख लालमोहन ठाकुरले जानकारी दिए। खाद्यको तथ्यांक अनुसार पछिल्लो पाँच दिनको बिक्री पाँच सय २८ क्विन्टल छ। ‘सामान्य समयमा चार दिनमा बढीमा दुई सय क्विन्टल बिक्री हुन्थ्योे। बजारमा एकाएक अभावको हल्ला फैलिएपछि तुलनात्मक रुपमा बिक्री बढेको छ,’ ठाकुरले भने, ‘माग बढेको भए पनि मौज्दात पर्याप्त भएकोले अभावको स्थिति छैन।’ उनले डिलर र सहकारीमार्फत पनि बिक्री बढेको बताए।
ठाकुरले बजारमा अभावको स्थिति नभएको सूचना विभिन्न माध्यमबाट आएकोले केही माग घट्ने अनुमान गरिए पनि भक्तपुरको सूर्यविनायकमा नयाँ बिक्री स्टल खोल्ने तयारी गरेको बताए। खाद्यले उपत्यकामा मात्रै एक लाख २० हजार क्विन्टल बिक्री गर्ने लक्ष्य राखेकोले गाह्रो नपर्ने उनले बताए। उनले भने, ‘यसै पनि अभाव हल्ला मात्रै हो। भइहाले पनि सबैतिर गरी २६ हजार क्विन्टलभन्दा बढी मौज्दात चामल छ।’ यो समयमा चामलसँगै इन्डक्सन चुलोको समेत बिक्री बढेको छ। साबिकमा दैनिक ३–४ वटा चुलो बिक्री हुने गरेकोमा पछिल्ला चार दिनमा औसत १५ वटा चुलो बिक्री भइरहेको। ठाकुरले भने, ‘बुधबारमात्रै २८ वटा चुलो बिक्री भयो। ग्यासको अभाव हुने हल्लाले होला।’
उपत्यकामा माग बढी देखिए पनि उपत्यकाबाहिरका डिपोको बिक्री सामान्य रहेको पाइएको छ। खाद्यको सुर्खेत कार्यालयका प्रमुख भिम थापाले मातहतका जिल्लामा अहिलेसम्म साबिककै परिमाणमा बिक्री भइरहेको बताए। ‘सुर्खेतमा दैनिक ७५ हजारदेखि एक लाख रुपैयाँसम्मको बिक्री हुँदै आएको छ,’ उनले भने, ‘बजारमा निजी क्षेत्रको पनि पर्याप्त प्रतिस्पर्धा हुने हुनाले खाद्यको बिक्रीमा असर कम देखिएको हुन सक्छ।’ बजारमा खाद्यान्नको माग बढे पनि कम्पनीको घुम्ती बिक्री भने रोकिएको छ। खाद्यले कोरोना भाइरसको जोखिमको कारण अघोषत रुपमा घुम्ती बिक्री रोकेको हो। बिक्री प्रमुख ठाकुर भने घुम्ती बिक्री नरोकिएको दाबी गर्छन्। उनले भने, ‘घुम्ती बिक्रीमा जाने कर्मचारीको स्वास्थ्य समस्याको कारण रोकिएको हो, वैकल्पिक व्यवस्था गरेर बिक्री सञ्चालन गर्छौं।’
साल्ट ट्रेडिङ लिमिटेडका प्रवक्ता कुमार राजभण्डारी बजारमा अभाव हुने हल्ला फैलिएपछि केही दिनअघि बिक्री बढेको तर अहिले घट्दै गएको बताउँछन्। ‘हल्ला फैलिन सुरु गरेको केही दिन हाम्रोमा पनि नियन्त्रण गर्नै हम्मेहम्मे पर्ने गरी लाइन थियो,’ उनले भने, ‘अहिले स्थिति साबिककै अवस्थामै फर्किएको छ।’ राजभण्डारीले साल्ट ट्रेडिङले बिक्री गर्ने अधिकांश सामान पर्याप्त रहेकोले उपभोक्तालाई ढुक्क रहन आग्रह गरे। ‘बुधवार मात्रै सबै सरोकारवाला निकायबीचको छलफलमा खाद्यान्न लगायत सामग्री पर्याप्त रहेको निष्कर्ष निस्किएको छ,’ उनले भने, ‘साल्ट ट्रेडिङसँग १० महिनालाई पुग्ने नुन र १० हजार टन चिनी छ।’ उनले उपभोक्तामा ग्यासको अभाव हुने त्रास बढी देखिएको बताए। उनले भने, ‘सरकारले अभाव हुन नदिन केही वस्तुमा लगाइएको आयात कोटासमेत खोल्ने तयारी गरेको छ, अहिले नै आत्तिनु आवश्यक छैन।’
उनले उपभेक्ताले चाहिनेभन्दा बढी मौज्दात राख्दा बजारमा नकारात्मक असर पुग्ने बताए। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी बजारमा अत्यावश्यक वस्तु पर्याप्त मात्रामा रहेको बताउँछन्। ‘केही कम्पनीका ग्राहक बढी भएको र एक्कासि माग बढ्दा त्यसलाई नियमित बनाउन थप १–२ दिन लाग्न सक्छ, बाँकी सबैको खाद्यान्न वस्तु पर्याप्त छ,’ उनले भने, ‘निजी क्षेत्र मात्र नभएर सरकारी कम्पनीमा समेत खाद्यान्न आवश्यक मात्रामा छ भनेर उपभोक्तालाई आश्वस्त पारेका छौं।’ सुवेदीले पछिल्लो हप्ता बजारमा मास्क र स्यानिटाइजर अभावको बहानामा कालोबजारी गर्ने धेरै औषधी बिक्रेतालाई जरिवाना गरेको बताए। विभागको तथ्यांक अनुसार पछिल्लो हप्ता अढाइ दर्जन फार्मेसीमा अनुगमन गरी २८ लाख रूपैयाँ बराबर जरिवाना गरिएको छ।
प्रकाशित: २ चैत्र २०७६ ०४:४० आइतबार